तामाकोसी आयोजनास्थलमा बिजुली

काठमाडौं, ७ असार । इन्धनको समस्या भोग्दै आएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थलमा बिजुली पुगेको छ । बिजुली पुगेसँगै आयोजनाको इन्धन समस्या आधा समाधान भएको छ । दोलखाको सिंगटीदेखि ३३ केभीको प्रसारण लाइन निर्माण गरेर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्‍याएको तामाकोसी सञ्चालक समितिका सदस्य–सचिव हरिकुमार श्रेष्ठले बताए ।

दुई वर्षअघिदेखि नै राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने कार्य अघि बढे पनि प्राधिकरण र आयोजनाबीच समन्वय र कामलाई तदारुकताका साथ अघि बढाउन नसक्दा प्रसारण लाइन निर्माणमा ढिलाइ भएको थियो । ६० किलोमिटर लामो लाइन भएकाले लाइनमा गडबढ हुन सक्ने आशंका आयोजनाको छ । ‘६० किलोमिटर लामो लाइन छ, पूरै समय काम देला भनेर पूरा भर त परेका छैनौँ तर अहिले काम दिइरहको छ,’ एक पदाधिकारीले भने ।
यसअघि बिजुली नपुगेका कारणले आयोजनाको सबै निर्माण कार्य इन्धनमार्फत गर्नुपर्ने बाध्यता थियो । सबै इन्धनमार्फत निर्माण अघि बढाउँदा दैनिक १० हजार लिटर इन्धन आवश्यक भए पनि दैनिक पाँच हजार मात्र नेपाल आयल निगमले उपलब्ध गराएका कारणले निर्माणसमेत प्रभावित हुँदै आएको थियो । ‘आयोजनास्थलमा बिजुली पुगेपछि अब इन्धनको उपयोगमा आधा कटौती भएको छ,’ सदस्य सचिव श्रेष्ठले भने, ‘यसले डिजेलको अभावमा निर्माणमा भएको समस्या न्यूनीकरण भएको छ ।’
आयोजनास्थल लामाबगर, ग्रेगरलगायतमा डिजेल पुर्‍याएर निर्माण गर्नुपर्ने बाध्यता थियो । राजधानी काठमाडांैबाट दुई सय ६ किलोमिटर टाढा रहेको आयोजनास्थलमा रहेकाले डिजेल पुर्‍याउनसमेत समस्या थियो । नेपाल आयल निगमले आवश्यकताअनुसार डिजेल नदिएपछि आयोजनाले बेलाबेलामा काम गर्नुपर्ने बाध्यता थियो । ‘मुख्य लाइनबाट पावर सप्लाई भएपछि धेरै सजिलो भएको छ, तर धेरै टाढाबाट प्रसारण लाइन ल्याएकाले त्यो भरपर्दो हुन्छ कि हुँदैन भन्ने अन्योलता पनि कायमै छ,’ निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने । डिजेल अभावले समयमै काम पूरा गर्न नसकेको भन्दै आयोजनाले विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायतलाई अनुरोध गर्दै आएको छ । सबै निकायले डिजेललगायतका आयोजनाभित्र देखिएका सबै समस्या समाधानका लागि सहयोग गर्ने आश्वासन दिए पनि समस्या समाधान हुन सकेको थिएन ।
‘बिजुलीको सेवाले हाम्रो इन्धन आवश्यकतालाई ५० प्रतिशत घट्छ, सोही कारणले पहिलाको जस्तो डिजेल समस्या भोग्नु पर्दैन,’ आयोजना योजना तथा अनुगमन इकाई प्रमुख विमल गुरुङले भने । डिजेल अभावलगायतका समस्याको कारणले आयोजना निर्माणमा आठ महिना ढिलाइ भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना भन्दै सरकारले समयमै सक्नका लागि निर्देशन दिएपछि अवरोध र अभावले समयमै पूरा गर्न नसकिने आयोजनाले बताउँदै आएको छ । आयोजनाका एक अधिकारीका अनुसार विष्फोटक पदार्थ, समयमै भुक्तानीको अभाव, माथिल्लो निकायबाट हरेक विषयको निर्णयमा हुने ढिलाइलगायतका समस्याले काम तीव्र गतिमा अघि बढ्न सकेको छैन ।
स्वदेशी लगानीमै निर्माण भइरहेको चार सय ५६ मेघावाटको सो जलविद्युत् आयोजना २०७२ को चैतभित्र बनाइसक्ने लक्ष्य राखिएको छ । ३५ अर्ब २९ करोड रुपियाँको लागतमा निर्माण हुने आयोजनाका लागि हालसम्म करिब सात अर्ब खर्च भइसकेको छ । आयोजनाका अनुसार, सम्पूर्ण आयोजनाको ३३ प्रतिशत काम भइसकेको छ । बिजुली पुगेपछि थप काम समयमै सिध्याउनका लागि केही सजिलो भने भएको छ ।
लोडसेडिङ घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि लागू हुनेगरी दैनिक एक घन्टा लोडसेडिङ घटाएको छ ।
साताको ४९ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले ४२ घन्टामा झारेको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए । उनका अनुसार, औद्योगिक क्षेत्रमा दैनिक १० घन्टा लोडसेडिङ रहेकामा त्यसलाई झारेर नौ घन्टामा ल्याइएको छ । खोलामा पानीको बहाव बढेको र चुहावटमा कमी भएको जनाउँदै लोडसेडिङ घटाएको हो ।
विद्युत् चुहावट बढी भएको क्षेत्रमा लोडसेडिङ पनि बढिरहेको प्राधिकरणले जनाएको छ । ३५ देखि ४० प्रतिशतसम्म थप एक घन्टा, ४० देखि ५० प्रतिशतसम्म थप दुई घन्टा, ५० देखि ६० प्रतिशतसम्म थप तीन घन्टा, ६० देखि ७० प्रतिशतसम्म चार घन्टा तथा ७० प्रतिशतभन्दामाथि चुहावट बढी भएमा पाँच घन्टा थप लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया