इंग्ल्यान्डलाई पन्छाउँदै इटाली सेमिफाइनलमा

वार्सा, १२ असार । इंग्ल्यान्ड फेरि एकपटक टाइब्रेकरमा चुकेपछि विपक्षी टोली इटाली युरोकप २०१२ को सेमिफाइनलमा प्रवेश गरेको छ । योसमेत इंग्ल्यान्ड पछिल्ला १० नकआउट प्रतियोगितामा ६ पटक टाइब्रेकरमा नै पराजित भएर बाहिरिएको छ । आइतबार राति भएको क्वार्टरफाइनलमा निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरका आधारमा भएको थियो । टाइब्रेकरको सुरुवातमा भने इंग्ल्यान्डले अग्रता लिएको थियो तर परिणामको हकमा भने अन्तत: इंग्ल्यान्डलाई इटालीले ४–२ ले पराजित गर्‍यो ।
रमाइलो के छ भने इटाली पनि सन् १९९० विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध, सन् १९९४ को विश्वकप फाइनलमा ब्राजिलविरुद्ध, १९९८ को विश्वकप क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध र सन् २००८ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध टाइब्रेकरमा हारेको थियो । तर, यसपटक भने इंग्ल्यान्डविरुद्ध इटालीलाई भाग्योदय चिट्ठा परेजत्तिकै भयो ।
यो पराजयसँगै सुरुको अग्रताका बाबजुद केही नर्भसनेस, दुभागर््य र विपक्षको सन्तुलित सोचका कारण विश्व फुटबलकै एक ग्ल्यामरस टोली इंग्ल्यान्ड ठूलो उपाधिका लागि फेरी केही वर्ष पर्खन बाध्य भएको छ । त्यसो त इंग्ल्यान्ड र टाइब्रेकरको सम्बन्ध उतिसारो सकारात्मक हुन सकेको देखिंँदैन । सन् १९९० को विश्वकप सेमिफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्यान्ड १९९८ को विश्वकपको दोस्रो चरणमा अर्जेन्टिनासँग पनि टाइब्रेकरमै पराजित भएको थियो । यसैगरी, २००६ को विश्वकपमा पोर्चुगलले इंग्ल्यान्डलाई टाइब्रेकरमा नै पराजित गरेको थियो । इंग्ल्यान्ड १९९६ को युरोकप सेमिफाइनल र २००४ को युरोकपको क्वार्टरफाइनलमा पनि टाइब्रेकरमा पराजित भएको थियो ।
इटालीका तर्फबाट पहिलो पेनाल्टी प्रहार मारियो ब्यालोटेलीले गरेका थिए । कप्तान स्टिफन जेरार्डले इंग्ल्यान्डका लागि गोल गरे । त्यसपछि मोन्टेलिभोको प्रहार बाहिरिएको थियो भने वेयन रुनीको गोलले इंग्ल्यान्डलाई अग्रता दिलाएको थियो । त्यसलगत्तै भेट्रान मिडफिल्डर आन्द्रेइ पिर्लोले गोल गरे भने एस्ली योंगको प्रहार क्रसबारमा लागेको थियो । इटालीको चौथो प्रहारमा नासेरिनोले गोल गरे भने एस्ली कोलको प्रहार देब्रेतिर डाइभ हान्दै इटालियन गोलकिपर बुफोंले रोकेका थिए । अलेसान्द्रो डायामेन्टीले गोल गरेपछि इटालीको जित निश्चित भएको थियो ।
त्यसो त खेल अवधिभर पनि इंग्ल्यान्ड प्रभावकारी देखिएको थिएन । यस सत्रको च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग चेल्सीले रक्षात्मक खेल खेलेर पेनाल्टी सुटआउटसम्म पुर्‍याएझंै देखिने खेलमा इंग्ल्यान्डका रक्षकले पूरा एक सय २० मिनेट धैर्य कायम गरेका थिए । इटालीका तर्फबाट दोस्रो प्रहार गरेका रिकार्डो मोन्टेलिभोको प्रहार खेर गएपछि इंग्ल्यान्डले यसबापत पुरस्कार पाउन सक्ने सम्भावना प्रबल भएको थियो । तर, त्यसपछिका तीनवटै प्रहारमा इटाली राम्रो रह्यो ।
दुई महिनाअघि मात्र इंग्ल्यान्डका प्रशिक्षक बनेका रे हड्सनका लागि विश्वकप छनोटका लागि यो प्रतियोगितालाई बिर्सिएर नयाँ टिम तयार गर्नुपर्ने जिम्मेवारी थपिएको छ । पेनाल्टीमा लगातार दुई दशकभन्दा बढी चुक्ने गरेको इंग्ल्यान्डबारे विभिन्न प्रतिक्रिया व्यक्त हुन थालेका छन् । कसैले प्रश्न गर्ने गरेका छन्– ‘इंग्ल्यान्ड किन पेनाल्टीमा कमजोर ?’ कसैले यसलाई मानसिक कमजोरीको संज्ञा दिन्छन् भने कसैले ‘कमजोर टेक्निक’को । कसैले सञ्चार क्षेत्र र आम व्यक्तिको बढी चर्चाले उत्पन्न गर्ने गरेको दबाबको परिणाम भएको प्रतिक्रिया दिन्छन् ।
धेरैजसो पेनाल्टी सुटआउटमा चुक्ने गरेको इटालीका हकमा यो जित स्वादिलो पनि रह्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको जर्मनीसँग सबैभन्दा राम्रो प्रतिस्पर्धा गर्न सक्ने टोलीका रूपमा पनि इटालीलाई हेरिएको थियो । यसकारण इटालीको जितले बिहीबार हुने सेमिफाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । इटालीको रक्षापंक्तिमा विगतझँै उत्कृष्टता नभए पनि गोलरक्षक गियानलुइगी बुफोंका कारण यो टोली उत्साहित छ । इटालीसँगै सेमिफाइनल खेल्ने जर्मनी भने १९७६ को युरोकपको फाइनलपछि पेनाल्टी सुटआउटमा हारेको छैन ।

प्रतिक्रिया