६ सहकारीको दर्ता खारेज

धादिङ, १० असार । चालु आर्थिक वर्षमा धादिङमा ६ सहकारी संस्थाको दर्ता खारेज भएको छ । विगत २ वर्षदेखि वार्षिक साधारणसभा नगरेको, वार्षिक लेखा परीक्षण नगरेको, सञचालक समितिको बैठक नबसेको, कार्यालयसमेत नभेटिएको, मासिक विवरण नबुझाएकाले दर्ता खारेजी गरिएको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।

सहकारी ऐन २०४८ को दफा ३४ मा कुनै पनि सहकारी संघसंस्थाले लगातार दुई वर्षसम्म साधारणसभा र कारोबार नगरी निष्क्रिय रहे दर्ता खारेज हुने व्यवस्था छ । सम्पर्कमा आउन दिएको समयमा पनि संस्था सम्र्ककमा नआएपछि खारेजी गरेको डिभिजन सहकारी कार्यालय धादिङका सहकारी अधिकृत रुद्रप्रसाद पौडेलले जानकारी दिए । ‘चालु आवमा करिब ३२ सहकारी दर्ता खारेज सूचना निकालेका थियौँ,’ पौडेलले भने, ‘अन्य सहकारी सम्पर्कमा आएको र ६ वटा नआएका कारण खारेज गरेका हौँ ।’ गत वर्ष विभिन्न प्रकृतिका ८ सहकारी खारेजीमा परेका थिए ।
खारेजीमा परेका संस्थामा पीडा–१ स्थित इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था, नौबिसे–१ स्थित रुद्रायणी बचत तथा ऋण सहकारी संस्था, छत्रेदेउराली–२ स्थित छत्रे दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । त्यस्तै, थाक्रे–८ स्थित समग्र ग्रामीण विकास कृषि बहुउद्देश्यीय सहकारी संस्था, पीडा–३ स्थित सफल कृषि बहुउद्देश्यीय सहकारी संस्था र जोगिमारा–९ स्थित जोगिमारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको दर्ता खारेज भएको पौडेलले सौर्यलाई बताए ।
सूचना म्याद सकिने एक साता बाँकी रहँदा अन्य सहकारी भने सम्पर्कमा आएको पौडेलले जानकारी दिए । ‘खारेज भएका संस्था सम्भत: सञ्चालनमा छैनन्,’ पौडेलले भने, ‘यदि सदस्य तथा सञ्चालक कार्यालयमा आए लिक्विडेसनमा जानुको विकल्प छैन ।’ जिल्लाको ५० वटै गाविसमा सहकारी स्थापना भइसकेको कार्यालयले जनाएको छ । गरिब, पिछडा वर्ग, महिला, दलित, जनजाति र दुर्गम क्षेत्र आदिको न्यूनीकरणमा सहकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थालेको कार्यालयले जनाएको छ । सहकारीलाई उत्पादन वृद्धि, गरिबी तथा असमानता न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जनामा सहकारीको भूमिका ठूलो रहेको पौडेलले जानकारी दिए ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा २६ वटा कृषि सहकारी, ५ बचत तथा ऋण सहकारी, २ लघुजलविद्युत् सहकारी र एक सञ्चार सहकारी दर्ता भएको कार्यालयले जनाएको छ । दर्ता भएका सहकारीमध्ये करिब १ सय ५० वटा कृषि सहकारी र साना किसान सहकारी रहेको कार्यालयले जनाएको छ । त्यस्तै, तरकारी तथा फलफूल, दुग्ध उत्पादक, मौरीपालक सहकारी संख्या पनि उलेख्य रूपमा रहेको छ ।
बचत तथा ऋण सहकारीको संख्या भने करिब ९० वटा मात्र छ । जिल्लामा पाँचवटा विषयगत जिल्ला संघ, तीन सय ३४ वटा प्रारम्भिक सहकारी संस्था दर्ता भएका छन् । सो सहकारीमा ४४ हजार चार सय ९१ जना महिला र ३२ हजार आठ सय ६५ पुरुष गरी कुल ७७ हजार पाँच सय आठ जना सहकारीमा आबद्ध छन् ।

प्रतिक्रिया