सहमतिको नयाँ सरकार नै निकासः एमाले

काठमाडौं, ६ असार । विपक्षी दल एमालेले सत्तारुढ गठबन्धन दलहरुको कुठारघात विरुद्ध आन्दोलनको विकल्प नरहेको जनाएको छ । उसले मुलुकलाई वैधानिक बाटोमा ल्याउन आन्दोलनको आँधिबेहरी ल्याउनै पर्ने चेतावनी दिएको छ ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय बल्खुमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले कामचलाउ सरकारको अधिनायकवादी सोंच विरुद्ध सडक आन्दोचन चर्काउने बताए ।
‘सत्तारुढ गठबन्धनको अधिनायकवादी सोंच विरुद्ध सडक आन्दोलन गर्नुको विकल्प छैन,’ उनले भने ‘आन्दोलनका साथै सहमतिका लागि टेबुल बार्ता पनि गर्दै जानु पर्छ ।’
अध्यक्ष खनालले जेठ–१४ गते पछिको राजनीतिक शुन्यतालाई अन्त्य गर्नु पर्ने दायित्व रहेको बताउदै राजनीतिक निकासका लागि पहिला सहमतीय सरकार बनाउनै पर्नेमा जोड दिए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर निकास दिनुपर्नेमा एमालेको माग रहेको बताए ।
संवैधानिक दायरामा रहेर संविधानको रक्षकका नाताले राष्ट्रपतिले भूमिका खेल्नुपर्ने जनाएका अध्यक्ष खनालले मुलुकमा राष्ट्रपति मात्रै निर्वाचित एउटा संस्था रहेको उल्लेख गरे । ‘हामीले धेरै भनेका छैनौं, संविधानको रक्षकका रुपमा राष्ट्रपतिले सीमा भित्र रहेर भूमिका खेल्नु पर्छ,’ उनले भने, ‘प्रचारमा आए जस्तो हामीले राष्ट्रपतिलाई उक्साएका छैनौं ।’
मुलुकमा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल भएको जनाएको एमालेले सबै दलहरु मिलेर छिटो निकास दिनुपर्ने उल्लेख गरेको छ ।
एमाओवादीबाट विभाजित नयाँ दल नेकपा, माओवादीलाई जडसुत्रवादी पार्टीको संज्ञा दिएका अध्यक्ष खनालले नयाँ दलको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाए । उनले भविष्यमा नेकपा, माओवादीका नीति र योजना हेरेर मात्रै सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा धारणा सार्वजनिक गर्ने बताए ।
पार्टीका जनजाति नेताहरु भेलामा नआएका बारेमा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष खनालले भने, ‘उहाँहरु विभिन्न कारणले नआएको हुन सक्छ, हामीले त्यस बारेमा सोध्छौं ।’ उनले जनजाति नेताहरुले पार्टी विभाजन गर्ने नभनेकाले असन्तुष्टिहरुका मागलाई सिद्धान्त, विधि र नीति अनुसार समाधान गरिने बताए ।
प्रेस विज्ञप्ति

संविधानसभाको विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक संकटको सम्बन्धमा पार्टीव्यापी छलफल गरी ठोस सुझाव प्राप्त गर्ने उद्देश्यले नेकपा (एमाले) केन्द्रीय कमिटीको आयोजनामा २०६९ असार ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, केन्द्रीय निकायहरु  अनुशासन आयोग, लेखा परिक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरु, केन्द्रीय विभागका सचिवहरु, अञ्चल समन्वय कमिटीका सचिवहरु, जिल्ला अध्यक्षहरु र घोषित जनसंगठनका अध्यक्ष, उपाध्यक्ष र महासचिव कमरेडहरुसहित कूल ४८७ जनाको भेलामा सहभागिता रहेको थियो ।
असार ४ गते ११.५५ बजे राष्ट्रिय सभागृहको हलमा आयोजित भव्य समारोहका बीच पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले भेलाको समुद्घाटन गर्नुभयो । आफ्नो उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष खनालले भन्नुभयो – ‘नेकपा (एमाले) हिमाल, पहाड र तराईका सबै जनताको पार्टी हो । यो मधेशी वा जनजातिविरोधी पार्टी होइन र हुन सक्दैन’ । उहाँले स्पष्ट पार्नुभयो– ‘हामीले कहिल्यै पनि मुलुकमा जातीय राज्य हुन्छ भनेका छैनौं । तसर्थ, एकल जातीय पहिचानको आधारमा राज्यको पुनःसंरचना गर्ने पक्षमा हामी हुन सक्दैनौं ।’
सहिदहरुप्रति श्रद्धाञ्जलि, दिवंगत नेता कमरेडहरुका तस्बिरमा माल्यार्पण, अन्तर्राष्ट्रिय गीत र राष्ट्रिय गानपछि पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले भेलाका सहभागीहरुलाई स्वागत अभिवादन गर्नुभयो । उहाँले वर्तमान संकटपूर्ण परिस्थितिका सन्दर्भमा गम्भीरतापूर्वक र खुला–खुलस्त छलफल गरी पार्टी केन्द्रलाई महत्वपूर्ण सुझाव दिनसमेत सहभागीहरुलाई आह्वान गर्नुभयो ।
बीच–बीचमा जनकलाकारहरुले वर्गीय प्रेम र प्रतिबद्धता झल्काउने लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभयो । यसरी उद्घाटन सत्रको संक्षिप्त तर भव्य कार्यक्रम समापन भयो ।
भेलाको बन्द सत्र दिउँसो २ बजे आरम्भ भयो । बन्द सत्रमा अध्यक्ष कमरेडले केन्द्रीय कमिटीका तर्फबाट १५ पृष्ठ लामो राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो । करिब ४५ मिनेटको अवधिमा प्रस्तुत राजनीतिक प्रस्तावमा विभिन्न आठवटा बुँदामा पार्टीको दृष्टिकोण र धारणा प्रस्तुत गरिएको छ ।
दिउँसोको खाजापश्चात ३.५० बजे जनकलाकारहरुद्वारा प्रस्तुत ‘मानिस छुत–अछुत हुन्छ, म मान्दै मान्दिनँ’ भन्ने गीतबाट शुरु भएको बन्द सत्रमा पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमले करिब दुई घण्टा लामो प्रशिक्षणमूलक मन्तव्य दिनुभयो । साथै, अनुशासन आयोगका अध्यक्ष कमरेड अमृतकुमार बोहरा र सल्लाहकार परिषदका अध्यक्ष कमरेड सिद्धिलाल सिंहले आ–आफ्ना निकायहरुको सुझावसहितका गहन मन्तव्यहरु राख्नुभयो ।
उक्त दिनको अन्त्यमा भेलाका सहभागीहरुलाई राजनीतिक प्रस्तावमाथि छलफल गर्न विभिन्न छ वटा समूहमा विभाजन गरियो ।
भेलाको दोस्रो दिन असार ५ गते ११ बजेदेखि पूर्व निर्धारित समुहहरुमा सामुहिक छलफल प्रारंभ भयो । करिब चार घण्टासम्म छ वटै समुहहरुमा राजनीतिक प्रस्तावमा विचोरोत्तेजक छलफल संचालन भयो । र, अपरान्ह ३.३० बजेदेखि समूह छलफलका निष्कर्षहरु हलसमक्ष प्रस्तुत गर्नेक्रम अघि बढ्यो । समूहहरुका तर्फबाट कमरेड शेरधन राई (पूर्वाञ्चल), कमरेड पार्वत गुरुङ (मध्यमाञ्चल), कमरेड खिम थापा मगर (पश्चिमाञ्चल) कमरेड सूर्य थापा
