वैद्यको पार्टी अराजकतावादीको झुन्ड : दाहाल

काठमाडौं, ७ असार । पार्टी विभाजनसँगै एकीकृत माओवादी र नवगठित नेकपा–माओवादीका नेताहरूबीच आरोप/प्रत्यारोप सुरु भएको छ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संशोधनवादीको आरोप लगाएलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नवगठित पार्टी ‘निम्न पुँजीवादी अराजकतावादी झुन्ड’ मात्रै भएको आरोप लगाएका छन् ।

नयाँ पार्टी गठनबारे जानकारी दिन माओवादी अध्यक्ष मोहन वैद्यले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराई दक्षिणपन्थी भासमा फस्नुका साथै नवसंशोधनवादी कित्तामा उभिएको आरोप लगाएका थिए । दाहालले बुधबार विज्ञप्ति जारी गरी वैद्यलाई यान्त्रिक, संकीर्णतावादी, जडसूत्रवादी, विसर्जनवादीलगायत आरोप लगाएका छन् । वैद्यहरूमा अराजकवादी विचलन आएको दाबी पनि उनले गरेका छन् ।
वैद्य पक्षले पार्टीका आन्तरिक विवादका विषयमाथि केन्द्रीय समिति, राष्ट्रिय सम्मेलन वा महाधिवेशनमा गर्नुपर्ने छलफल अवैध ढंगले बोलाइएको ‘कथित राष्ट्रिय भेला’ मा गरेको दाहालको विज्ञप्तिमा उल्लेख छ । ‘विधि र प्रक्रियाका सम्पूर्ण स्थापित मान्यतालाई मिचेर कथित राष्ट्रिय भेलाद्वारा गर्नै नमिल्ने र गर्न नसकिने निर्णय र घोषणा जबर्जस्ती थोपरेर क. किरणद्वारा नेतृत्व गरिएको समूहले आफैँलाई राष्ट्र र जनताप्रति अत्यन्त गैरजिम्मेवार, फुटपरस्त, पूर्वाग्रही, एवं विवेकले नभएर आवेगले चल्ने निम्न पँुजीवादी अराजकतावादी झुन्ड मात्र सावित गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको छ ।
वैद्यको भेलाले आºनो पार्टीको नेतृत्वलाई लगाएको आरोपले त्यो समूह विसर्जनवादी र अराजकतावादी झुन्ड भएको आरोप दाहालको छ । ‘अन्तरसंघर्षका क्रममा पार्टीले लगाउँदै आएको वैचारिक रूपले यान्त्रिक संकीर्ण र जडसूत्रवादी, राजनीतिक रूपले ‘वामपन्थी’ लºफाजीसहितको विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी विचलनको आरोपलाई क. किरण समूहको यो घोषणाले पुष्टि मात्र गरेको छ,’ दाहालको विज्ञप्तिमा उल्लेख छ ।
चुनवाङ बैठकले लिएको कार्यदिशाकै आधारमा देश गणतन्त्रमा गएको बताउँदै दाहालले वैद्यको पार्टीले फेरि जनयुद्ध र जनविद्रोहको कुरा गर्नु हास्यास्पद मात्रै भएको बताएका छन् । ‘चुनवाङ बैठकका निर्णय जसले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्ने ऐतिहासिक कार्यनीति सूत्रबद्ध गर्‍यो, १२ बुँदे समझदारी जसले जनयुद्धको जगमा सशक्त जनआन्दोलन सृष्टि गरी राजतन्त्रको चिहान खन्ने काम गर्‍यो एवं संविधानसभाको निर्वाचन जसले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्‍यो । ती सबैलाई मोहन वैद्य पक्षले गलत भनिसकेपछि फेरि जनयुद्ध र जनविद्रोहको कुरा गर्नुले हास्यास्पद वितण्डालाई मात्र पुष्टि गर्दछ,’ दाहालको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा वैद्य पक्षले फुटपरस्त विचलनलाई थप उग्ररूप दिएर भौतिक आक्रमणको बाटोसमेत समात्न सक्ने भन्दै कार्यकर्तालाई सजग रहन पनि आह्वान गरिएको छ । दाहालले वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनविरुद्ध तथ्य र तर्कका आधारमा वैचारिक संघर्ष गर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् । ‘क. मोहन वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनलाई अझ उग्ररूप दिएर क्रान्तिकारीकै बीच भौतिक संघर्षको शृंखला खडा गर्ने प्रतिक्रान्तिकारी षड्यन्त्रप्रति सजग र सतर्क रहन पनि पार्टी सम्पूर्ण क्रान्तिकारी एवं जनसमुदायसँग विशेष अपिल गर्न चाहन्छ । क. वैद्य पक्षको फुटपरस्त र विसर्जनवादी विचलनविरुद्ध वैचारिक संघर्षलाई ध्वंसात्मक र शत्रुतापूर्ण रूपमा होइन तथ्य र तर्कका आधारमा मित्रतापूर्ण रूपमा सञ्चालन गर्न पनि पार्टी सम्पूर्ण कमिटी र सदस्यहरूलाई विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा दाहालले भनेका छन् ।
आगामी फागुनमा गर्ने भनेको महाधिवेशनसम्म एकताका लागि संवाद जारी राख्ने वैद्यको भनाइलाई सकारात्मक भन्दै दाहालले रूपान्तरणसहितको एकताका लागि पहल गर्ने बताएका छन् । ‘गम्भीर वैचारिक र राजनीतिक संघर्षका बाबजुद क. वैद्य पक्षसँग अझै पनि वैचारिक संघर्षकै बीचबाट रूपान्तरणसहितको एकता हासिल गर्न प्रयत्न गर्ने पार्टीको नीति कायम रहनेछ । महाधिवेशनसम्म संवाद जारी राख्ने क. मोहन वैद्य पक्षको भनाइलाई सकारात्मक मान्दै पार्टीले उहाँहरूसँग निरन्तर संवाद गर्ने र पुन: एकताको प्रयत्न गरिरहनेछ,’ दाहालले विज्ञप्तिमा भनेका छन् ।

