काठको विकल्पमा सिमेन्टका झ्याल–ढोका

बर्दघाट (नवलपरासी), १३ असार । घर निर्माणका लागि काठ महंगो हुँदै गएपछि त्यसको विकल्पमा सिमेन्टद्वारा बनेका चौकोसको प्रयोग विस्तारै बढ्दै गएको छ । वन–जंगल रित्तिदै गएर काठ महंगो हुन थालेपछि काठको विकल्पको रूपमा सिमेन्टबाट निर्माण गरिएका चौकोस निर्माण हुन थालेको हो । नवलपरासीका उद्यमीले विस्तारै काठको विकल्पस्वरूप सिमेन्टका झ्याल, ढोका र चौकोस निर्माण गरी बिक्रीवितरण गर्न थालेका हुन् । नवलपरासी बर्दघाटस्थित दाउन्नेदेवी टायल उद्योगले विगत एक वर्षदेखि सिमेन्टको चौकोस बनाएर बिक्री सुरु गरेका हुन् । ‘हालसम्म एक सय ५० वटा चौकोसको सेट बिक्री गरिसकें,’ दाउन्नेदेवी टायल उद्योगका सञ्चालक टिकाराम भण्डारीले बताए ।

सिमेन्टबाट निर्मित चौकोस काठबाट निर्माण गरिएको चौकोसभन्दा आधा सस्तो पर्ने गरेको उद्योगीको दाबी छ । राजधानीको भृकुटीमण्डपमा मेला हुँदा स्टल राखेरसमेत यस्ता चौकोसको प्रचार गरिएको सञ्चालक भण्डारीले बताए । सिमेन्टका चौकोस रनिङ फुटको एक सय ५० रुपियाँ पर्ने गरेको छ । एउटा झ्यालका लागि करिब पाँच हजार खर्च हुन्छ भने त्यही साइजको काठको झ्याल बनाउँदा भने करिब १० हजार रुपियाँ पर्ने उनले दाबी गरे । सिमेन्टबाट निर्मित चौकोसको माग एकदमै बढी रहेको बताउँदै उनले माग आएजति पुर्‍याउन पनि नसकेको बताए । सिमेन्टबाट निर्मित यस्ता झ्याल, ढोका र चौकोसलाई आरसिसीका नामले परिचित यस्ता झ्याल र ढोकाको माग बिस्तारै बढ्न थालेको सम्बन्धित उद्योगी बताउँछन् । धेरै वर्षदेखि ब्लक उद्योग सञ्चालन गरिरहेको भए पनि युरोपियन युनियनको वित्तीय सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघको अगुवाइमा सञ्चालन भइरहेको दिगो निर्माणको अभ्यास परियोजना (एससिपी) मार्फत प्राविधिक ज्ञान हासिल गरेपछि यस्तो चौकोस निर्माणतर्फ आकर्षित भएको उद्योगी भण्डारीले बताए । खोलामा उपलब्ध हुने बालवा र ससाना ढुंगा तथा सिमेन्ट र रडको प्रयोगबाट सिमेन्टको चौकोस निर्माण गरिने हुँदा यो तुलनात्मक रूपमा काठे चौकोसभन्दा बलियो हुन्छ । चौकोसमा क्रसर गरिएको रोडा प्रयोग नगरी प्राकृतिक रूपमा उपलब्ध ससाना ढुंगाको प्रयोग गरिने हुँदा भारबहन क्षमतासमेत बढी हुने परियोजनाका चितवन प्रमुख चुडामणि भट्टराईले बताए ।परियोजनाबाट तालिम प्राप्त उद्यमीमध्ये सबैभन्दा बढी आरसिसी झ्यालको फ्रेम उद्यमी भण्डारीले बेचिसकेका छन् । उद्यमी भण्डारीले परियोजनाअन्तर्गत नै भारतको तमिलनाडुमा गएर आरसिसीको झ्याल ढोका बनाउने विधि एवं त्यसको प्रयोगसम्बन्धी अवलोकन गरेको बताउँदै यसबाट थप ज्ञान हासिल गरेर डबल पल्लामा निकाल्न सुरु गरेको बताए । डबल पल्लामा चौकोस निर्माण गर्दा झ्यालको ढोका फिट गर्नुको साथै तराईमा एकदम लामखुट्टे बढी आउने हुँदा जाली भएको झ्यालसमेत फिट गर्न मिल्ने गरी निर्माण गर्न सुर कसेको उनले बताए । प्रारम्भिक चरणमा रहेको हुँदा चौकोसको डिजाइनमा थप परिमार्जन गर्नसके काठको चौकोसलाई विस्थापित गर्न सक्ने उनको दाबी छ ।
कावासोती नवलपरासीका अर्का उद्योगी शिव गिरी पनि आरसिसीका झ्याल–ढोकाको माग बढ्दै गएको बताउँछन् । लुम्बिनी ब्लक उद्योगका सञ्चालक गिरीले पनि सोही परियोजनामार्फत प्राविधिक ज्ञान हासिल गरेर एक वर्ष अघिदेखि सिमेन्टका झ्याल–ढोका बनाउने काम गर्दै आएका छन् ।

प्रतिक्रिया