(मध्यपश्चिमाञ्चल) कमरेड ईश्वरी खरेल (सुदूर पश्चिमाञ्चल) र कमरेड रामप्रसाद श्रेष्ठ (जनसंगठन र पेशागत संगठन)ले आ–आफ्नो समूहका छलफलको निष्कर्ष प्रस्तुत गर्नुभयो । समूहहरुका निष्कर्षमा – पार्टीलाई जातिवादी भड्कावमा फंस्न दिन नहुने, एकल जातीय पहिचानको आधारमा प्रदेशहरु निर्माण गर्न नहुने, पार्टीको स्वीकृत पद्धति र प्रक्रियाअनुरुप नै आफ्ना विचार र अभिमत प्रस्तुत गर्न हरेक नेता–कार्यकर्ताहरु वैधानिक प्रक्रियामा सहभागी हुनुपर्ने, संविधानसभाको अवशान एमाओवादीकै सर्वसत्तावादी रवैयाले गर्दा भएको, त्यसलाई आन्दोलनको आँधीबेहरी सिर्जना गरी परास्त गर्नुपर्ने र वर्तमान राजनीतिक संकटको निकासको प्रस्थानबिन्दु राजनीतिक दलहरुको सहमतिमा संयुक्त राष्ट्रिय सरकार गठन हुनुपर्नेआदि महत्वपूर्ण सुझावहरु प्रस्तुत गरियो ।

समुह निष्कर्षको प्रस्तुतिलगत्तै पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र अर्का नेता कमरेड केपी शर्मा ओलीले बन्द सत्रलाई महत्वपूर्ण संबोधन गर्नुभयो । उहाँहरुले वर्तमान परिस्थितिमा पार्टीले सामना गर्नुपरेका आन्तरिक र बाह्य चुनौतिहरुको सामना गर्नेबारेमा सविस्तार प्रशिक्षण दिनुभयो ।
तत्पश्चात् भेलामा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको सम्बन्धमा अध्यक्ष कमरेडले प्रत्युत्तर मन्तव्य राख्नुभयो । उहाँले मुलुकको राष्ट्रियता अत्यन्तै संकटमा परेको, तर राष्ट्रिय हित, एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने शक्ति नेकपा (एमाले) मात्रै रहेको तथ्य स्पष्ट पार्नुभयो । उहाँले मधेसी मोर्चामा आबद्ध मधेसवादी भनिने दलहरुको एक मधेस एक प्रदेशको हठ तथा जातिहरुको विकास राष्ट्रको हैसियतमा पुगिसकेको भन्ने माओवादीको अतिरञ्जनापूर्ण र गलत सर्वोच्चले मुलुकको एकता, सामाजिक सद्भाव र राष्टिय«ता कमजोर पार्ने प्रयत्न भइरहेकोप्रति सजग हुँदै खबरदारी गर्नसमेत आम पार्टीपंक्तिलाई आह्वान गर्नुभयो । उहाँले जोड दिनुभयो – ‘हामी साझा वा बहुजातीय पहिचानका आधारमा प्रदेशहरु निर्माण गरी अघि बढ्नुपर्छ ।’ राज्य पुनःसंरचनाको सम्बन्धमा कतिपय विषयमा पार्टीले समयमै निर्णयमा पुग्न नसक्नु कमजोरी रहेकोमा त्यसप्रति आत्मालोचना गरेको पनि उहाँले प्रष्ट्याउनु भयो ।
भेलाले आगामी कामका योजना निम्नबमोजिम पारित गरेको छ
 आगामी श्रावण १५ सम्म पाँचवटै विकास क्षेत्र, सबै जिल्ला र निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला र सबै तहका पार्टी कमिटी र जनसङ्गठनका बैठकको आयोजना गर्ने । उक्त भेलामा संविधानसभा विघटनपछिको स्थिति, संविधान निर्माण र राज्यको पुनसंरचना संवन्धी पार्टीको प्रस्ताव तथा सर्वसत्तावाद विरुद्धको संयुक्त संघर्षका सन्दर्भमा पार्टीले अघि सारेको नीति, प्रस्ताव र योजनाका वारेमा छलफल चलाउने ।
 सर्वसत्तावाद विरुद्धको आन्दोलनका लागि व्यापक लोकतान्त्रिक एकतामा आवद्ध राजनीतिक दलहरुको सहभागितामा जिल्ला स्तरिय संयन्त्र निर्माण गर्ने र योजनावद्ध रुपमा केन्द्रीय कार्यक्रमसंग संयोजन मिलाउँदै आन्दोलनका संयुक्त कार्यक्रमहरु अघि बढाउने ।
 राष्ट्रिय प्रतिनिधि परिषदको वैठकबाट पारित पार्टीको आन्तरिक एकता सुदृढिकरण प्रस्ताव र पार्टीको वैधानिक व्यवस्थाका आधारमा स्थानिय तहका अन्तरविरोधहरुको समाधान गर्ने र पार्टीलाई एकतावद्ध बनाउने ।
 पार्टी विरुद्ध फैलाइएको आरोप र भ्रमहरुको निवारणको लागि योजनावद्ध पहल अघि बढाउने । यस सन्दर्भमा आषाढ मसान्तसम्ममा पार्टी केन्द्रबाट विशेष सामग्री प्रकाशित गरिने छ ।
 सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर पुग्ने खालका गतिविधिहरु बढ्दै गइरहेको वर्तमान सन्दर्भमा एकता र सद्भावको पक्षमा प्रत्येक जिल्ला कमिटी, जनसङ्गठन लगायतले जागरण अभियान संचालन गर्ने । त्यस्ता कार्यक्रमहरु सबै वर्ग, क्षेत्र र समुदायको सहभागितामा सम्पन्न गर्ने कुरामा अग्रसरता लिने ।
 संक्रमणकाल लम्विदै जाँदा उत्पीडित वर्ग, समुदायका समस्या र सामाजिक विभेदका विषयहरु ओझेलमा पर्दै गएको यथार्थतालाई मनन गर्दै स्थानीय कमिटीहरुको अग्रसरतामा वर्गीय उत्पीडन, सामाजिक विभेद, कुप्रथा र परम्पराका विरुद्ध जागरण अभियान संचालन गर्ने ।
 काम चलाउ सरकारका स्वेच्छाचारी, असंवैधानिक काम र क्रियाकलाप तथा भ्रष्टआचरणका विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने ।
 एमाओवादीको उग्रवामपन्थ र सर्वसत्तावादका विरुद्धमा विरोध र भण्डाफोर अभियान संचालन गर्ने । उनीहरुका गलत काम र क्रियाकलापका कारणले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर परिरहेको यथार्थप्रति जनसाधारणलाई सचेत र जागरुक बनाउने ।
 वर्तमान असंवैधानिक सरकारका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू वहिस्कार गर्ने ।
भेलाको अन्त्यमा पार्टी सचिवालय सचिव कमरेड विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत १८ सूत्रीय समसामयिक प्रस्तावहरु भेलाले गड्गडाहट तालीका साथ पारित गर्‍यो । र, एमाओवादी सर्वसत्तावादका विरुद्ध एकताबद्ध भई आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने संकल्प गरी भेला समापन भयो ।
पारित प्रस्तावहरु यसैसाथ संलग्न छन्

६ असार २०६९ विष्णुप्रसाद पौडेल
सचिव
केन्द्रीय सचिवालय

समसामयिक प्रस्तावहरु

क) राजनीतिक प्रस्ताव
१ यो भेला, वर्तमान राजनीतिक सङ्कटको मुख्य कारकको रूपमा रहेको एकीकृत माओवादीको सर्वसत्तावाद रहेको ठहर गर्दछ । उसका षड्यन्त्रकारी योजना र वास्तविकतालाई ढाकछोप गर्न उसले गरिरहेका कुप्रचारहरूको खण्डन, प्रतिवाद गर्दै आम जनसमुदायलाई त्यसको वास्तविकता अवगत गराउने सङ्कल्प गर्दछ ।
