पर्यटनका लागि सम्पदा संरक्षणमा जोड

काठमाडौं, १३ असार । पर्यटनको दिगो विकासका लागि धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाद्वारा मंगलबार राजधानीमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन विषयक’ अन्तरक्रियाका वक्ताले नेपाल आउने पर्यटकका लागि यहाँका सम्पदा महत्त्वपूर्ण हुने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा संस्कृतिविद् डा. साफल्य अमात्यले व्यापारीकरणको अनियन्त्रित मनोवृत्ति र अपर्याप्त बजेटका कारण सम्पदा संरक्षणमा समस्या रहेको औँल्याए । युनेस्कोले सन् १९८० को दशकमा पाटन दरबारका सुन्दरी चोक र मूल चोकको डकुमेन्टेसनमा ८७ लाख डलर खर्च गरेको स्मरण गर्दै उनले हाल विदेशी लगानीमा काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट नामक संस्थाले स्मारकको जीर्णोद्धार र संरक्षण गर्ने काम गरिहरहेको जानकारी दिए ।
स्मारकहरू पर्यटकलाई देखाउने मात्र नभई जनताको प्रयोगका लागि पनि भएकाले यिनको संरक्षणमा स्थानीय नै जागरुक हुनुपर्ने उनको भनाइ थियो । उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामा पर्यटक प्रवेश शुल्कबाट बर्सेनि करोडाँै रुपियाँ संंकलन हुने भन्दै उनले यो रकम सम्पदा संरक्षणमा लगाउनुपर्ने बताए ।
पूर्वपर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले सम्पदा संरक्षणका लागि जनचेतना महत्त्वपूर्ण हुने बताए । ‘सरकारको मुख ताकेर मात्र हुँदैन, स्थानीय आफैं पनि जागरुक हुनुपर्छ,’ उनले भने । पछिल्ला दिनमा कर्पोरेट हाउसले पनि सम्पदा संरक्षणमा चासो देखाउन थालेको भन्दै उनले संस्कृति जोगाउन जिम्मेवार पर्यटनको आवश्यकतामा जोड दिए । पर्यटनसँग नजोड्ने हो भने संस्कृति विस्तारै हराएर जाने उनको भनाइ थियो ।
नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीले विदेशी पर्यटकको मुख्य आकर्षण यहाँका सम्पदा भएकोले यिनको संरक्षणविना पर्यटन व्यवसाय हुन नसक्ने बताए । उपत्यकाको २० किलोमिटरभित्र सातवटा युनेस्कोमा सूचीकृत सम्पदा रहेको जानकारी दिंदै उनले पर्यटन व्यवसायीले आफ्नो कमाइको केही भाग सम्पदा संरक्षणमा लगाउन सुझाव दिए ।
काठमाडौं महानगरपालिका सम्पदा संरक्षण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सम्पदा संरक्षणमा कामनपाले काम गरिरहेको तर सीमित स्रोतसाधनका कारण यो प्रभावकारी हुन नसकिरहेको बताए ।
भक्तपुर उपमहानगरपालिकाका प्रमुख राममणि भट्टराईले पर्यटक सेवा शुल्कबाट वार्षिक करिब १५ करोड रुपियाँ संकलन भइरहेको जानकारी दिंदै यसमध्ये अधिकांश रकम विभिन्न सम्पदा संरक्षणमा खर्च भइरहेको बताए । कार्यक्रममा संयोजक श्याममदन केसीले पर्यटन क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार्दे यो क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया