मल आपूर्ति गर्न सरकार असफल

काठमाडौं, ११ असार । मल आपूर्ति गर्न सरकार असफल रहेका कारण मुलुकभर मल अभाव चर्केको छ । १५ असारलाई धान दिवसका रूपमा मनाइने गरे पनि अझसम्म राज्यले मल आपूर्ति गर्न सकेको छैन । कृषि तथा सहकारी मन्त्रालयले १० असार बितिसक्दा पनि मल आपूर्तिमा चासो नदेखाएका कारण किसान थप अन्योलमा परेका छन् ।

काभ्रेका किसान चक्रकाजी श्रेष्ठले कृषि तथा सहकारी मन्त्रालय निकम्मा सावित भएको आरोप लगाए । ‘असार दोस्रो सातामा पनि सरकारले मल आपूर्तिमा सक्रियता नदेखाउनु किसानप्रति उदासीन रहनु हो,’ उनले भने । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग डिएपी र पोटास मल मौज्दात नभएको कम्पनीका निमित्त निर्देशक शशिराज तुलाधरले बताए । उनले युरिया भने दुई हजार मेट्रिक टन रहेको जानकारी दिए । असारमा मात्र एक लाख मेट्रिक टन मल चाहिन्छ । तर, हालसम्म दुई हजार मात्र आएको छ, ।
निमित्त निर्देशक तुलाधरले आगामी बिहीबारसम्म १२ हजार ५ सय मेट्रिक टन मल आपूर्ति भइसक्ने र सो मल बिक्री–वितरण दामासाहीले गर्ने बताए । किसानलाई सहज हुन सरकारले तुरुन्त कम्पनीलाई अनुदान दिनुपर्ने अन्यथा समस्या चुलिँदै जाने उनको भनाइ छ ।
सरकारले मल अनुदानमा दुई अर्ब ८३ करोड विनियोजन गरेको थियो । सो अनुदानले छेउटुप्पै नपुग्ने पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा बताउँछन् । सरकारले रासायनिक मलमा पहिलोपटक गत सालदेखि अनुदानको व्यवस्था गरेको थियो । सो अनुदानले करिब २५ प्रतिशत किसान लाभान्वित भए पनि ७५ प्रतिशत किसानलाई अझै राहत पुगेको छैन ।
नेपालमा कुल तीन लाख मेट्रिक टन रासायनिक मल खपत हुने गर्छ । सो मल खरिद गर्न करिब सात अर्ब रुपियाँ आवश्यक पर्छ । तर, सरकारले भने जम्मा दुई अर्ब ८३ करोड मात्र उपलब्ध गराएकाले मल आपूर्तिमा कठिनाइ भएको सहज अनुमान गर्न सकिने पूर्व कृषिमन्त्री विश्वकर्मा बताउँछन् ।
कृषि पेसालाई व्यावसायिक र आत्मनिर्भर बनाउन तथा नेपाली युवालाई कृषिमा अग्रसर गर्न सरकारले कृषिमा दिँदै आएको अनुदानलाई यस वर्ष पनि निरन्तरता दिँदै थप वृद्धि गर्नेतर्फ अर्थ मन्त्रालय सकारात्मक रहेको अर्थसचिव कृष्णहरि बास्कोटाले बताए ।

प्रतिक्रिया