२ यो भेला, राजनीतिक सहमतिका आधारमा संयुक्त सरकार निर्माण गर्दै राजनीतिक र संवैधानिक सङ्कटको निकास खोज्न, जनआन्दोलनबाट प्राप्त उपलव्धिको रक्षा गर्न र जनआकाङ्क्षाअनुसार संविधान निर्माणको प्रक्रिया अविलम्व अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्दछ ।
३ यो भेला, लोकतान्त्रिक राष्ट्रिय एकतामा आवद्ध हुन लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक सद्भाव एवं राष्ट्रिय एकताका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई हार्दिक आह्वान गर्दछ । सर्वसत्तावाद विरोधी आन्दोलनलाई अझ सशक्त बनाउन अपिल गर्दछ । साथै, एकीकृत नेकपा (माओवादी) लाई यस मुलुकलाई थप धु्र्रवीकरण एवं मुठभेडको अवस्थामा पुग्न नदिन तथा बिथोलिएको सहमतिको प्रक्रियालाई सुचारु गर्दै सहमतिको सरकार गठनका निम्ति तयार हुन आह्वान गर्दछ ।
४ यो भेला, नेकपा (एमाले) का विरुद्ध सङ्घीयता र पहिचान विरोधी भनेर प्रायोजित र पूर्वाग्रही ढङ्गले गरिंदै आएको कुप्रचारलाई अस्वीकार र भ्रत्र्सना गर्दछ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता अनुरूप, पहिचान र सामथ्र्यको सन्तुलनमा आधारित नेपाली विशेषता सहितको सङ्घीय ढाँचाको पक्षमा दृढता व्यक्त गर्दछ । पहिचानका नाममा बढाउन थालिएको जातीय विद्वेष र सामाजिक तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने सङ्कल्न गर्दछ ।
५ यो भेला लोकतान्त्रिक गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको पूर्णता, राज्यको लोकतान्त्रिक अग्रगामी पुनर्संरचना, सामाजिक न्याय सहितको लोकतन्त्रको प्रत्याभूति, सामाजिक एकता र जातीय सद्भावको सुदृढीकरण एवं राष्ट्रिय हितको रक्षा यतिबेलाका मुख्य वैचारिक–राजनीतिक प्रश्न हुन् । सबल, सशक्त र एकतावद्ध पार्टी एवं जनताको वहुदलीय जनवादको स्पष्ट वैचारिक कार्यदिशाका आधारमा मात्रै यी कामहरू संभव छन् भन्ने मान्यतामा दृढ रहँदै पार्टीलाई एकतावद्ध र सुदृढ गर्दै मुख्य वैचारिक प्रश्नमा सम्पूर्ण पार्टी पंक्तिको ध्यान केन्द्रित गर्ने सङ्कल्प गर्दछ ।
६ यो भेला, विगतका कामहरुको वस्तुनिष्ठ र गंभीर समीक्षाले मात्रै हामीलाई नयाँ चुनौतीको सामना गर्न सक्षम तुल्याउनेछ भन्ने निष्कर्सका साथ उपयुक्त विधि र प्रकृयाद्वारा यी काम सम्पन्न गरेर समीक्षा प्रतिवेदन सहित यथासक्य चाँडो सिङ्गो पार्टी पङ््क्ति समक्ष उपस्थित हुने र त्यसका आधारमा सिंगो पार्टीलाई एकतावद्ध, सशक्त र प्रभावकारी बनाउने सङ्कल्प गर्दछ ।
७ यो भेला, पार्टीको आन्तरिक एकता सम्बन्धी राष्ट्रिय प्रतिनिधि परिषदको वैठकले लिएका निर्णयका आधारमा वर्तमान चुनौतीको सामना गर्न पार्टीमा अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने सङ्कल्प गर्दछ ।
