बाजुरामा बाढीका कारण लाखौको क्षति

कैलाली, ९ असार । शुक्रबार राति आएको बाढीले बाजुराको कुल्देवमाण्डौ गाविसमा लाखौको क्षति पुराएको छ ।
रातभरिको अविरल वर्षासगै आएको बाढीले गाविसमा रहेका विद्यालय, बाटोघाटो, खेतबारी, खानेपानी लगाएतका संरचनामा क्षतिपुराएको स्थानीयले बताएका छन् । बाढीका कारण मानवीय क्षति भने नभएको स्थानीय नन्दलाल जैसीले बताएका छन् ।
बाढीले कुल्देवमाण्डौ–५, बानेगाउ‘का केरे खत्री र बुदे लवारको घर बगाएको छ । दुबै परिवार बिस्थापित भएका छन् ।
त्यस्तै भानोदय उमाविको छात्रवास भवन, खानेपानी बगाएको शिक्षक अशोक शर्माले जानकारी दिए । बाढीले टाटे स्वास्थ्य चौकीमा रहेको रेडक्रस सोसाइटीको भवन र खानेपानी पनि बगाएको छ । बाढीले ठाउँ–ठाउँमा बाटोघाटो भत्कीदा आवतजावतमा समस्या भएको छ ।
शुक्रबार रातिकै बाढीका कारण सोही गाविस वडा नम्वर ७ बोहरावाडाका रंगलाल जैसी, चन्द्रप्रकाश जोसी, खम्म बोहरा, रमानन्द जोसी, हेमराज जोसी, कुम्भराज जोसी लगाएतको ८० मुरी खेत बगाएको स्थानीय चन्द्रप्रकाश जोसीले बताएका छन् ।
बाढीले खानेपानीको पाइपलाइन समेत बगाउ‘दा गाउ‘मा खानेपानीको समस्या भएको छ । अधिकांश रोपाई गरिसकेका खेत र रोपाईका लागि बेर्नामा राखिएको बीउ समेत केही नरहने गरी बगाएपछि किसानहरुलाई पीडा भएको छ ।
वर्षाका कारण कुल्देवमाण्डौ–२, साउबाडामा राजेन्द्र खाती, गोरख खाती, रनबहादुर खाती, डम्म खाती, शेर खाती, उद्दप खातीको १० मुरी अन्न फल्ने खेत पनि बगाएको छ । सायलका १४ घरपरिवार पहिरोका कारण जोखिममा रहेका छन् । उनीहरुलाई वर्षा नरोकिए बस्ती नै सार्नु पर्ने अवस्था सृजना भएको जनाएका छन् ।
अविरल वर्षाका कारण गुदुखाती–१, टुनीसैनका २५ परिवारको रोपाई गरेको खेत बगाएरको तुलबहादुर खड्काले बताए । पाण्डुसैन–७ घर भएका धनी थापा भोटेको घर पनि बगाएको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल टोली पठाई क्षतिको विवरण संकलन गरी विस्थापितलाई राहतका लागि पहल गर्न समन्वय गरी सकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताएका छन् ।

प्रतिक्रिया