सिडिओका अगाडि सवाचालक फेल

दाङ, १३ असार । यातायात व्यवस्था कार्यालय राप्ती दाङबाट भनसुनका भरमा सवारीचालक अनुमतिपत्र लिने दिन गएको छ । अब महिनामा एकपटक मात्र सवारीचालक अनुमतिपत्र लिनका लागि महिनामा एकपटक मात्र ट्रायल हुने भएको छ त्यो पनि दाङका सिडिओको उपस्थितिमा ।

एक महिनाअघि सरुवा भएर दाङ आएका सिडिओ मधुसूदन बुर्लाकोटीले सवारीचालक अनुमतिपत्रको परीक्षामा आफै उपस्थित हुने बताएपछि भनसुनका भरमा अनुमतिपत्र पाउने दिन गएको हो । मंगलबार अनुमतिपत्रको ट्रायल दिन आउनेमध्ये जम्माजम्मी नौ प्रतिशत मात्र पास भएका थिए ।
मंगलबार भएको प्रयोगात्मक परीक्षामा सिडिओ बुर्लाकोटी आफै उपस्थित भएका थिए । यसअघि हुने परीक्षामा सहभागीमध्ये ९५ प्रतिशत पास हुने गरेकामा यसपटक नौ प्रतिशतले मात्र सवारीचालक अनुमतिपत्रको परीक्षा पास गरेका छन् ।
‘ट्रायल पास नभएकाहरूले पनि अनुमति पाएको, पैसा तिरेर अनुमतिपत्र निकालेको, अनुमतिपत्र बाँड्दा भेदभाव गरेको गुनासो आएपछि कडाइ गरेको हुँ,’ सिडिओ बुर्लाकोटीले भने, ‘अनियमितता हुने सुनेर आफै हेर्न गएको हुँ, कसैलाई पूर्वाग्रह राखेर फेल गराइएको छैन । चलाउन नै नजान्नेलाई चालक अनुमतिपत्र दिनु पनि भएन ।’
यातायात कर्मचारीको कमाइखाने भाँडो भइरहेको सवारीचालक अनुमतिपत्र वितरण व्यवस्थित गर्न पनि सिडिओ बुर्लाकोटीले निर्देशन दिएका छन् । अब हुने प्रत्येक परीक्षामा आफै उपस्थित हुने पनि उनले बताए ।
सिडिओ बुर्लाकोटीको निर्देशनमा दाङमा महिनामा एकपटक सवारीचालक अनुमतिपत्रको परीक्षा हुने भएको छ । लामो समयको अन्तरालमा सवारीचालक अनुमतिपत्रको परीक्षा खुल्दा सेवाग्राहीलाई समस्या परेको थियो ।
सिडिओ बुर्लाकोटीले सवारीचालक अनुमतिपत्र वितरणका क्रममा कोही कसैले अनियमितता गरेको पाइए प्रशासनमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘पैसा लिएर अनुमतिपत्र लिन खोज्नेलाई पनि कारबाही गरिनेछ,’ उनले भने ।
यातायात व्यवस्था कार्यालय राप्तीले सिडिओको निर्देशनअनुरूप जिल्लामा अब प्रत्येक महिना एकपटक सवारीचालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ । प्रत्येक महिनाको २५ गते लाइसेन्सको फाराम खोलिने र ५ गतेसम्म परीक्षा लिइसक्ने तयारी गरिएको कार्यालयले बताएको छ ।

प्रतिक्रिया