इस्लामावाद, ११ असार । राजनीतिक अस्थिरताको सामना गरिरहेको दक्षिण एसियाली मुलुक पाकिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ । शनिबारदेखि कार्यभार सम्हालेका प्रधानमन्त्री रजा परवेज अस्रफका सामु चुनौती भने पुरानै रहेको बताइन्छ ।
यसबारे चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ, ‘लामो राजनीतिक अस्थिरताका बीच पाकिस्तानले नयाँ प्रधानमन्त्री त पाएको छ तर उनी पनि समस्याबाट मुक्त भने छैनन् ।’ सिन्ह्वाका अनुसार उनीसामु भ्रष्टाचारबाट देशलाई कसरी मुक्त गर्ने तथा विगतमा राष्ट्रपति आसिफ अली जर्दारीविरुद्ध लागेको मुद्दा पुन: ब्युँताउन अदालतको आदेशलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती तेर्सिएको छ ।
भ्रष्टाचार नियन्त्रण, ऊर्जा संकट समाधान, स्वतन्त्र न्यायपालिका र नागरिक सरकारका बीचको समन्वय, समय–समयमा बिग्रिरहने संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध सञ्चालन आदि नयाँ प्रधानमन्त्रीका
अन्य चुनौती रहेको सिन्ह्वाले जनाएको छ । लामो समयदेखि सरकारका कामकारबाहीलाई
प्रभाव पर्दै आएका प्रतिपक्षी दलहरूसँगको सम्बन्ध विस्तार पनि उनको प्रमुख चुनौती रहेको सिन्ह्वाको समाचार विश्लेषणमा
जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया