बजेटमा सहमति जुटाईदिन आग्रह

काठमाडौं, ९ असार । आर्थिक बर्ष २०६९/७० सालको बजेट ल्याउने विषयमा राजनीतिक परामर्श गर्दै आएका कामचलाउ सरकारका अर्थमन्त्री बर्षमान पुनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटगरी सहयोग गर्न आग्रह गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा आज विहान भएको भेटमा मन्त्री पुनले आर्थिक बर्ष २०६९÷७० को वजेटमा कांग्रेस÷एमाले लगायतका दलहरुको समर्थन जुटाई दिन आग्रह गरेका हुन् । पुनले आफू पूर्ण बजेट ल्याउने तयारीमा रहेको भन्दै मुलुकको विकासका लागि पनि विपक्षी दलहरुको सहयोग आवश्यक रहेको बताए ।
जवाफमा अध्यक्ष दाहालले सहमतिका साथ बजेट ल्याउनुपर्ने भन्दै विपक्षी दलहरुसँग परामर्श गर्ने आश्वासन दिएका छन् । उनले बजेटको प्राविधिक कार्य पुरा गर्न मन्त्री पुनलाई सुझाव दिएका छन् ।
यस अघि अर्थमन्त्री पुनले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई भेट गरेर अध्यादेशबाट आउने बजेटमा सहयोग गर्न आग्रह गरी सकेका छन् ।
कांग्रेस र एमालेले कामचलाउ सरकारले बजेट ल्याउन नमिल्ने भन्दै पहिला सहमतीय सरकार बनाउनुपर्ने जनाउदै आएका छन् ।

प्रतिक्रिया