१८ सैनिकविरुद्धको उजुरीमा सुनुवाइ भएन

सुर्खेत, १३ असार । ‘प्रहरीले उजुरी थन्क्याएर राख्यो,’ साटाखानी–५ की देवीसरा पौडेलले भनिन्, ‘पतिको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका १८ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको जाहेरी एक वर्ष बित्यो तर केही जवाफ पाइनू ।’

जाहेरी दर्ता गरेको एक वर्ष बित्दा पनि दोषीलाई कारबाही नगरेको भन्दै पौडेल पुन: मंगलबार जिल्ला प्रहरी कार्यालय आइपुगेकी थिइन् । घटनाबारे एसपी गोविन्दराम परियारसूग सोध्दा उनले अनभिज्ञता व्यक्त गरेपछि पौडेलले सञ्चारकर्मी गुहारेकी हुन् । उनले २९ जेठ ०६८ मा उजुरी दर्ता गरिएको बताइन् ।
२५ मंसिर ०६६ मा पहिलोपटक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिन गएकी पौडेललाई प्रहरीले प्रक्रिया बुझ्नुपर्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसको करिब डेढ वर्षपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको थियो । पौडेलका पति भुवानीप्रसादको २ जेठ ०५९ मा माओवादीको आशंकामा सेनाले हत्या गरेको थियो । वनमा भैूसी चराउन गएका समय सेनाले दुई घन्टा यातना दिएर जंगलमा लगेर हत्या गरेको पौडेलले बताइन् ।
उनले तत्कालीन शाही नेपाली सेनाको मध्यपश्चिम आर्टिलरी गणमा कार्यरत क्याप्टेन शरद लामिछाने, रामबहादुर महतलगायत १८ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन् । उनले दर्ता नं. १९१ रहेको जाहेरीमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारबाही माग गरेकी छिन् ।
सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि पौडेल ९ चैत ०६६ मा निवेदन लिएर आदेशका लागि जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । तर, प्रशासनले लिखित आदेश गर्न नसक्ने भन्दै फर्काएको थियो ।
यस्तै १९ जेठ ०६७ मा उनी पुनरावेदन अदालत सुर्खेतमा अनुसन्धान कार्य अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको नाममा परमादेशको आदेश जारी गरी पाऊू भनी रिट निवेदन दर्ता गराएकी थिइन् । पुनरावेदन अदालतले २२ असार ०६७ मा पौडेलले जाहेरी दरखास्त दर्ता गर्न ल्याएकामा दर्ता गरी अपराध अनुसन्धान कार्य अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको नाममा परमादेश आदेश जारी गरेको थियो । त्यसैका आधारमा २ जेठमा पौडेलको जाहेरी प्रहरीले दर्ता गरेको हो ।
जाहेरी दर्ता गर्दा प्रहरीले तत्काल घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म दोषीको पहिचानसमेत नभएको पौडेलले बताइन् । उनलाई एड्भोकेसी फोरम सुर्खेतले कानुनी सहायता गरेको थियो ।
फोरमका संयोजक अधिवक्ता कृष्ण हमालले प्रहरीले सुरुमा जाहेरी नै दर्ता नगर्नु र अहिले दर्ता गरेको एक वर्ष बितिसक्दा पनि अनुसन्धान नै नगर्नुले पीडितलाई झन् पीडा भएको बताए । पतिको हत्या भएको १० वर्ष बितिसक्दा पनि न्याय पाउन नसकेकोमा पौडेलले गुनासो गरिन् ।

प्रतिक्रिया