सिरियाले टर्किस युद्धक विमान खसाल्यो

अंकारा : देशभित्र नरसंहार मच्चाएको भन्दै सिरियाली सरकारको सर्वत्र आलोचना भइरहेका बेला सिरियाली फौजले शुक्रबार टर्कीको युद्धक विमान खसालेको छ । टर्किस विमानले आफ्नो हवाई सीमा अतिक्रमण गरेपछि विमान खसालिएको सिरियाले जनाएको छ ।
सिरियाले विमान खसालेपछि दुई देशबीचको विवाद सतहमा आएको छ । यसअघि सिरिया र टर्कीको सम्बन्ध सुमधुर थियो । तर, सिरियाली राष्ट्रपति बासर अल असदविरुद्धको विद्रोह उत्कर्षमा पुगेपछि टर्कीले विद्रोहीको पक्ष लिँदै असदलाई सत्ता त्याग गर्न दबाब दिएको थियो । टर्कीले अमेरिका, युरोपेली महासंघ र अरब लिगसँग मिलेर दबाब दिएपछि टर्की र सिरियाबीचको सम्बन्धमा कटुता उत्पन्न भएको थियो ।
सिरियाली समाचार एजेन्सी सानाले सिरियाको आकाशबाट अपरिचित वायुयान खसालिएको जनाएको छ । ‘विमानभेदी पोतको सहयोगले विमान खसालिएपछि हेर्दा खसालिएको युद्धक विमान टर्कीको रहेको पत्ता लागेको हो,’ सानाले जनाएको छ ।
आफ्नो युद्धक विमान खसालिएको टर्कीले पुष्टि गरेको छ । घटनामा परी आफ्ना दुई विमान चालक बेपत्ता भएको टर्कीले जनाएको छ । जवाफमा ‘दृढतापूर्वक आवश्यक कदम चाल्ने’ चेतावनी टर्कीले दिएको छ ।
सिरियामाथि वैदेशिक सैन्य हस्तक्षेप हुने आशंका बढिरहेका बेला सिरियाली आकाशबाट टर्कीको युद्धक विमान खसालिनुलाई गम्भीरताका साथ लिइएको छ । बाह्य आक्रमणबाट सिरियालाई जोगाउन रुसले सिरियालाई क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने सार्वजनिक भएको साता नबित्दै सिरियामा टर्किस विमान खसालिएको हो ।
केही दिनअघि रुसले विदेशी विमान ध्वस्त गर्ने र पानीजाहज डुबाउने क्षमता सिरियालाई दिलाउन क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने जनाएको थियो । सिरियालाई पेन्टसिर–एस १ नामक रार्डरजडित क्षेप्यास्त्र, बुक–एम २ नामक विमानभेदी क्षेप्यास्त्र र जमिनमा राखी प्रहार गरिने बास्टियोन पानीजाहजभेदी क्षेप्यास्त्र दिने तयारी भएको सार्वजनिक भएको थियो ।
त्यसको एक सातापछि हतियारले भरिएका पानीजाहज सिरिया पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए । युद्धक विमान, सैन्य हेलिकोप्टर, क्षेप्यास्त्र, हजारौँ ट्यांक, बक्तरबन्द गाडी र आर्टिलरी प्रणाली पछिल्लोपटक सिरिया पुर्‍याइएको समाचारमा जनाइएको थियो । (एजेन्सी)

प्रतिक्रिया