नेकपा, माओवादी अराजकतावादी धार

काठमाडौं, ८ असार । एकीकृत माओवादीको सहायक संगठन वाईसियलले मोहन बैद्यले नेतृत्व गरेको नेकपा, माओवादीलाई संगठनात्मक अराजकतावादीको संज्ञा दिएको छ ।
वाईसियलका संयोजक गणेशमान पुनले आज विज्ञप्ति जारी गरेर नेपाली क्रान्तिको मौलिक कार्यदिशाको निर्माण, कार्यान्वयनमा फुटले विसर्जनवादलाई सहयोग गर्ने आरोप लगाए । विज्ञप्ति मार्फत आरोप प्रत्यारोप र समर्थनको होडवाजी चलिरहेका समयमा वाईसियल संयोजक पुनले आफूहरु संस्थापन पक्षमै रहेको जनाएका छन् ।
‘मालेमावाद/विचारधाराको विज्ञानबाट विचलन खास गरी सङ्कीर्णता जडसूत्रवाद, वाम लफ्फाजी, सङ्गठनात्मक अराजकता, कम्युनिस्ट आन्दोलन र पार्टीको रूपमा विसर्जनवाद र फुटवादको प्रतिनिधित्व गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘एमाओवादी नेतृत्वलाई सिध्याउने षड्यन्त्र गरिरहेका बेलामा गरिने यस प्रकारको घोषणाले क्रान्ति र क्रान्तिकारी शक्तिको गला रेट्ने काम भएको छ ।’
बैद्यद्वारा नेतृत्व गरिएको नेकपा, माओवादीको विरोध गर्दै संयोजक पुनले आफूहरुले एमाओवादीलाई सहयोग गर्ने बताए ।
उनले भनेका छन्, ‘जडसूत्रीय, संशोधनवाद, विसर्जनवाद, वाम लफ्फाजी, अराजकतावाद, फुटवाद तथा विसर्जनवादका विरुद्ध जोडदार वैचारिक सङ्घर्ष गर्नु पर्छ ।’

 

 
प्रेस वक्तव्य

२०६९ साल असार ५ गते क. किरणद्वारा नेतृत्व गरिएको स्वघोषित र कथित क्रान्तिकारी विचार समूहले नेपाली क्रान्तिको अग्रदस्ता र नेपाली जनताको आशाको केन्द्र एकीकृत नेकपा (माओवादी) बाट अलग भएको घोषणाको हाम्रो सङ्गठन योङ्ग कम्युनिस्ट लीग, नेपाल विरोध र भत्र्सना गर्दछ । साथै एकीकृत नेकपा (माओवादी) पार्टी र पार्टी अध्यक्ष क. प्रचण्डबाट भएको पार्टी एकताको पहल र २०६९ साल असार ६ गते जारी गरिएको प्रेस वक्तव्य, परिपत्रको एकता र परिवर्तनको भावप्रति प्रतिबद्धता जाहेर गर्दछ ।
फुटको यो घोषणाले नेपाली क्रान्तिको मौलिक कार्यदिशाको निर्माण, कार्यान्वयन र विकासमा मालेमावाद÷विचारधाराको विज्ञानबाट विचलन खास गरी सङ्कीर्णता जडसूत्रवाद, वाम लफ्फाजी, सङ्गठनात्मक अराजकता, कम्युनिस्ट आन्दोलन र पार्टीको रूपमा विसर्जनवाद र फुटवादको प्रतिनिधित्व गर्दछ । यसले नेपाली क्रान्तिको अत्यन्त सङ्गीन मोडमा राजनीतिक मुद्दाका हिसाबले एकीकृत नेकपा (माओवादी) र उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग तथा उत्पीडित सांस्कृतिक समुदायले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान लगायतको राजनीतिक मुद्दाहरूमा खरो उत्रिएको बेला र सम्पूर्ण प्रतिगामी, प्रतिक्रियावादी र अवसरवादी तत्वहरू एक भएर जसरी भएपनि क्रान्तिकारी पार्टी र त्यसको नेतृत्वलाई सिध्याउने षड्यन्त्र गरिरहेको बेलामा गरिने यस प्रकारको घोषणाले क्रान्ति र क्रान्तिकारी शक्तिको गला रेट्ने र प्रतिक्रियावादीहरूलाई सेवा गर्ने अनि सम्पूर्ण सहिद, वेपत्ता परिवार, घाइते र अपाङ्ग कार्यकर्ता, जनता, शुभचिन्तकहरूलाई दुखित तुल्याउने काम गरेको छ ।
हाम्रो सङ्गठन योङ्ग कम्युनिस्ट लीग, नेपाल (वाइसीएल) आफैँमा नेपाली क्रान्तिकारी कार्यदिशाको कार्यनीतिको एक अंश भएकाले हामीले वर्तमान परिस्थितिमा नयाँ ढङ्गले क्रान्तिको विजयका लागि मालेमाको नयाँ प्रस्थापनाहरूलाई विशेष रूपमा आत्मसात गर्न अनुरोध गर्दछ । भ्रममा परेर बाटो बिराउनु भएका नेता, कार्यकर्ता र कमरेडहरूलाई एकीकृत पार्टी र सङ्गठनको प्रवाहमै सङ्गठित हुन आग्रह गर्दछ । साथै जडसूत्रीय, संशोधनवाद, विसर्जनवाद, वाम लफ्फाजी, अराजकतावाद, फुटवाद तथा विसर्जनवादका विरुद्ध जोडदार वैचारिक सङ्घर्ष सञ्चालन गर्नसमेत आह्वान तथा प्रतिबद्धता व्यक्त गर्दछ ।

८ असार, २०६९

….. … … …
गणेशमान पुन
संयोजक
‍‍

प्रतिक्रिया