एमाओवादीको भेला सर्‍यो

काठमाडौं : प्रमुख सत्ताधारी एकीकृत माओवादीले आगामी १५ असारदेखि गर्ने भनेको विस्तारित बैठक सारेको छ । बुधबार बसेको स्थायी समितिले तयारी नपुगेको भन्दै बैठक १५ दिन सार्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले विस्तारित बैठक आगामी १ देखि ५ साउनसम्म भृकुटीमण्डपमा गरिने बताए । पार्टी विभाजन भएपछिको अवस्थाको समीक्षा र नयाँ रणनीति बनाउन केही समय लाग्ने भएकाले बैठक सारिएको स्रोतले जनाएको छ । विस्तारित बैठक अघि २५, २६ र २७ असारमा पोलिटब्युरो २८, २९ र ३० असारमा केन्द्रीय समितिको बैठक बस्नेछ । ती बैठकले विस्तारित बैठकको तयारीसम्बन्धी छलफल गर्नेछ ।
यसै साता नयाँ पार्टी गठन गरेका मोहन वैद्यले महाधिवेशनसम्म पार्टी एकताका लागि संवाद जारी राख्ने भनी दिएको अभिव्यक्तिलाई एकीकृत माओवादीले सकारात्मक भएको बताएको छ । उसले पार्टी एकताका लागि वैद्यको पार्टीसित वार्ता र छलफललाई निरन्तरता दिने निर्णय पनि गरेको छ । स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीको सदस्यमा स्थायी समिति सदस्यद्वय वर्षमान पुन र दीनानाथ शर्मा रहेका छन् । (सौस)

प्रतिक्रिया