सर्पदंशबाट जोगिने औषधिको अभाव

काठमाडौं, ९ असार । सर्पदंशका कारण मृत्युको मुखमा पुगेका व्यक्तिको उपचारका लागि सरकारले नि:शुल्क उपलब्ध गराउँदै आएको औषधिको अभाव भएको छ । ‘एन्टी स्नेक भेनम सेरम’ (एएसभिएस) नामक औषधिको कुनै पनि स्टक अहिले सरकारसँग छैन ।
सरकारले समयमै औषधि खरिद गर्न नसक्दा देशका विभिन्न ठाउँमा रहेका एसएसभिएस केन्द्रमा औषधि सकिएको छ । औषधि अभावका कारण सर्पको टोकाइबाट तराई तथा केही पहाडी जिल्लामा केही व्यक्तिको मृत्यु भएको जानकारी पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
औषधि पुर्‍याउने जिम्मा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एसएसभिएस केन्द्रमा तीन महिनादेखि नै औषधिको समस्या उत्पन्न भएको थियो । महाशाखाका निर्देशक डा. जिडी ठाकुरले अहिले कुनै पनि केन्द्रमा औषधि नरहेको जानकारी गराएका छन् । ‘सर्पको टोकाइका कारण मानिसको मृत्यु भएको जानकारी जिल्लाबाट आइरहेको छ,’ उनले भने, ‘तर, हामीसँग औषधि एउटा पनि छैन ।’ उनका अनुसार एक वर्षका लागि देशभरमा ३० हजार भाइल औषधि आवश्यक पर्छ ।
महाशाखाले सर्पको टोकाइ बढी हुने २६ जिल्लामा एएसभिएस उपलब्ध गराउँदै आएको छ । २६ जिल्लाका ५० भन्दा बढी केन्द्रबाट नि:शुल्क उपचार दिइरहेको महाशाखाले कुनै पनि केन्द्रमा औषधि पठाउन सकेको छैन । आकस्मिक अवस्थामा क्षेत्रीय मेडिकल स्टोरबाट औषधि व्यवस्था गर्ने गरिएको भए पनि अहिले क्षेत्रीय स्टोरमा समेत औषधि नभएको निर्देशक ठाकुर स्विकार्छन् । उनका अनुसार औषधि खरिदका लागि तीन महिनाअघि नै थालिएको प्रक्रिया विभिन्न विवादका कारण रोकिएकाले औषधि अभाव हुन गएको हो ।
औषधि खरिदको जिम्मा पाएको आपूर्ति व्यवस्था महाशाखा स्रोतका अनुसार औषधि खरिदका क्रममा कमिसनको कुरा आएको र खरिद प्रक्रिया पनि नियमसंगत नभएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि औषधि खरिद प्रक्रिया रोकिएको हो । ‘नियमविपरीत औषधि खरिद गर्न लागेकाले अख्तिायारले खरिद प्रक्रिया रोकेको हो,’ स्रोत भन्छ, ‘आर्थिक वर्ष सकिने समयमा हतारमा नियमपूर्वक औषधि खरिद गर्न खोज्दा औषधिको समस्या भएको हो ।’
महाशाखाको अनुमानअनुसार बर्सेनि १५ हजारभन्दा बढीलाई सर्पले डस्ने गरेको छ । गर्मीसँगै मुलुकका विभिन्न भागमा सर्पदंशमा वृद्धि भए पनि औषधि अभावका कारण धेरैको ज्यान जोखिममा रहेकाले तत्काल औषधि खरिद प्रक्रियामा जानुपर्ने निर्देशक ठाकुर बताउँछन् । अख्तियारले तत्काल यो विषयमा छानबिन गरी औषधि खरिदका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
इपिडिमियोलोजी महाशाखाका अनुसार देशभरका एक करोडभन्दा बढी जनता सर्पदंशको जोखिममा छन् । सर्पको टोकाइका कारण सन् २००६ देखि २०१० सम्म स्वास्थ्य संस्थामा आएका आठ हजार ६ सय ६६ जनामध्ये तीन सय नौको मृत्यु भएको महाशाखाको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया