दुई हेभिवेटको क्वार्टरफाइनल भिडन्त तय

वार्सा, ७ असार । इंग्ल्यान्ड र फ्रान्स युरोकप फुटबल प्रतियोगिता २०१२ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युक्रेनलाई १–० ले पराजित गरेको इंग्ल्यान्ड सात अंकसहित समूहमा शीर्षस्थानमा रह्यो भने स्विडेनसँग २–० ले पराजित फ्रान्स चार अंकसहित दोस्रो स्थानमा रह्यो । क्वार्टरफाइनलमा इंग्ल्यान्डले समूह ‘सी’मा दोस्रो स्थान पाएको इटाली तथा फ्रान्सले त्यसै समूहमा शीर्ष स्थानमा रहेको स्पेनको सामना गर्नेछन् । इंग्ल्यान्डको जित विवादरहित भने रहेन । खेल सुरु भएको एक घन्टापछि मार्को डेभिकको प्रहार गोल लाइन क्रस गरे पनि गोल दिइएको थिएन । यसअघि इंग्ल्यान्डका वाइन रोनीले युक्रेनको रक्षापंक्ति र गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै वाइन रोनीले दोस्रो हाफमा गोल गरेका थिए ।
‘खेलमा आफ्नो मिहिनेत र केही हदसम्म भाग्यको पनि साथ चाहिँदो रहेछ,’ खेलको समाप्तिपछि इंग्लिस कप्तान स्टेफन जेरार्डले भने । युक्रेनका प्रशिक्षक ओलेग ब्लोखिन भने रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिए । ‘खोइ के भन्ने ? पाँच जनाले खेल सञ्चालन गर्छन्, बल लाइनबाट ७५ सेन्टिमिटर नाघ्दा पनि थाहा पाउँदैनन्,’ ब्लोखिनले भने । उनले युक्रेन बाहिरिए पनि सम्मानपूर्वक बाहिरिएको दाबी गरे ।
स्विडेनका लागि ग्लाटन इब्राहमोभिकले ५४औं मिनेटमा ‘सिजर किक’ भली प्रहार गर्दै गोल गरे भने सेबास्टिन लार्सनले अन्तिम मिनेटमा गोल गरे । इब्राहमोभिकले लार्सनको क्रसलाई उपयोग गरेका थिए । यो गोल नै प्रतियोगिताकै उत्कृष्ट गोल भएको दाबी गरिएको छ । फ्रान्सका प्रशिक्षक लाउरेन्ट ब्लान्कले आफ्नो टोलीले औसत खेलेको र स्विडेन हरेक पक्षमा हाबी भएको बताए । दुई खेलबाटै बाहिरिएको स्विडेन संघर्ष नगरी कन घर नफर्कने निर्णय गर्दै सुरुवातदेखि आक्रमणमा उत्रिएको थियो ।
फ्रान्सको हकमा अर्को खेलमा युक्रेनले जित हात नपारे अर्को चरणको यात्रा निश्चित रहेका कारण रोमाञ्चक नहुने अनुमान गरिएको थियो । तर, सुरुवातदेखि नै दुवै टोलीले उत्तिकै पेस र स्किलसहित खेलेका थिए । पहिलो हाफमा स्विडेनका फरवार्ड ओला टियोभोनेनले गोलको राम्रो मौका पाए पनि गुमाएका थिए । फ्रान्सका रक्षक फिलिप मेक्सेस हेड गर्दा झुक्किएपछि ओलाले बल पाएका थिए । नियोजित आक्रण बुन्न असफल फ्रान्सका सामी नास्री, रिबेरी, हाटेम बेन आर्फा र करिम बेन्जामाले लामो प्रहार गरे पनि यसले स्विडेनका गोलरक्षक आन्द्रेस इयाक्सनका सामु कुनै संकट भएन । वैकल्पिक खेलाडी जरेमी बनेलले एकपटक राम्रो मौका पाए पनि स्विडेनका गोलरक्षक इयाक्सनले यसलाई बचाएका थिए । टियभोनेनलाई फल प्रहार गरेका कारण पहेँलो कार्ड पाएका मेनेजले क्वार्टरफाइनल खेल गुमाउनेछन् ।
इंग्ल्यान्डको जितमा भने भाग्यले नै साथ दियो । दुई खेलको प्रतिबन्धका कारण एकैपटक युक्रेनसँगको खेलमा मात्र मैदानमा देखिएका रोनीले जेरार्डको क्रसमा हेड गोल गरेका थिए । दुई युक्रेनी रक्षक र गोलरक्षकले सहज भए पनि बल क्लियर गर्न चुकेपछि रोनीले गोल गरेका थिए । डेभिकको प्रहार बारे इंग्ल्यान्डका प्रशिक्षक रे हड्सनले भने, ‘विगतमा हामी यसै अवस्थामा अभागी सावित भएका थियौं । यसपटक भाग्यमानी ।’ सन् २००४ को युरोकपमा पोर्चुगलसँग तथा २०१० को विश्वकपमा जर्मनीसँग इंग्ल्यान्डले प्रहार गरेको बलले गोल लाइन पार गरे पनि मान्यता पाएको थिएन । उनले प्रहार गरेको बल साइडबारमा लागेको थियो । सन् १९५४ मा स्विट्जरल्यान्डपछि इंग्ल्यान्डले आयोजक टोलीलाई पराजित गरेको यो नै पहिलोपटक हो ।
प्रतियोगिताका अन्य दुई क्वार्टरफाइनल खेल ग्रिस र जर्मनी तथा चेकगणतन्त्र र पोर्चुगलबीच तय भइसकेको छ । सोभियत संघ विघटनपछि पूर्वीयुरोपमा भएको पहिलो ठूलो खेल महोत्सवमा केही भिन्नता देखिए । पहिलो चरणको खेल सकिँदा कुनै पनि खेल गोलरहित बराबरीमा सकिएनन् । हरेक समूहबाट पहिलो खेलमा जित प्राप्त गरेका टोली बाहिरिए ।
यसका अलावा विभिन्न सामाजिक र राजनीतिक कारणले पनि यो प्रतियोगिता चर्चामा रह्यो । रंगभेद, धार्मिक मतान्तर, युक्रेनका पूर्वप्रधानमन्त्री युलिया समेचेन्कोको थुनवाइपछिको कूटनीतिक बहिष्कारका कारण यो युरोकपका सुरुवाती दिन चर्चामा रहे । ग्रीसको जर्मनीसँगको क्वार्टरफाइनललाई त्यहाँको आर्थिक मन्दीसँग पनि जोडेर हेर्ने गरेका छन् । ‘यसरी फुटबललाई अन्य विषयसँग जोडेर हेर्नु ठीक होइन,’ ग्रिसका स्ट्राइकर जर्जियोस समारासले खेलअघिको पोस्टम्याच कन्फ्ररेन्समा भनेका छन् । त्यस्तै आर्थिक नीतिकै कारण जर्मनीकी चान्सलर एन्जेला मार्केल ग्रिसमा अत्यधिक अलोकप्रिय व्यक्तिका रूपमा रहेकी छन् ।

यस्तो रह्यो पहिलो चरण
एजेन्सी
किभ, ७ असार । युरोकप २०१२ को उद्घाटन खेलमै पोल्यान्डका रोबर्ट लोडवान्सीले ग्रिसविरुद्ध सानदार गोल गरे । त्यसपछि युरोकपमा केही सानदर गोल भए जसले प्रतियोगिताको चमकमा नै वृद्धि गरेको छ । इटालीका मारियो बालतात्तेलीले आयरल्यान्डसँग गरेको भली त्यत्तिकै स्तरीय थियो । यसका अलावा जर्मनीका मारियो गामेजले नेदरल्यान्डसँग गरेके पहिलो गोल र पोल्यान्डका ज्याकुब ब्लाजस्कवोज्सीले रुसविरुद्ध गरेको गोल त्यत्तिकै स्तरीय थिए । यही स्तरीय गोलको शृंखलालाई निरन्तरता दिने क्रममा स्विडेनका ग्लाटन इब्राहमोभिकले फ्रानसविरुद्ध सानदार गोल गरे ।
पहिलो चरणको खेल सनसनी पूर्ण रह्यो । चेक गणतन्त्रलाई ४–१ ले पराजित गरेको रुस नै पहिलो चरणबाट बाहिरियो । सन् २००४ मा अप्रत्याशित रूपले युरोकपको उपाधि जितेको ग्रिसले त्यसै प्रतियोगितापछि पहिलो जितका रूपमा रुसलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्‍यो । आयोजक देश पोल्यान्ड र युक्रेनले नै पहिलो चरण पार नगर्नु अर्को महत्त्वपूर्ण पाटो बन्यो ।
युक्रेनको मौसम पनि त्यत्तिकै चर्चामा रह्यो । मेघ गर्जनसहितको वर्षाका कारण फ्रान्स र युक्रेनबीचको खेल लामो समयसम्म रोकियो । प्रतयोगिता जारी नै रहँदा युरोकप २०१६ मा २४ टोली समावेश गर्ने निर्णय गरियो । समूह चरणको कुनै पनि खेलमा गोलरहित बराबरी भएनन् ।
युरोकपमा केही स्टार राम्रो खेलेर या नखेलेर दुवै कारणले चर्चामा रहे । सुरुका दुई खेलमा खराब प्रदर्शनका कारण आलोचित रोनाल्डोले नेदरल्यान्डसँगको खेलमा दुई गोल गरे । उनले त्यसै खेलमा पाँच गोल गर्ने सम्भवना पनि थियो । स्विडेनसँगको खेलमा आफ्नो टोलीलाई कम ब्याक गराउँदै २–१ को जित दिलाउँदा दुवै गोल गरेको युक्रेन आन्द्रेई सेभचेन्को त्यत्तिकै चर्चामा रहे । उल्फ्सबर्गका लागि खेल्ने क्रोएसियाका मारियो मान्डुजकिकले स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुअघि तीन गोल गरे । पोर्चुगलसँग ३–२ ले पराजित भएको खेलमा डेनमार्कका निकोलाई बेन्डलरले दुई गोल गरे । तर, उनले खुसीयाली मनाउने क्रममा बाजिगरले चाहे बमाजेकी प्रायोजकको नाम लेखिएको अन्डरवेयर देखाएका कारण एक खेलको प्रतिबन्ध र एक लाख युरो जरिवाना तिर्नुपर्‍यो ।
अन्य केही खेलाडीले पनि पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरे । रुसका एलान जागयर्भेले तीन गोल गरे । १८ वर्ष ७१ दिनका फ्रान्सेली रक्षक म्याथ्यु डेबुची र डच रक्षक जेट्रो विलियम्स प्रतियोगिताका कान्छा खेलाडी भए । दुई वर्षअघिको विश्वकप उपविजेता नेदरल्यान्ड्सले पहिलो चरणका तीनवटै खेलमा पराजयको सामना गर्‍यो । सन् १९५४ को हंगेरीपछि स्ट्राइकररहित खेलाउने जोखिमपूर्ण रणनीति स्पेनले अपनायो ।
सेभचेन्कोले सन्न्यास लिने
किभ : युक्रेनका स्ट्राइकर आन्द्रेई सेभचेन्कोले युरोकप २०१२ बाट आफ्नो टोली बाहिरिएपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने बताएका छन् । स्वतन्त्र युक्रेनका तर्फबाट खेलेका सबैभन्दा उत्कृष्ट फुटबलर सेभचेन्कोले एक मैत्रीपूर्ण खेलपछि विदाई हुने बताए । ‘इंग्ल्यान्डसँगको खेल मेरो अन्तिम अफिसियल खेल हो । यसपछि म बिदाई खेलका रूपमा मैत्रीपूर्ण खेल खेल्नेछु,’ सेभचेन्कोले भने ।
युक्रेनका लागि १ सय १८ खेल खेल्दै सर्वाधिक ४८ गोल गरेको ३५ वर्षीय सेभचेन्कोको युक्रेनका लागि सबैभन्दा कम र सबैभन्दा बढी उमेरमा गोल गरेको कीर्तिमान छ । उनी घुँडाको चोटका कारण इंग्ल्यान्डसँगको खेलमा पहिलो रोजाइमा थिएनन् । एसी मिलान र चेल्सीका पूर्व फरवार्डले दुई गोल गरेपछि युक्रेनले पहिलो खेलमा स्विडेनलाई २–१ ले पराजित गरेको थियो । ६ पटक युक्रेनका वर्ष खेलाडी भएका सेभचेन्को सन् २००४ मा युरोपेली वर्ष खेलाडी भएका थिए । एसी मिलान प्रस्थान गर्नुअघि नै खेलेको पहिलो खेलमा डाइनामो किभमा रहेका सेभेचेन्कोको जुलाईमा अनुबन्ध सकिँदै छ । उनी त्यसपछि उत्तर अमेरिकाको मेजर सकर लिगमा खेल्ने अनुमान गरिएको छ । युक्रेनका प्रशिक्षक ओलेग ब्लोखिनले युरोकपबाट बाहिरिएपछि उनले विश्वकप फुटबल २०१४ को छनोट खेलका लागि युवा खेलाडीमा ध्यान दिइरहेको बताए । उनले युक्रेनका युवा खेलाडी पनि राम्रो भएका कारण सुखद भविष्यको अनुमान गर्न सकिने बताए । (एजेन्सी)

प्रतिक्रिया