८ यो भेला, यस राष्ट्रिय कार्यकर्ता भेलाका सुझाव सहित स्वीकृत गरेका कार्यक्रम र कार्ययोजनाका आधारमा जनआन्दोलनको दिशामा अघि वढ्न र त्यसका माध्यमवाट माओवादी सर्वसत्तावादलाई परास्त गर्दै लोकतन्त्रलाई माओवादी चङ्गुलबाट मुक्त गर्ने र मुलुकलाई सहमतिको दिशामा फर्काउने सङ्कल्प गर्दछ ।

ख) सामयिक प्रस्ताव
९ यो भेला, आफैले गरेको कथित निर्वाचनको घोषणा र निर्वाचन आयोगले जारी गरेको आचार संहिताको समेत धज्जी उडाउँदै स्वेच्छाचारी ढंगले शासन चलाउन खोज्ने वर्तमान सरकारको सर्वसत्तावादी कुकृत्यको भत्र्सना गर्दछ । साथै, निर्वाचन आचार संहिता जारी भइसकेको अवस्थामा स्वेच्छाचारी ढंगले प्रहरी अधिकृतहरू तथा कर्मचारीहरूको व्यापक सरुवा गर्ने सरकारको गैरजिम्मेवार, विधिको शासन विरुद्धको स्वेच्छाचारी कदमको निन्दा, भत्र्सना र अस्वीकार गर्दछ । ती अनाधिकृत निर्णयहरूलाई अविलम्व खारेज गर्न माग गर्दछ ।
१० राजनीतिक दलहरुको व्यापक विरोध हुँदाहुँदै देशलाई सङ्कटग्रस्त तुल्याएर जम्बो टोलीका साथ ब्राजिलको भ्रमणमा जाने प्रधानमन्त्री बाबुराम भट्टराईको स्वेच्छाचारी र गैरजिम्मेवार कार्यको यो भेला भत्र्सना गर्दछ । शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूमाथि काम चलाउ सरकारको आदेशमा सुरक्षा निकायबाट गरिएको सांघातिक आक्रमणको यो भेला विरोध र निन्दा गर्दछ । उक्त आक्रमणमा परी घाईते भएका आन्दोलकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
११ नेकपा (एमाले) समेतका राजनीतिक दलहरूद्वारा खुल्लामञ्चमा आयोजित जेठ २६ गतेको विरोधसभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा सरकारले नेपाल टेलिभिजनका का.मु. महाप्रबन्धक दीपकमणि धिताललाई पदमुक्त गरेको घटनाप्रति नेकपा (एमाले) को गंभीर ध्यानाकर्षण भएको छ । सरकारको यस्तो तानाशाही कदम संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस विरोधी कदम हो । यो भेला सरकारको उक्त तानशाही कार्यको घोर भत्र्सना गर्दछ र यस्तो स्वेच्छाचारी र सर्वसत्तावादी निर्णय तत्काल खारेज गर्न माग गर्दछ ।
१२ निर्वाचन आचार संहिता तथा लोकतान्त्रिक प्रणालीका आम मान्यता विपरीत कामचलाउ सरकारले कमिसनको प्रलोभनमा हचुवाको भरमा ठूला र दुरगामी महत्वका आयोजनाहरु अघि वढाउने, विधि र प्रक्रिया मिचेर ठेक्का–पट्टा स्विकृतगर्ने तथा मनपरी किसिमले भ्रष्टाचारजन्य नयाँ–नयाँ निर्णयगर्ने कार्यको यो भेला तीब्र विरोध र निन्दा गर्दछ । ती आचार संहिता विपरीतका र भ्रष्टाचारजन्य क्रियाकलाप विरुद्ध कार्वाहीको प्रकृया अघि वढाउन सम्वन्धित निकायको ध्यानकर्षण गर्दछ ।
१३ सङ्घीय इकाइहरूको नामाकरण लगायतका केही प्रश्नहरूमा असन्तुष्टि जनाउँदै केही कमरेडहरु विगत केही समयदेखि औपचारिक जानकारी विना पार्टीका नियमित बैठक, भेला र कार्यक्रमहरूमा अनुपस्थित रहँदै आउनु भएको छ । यो भेला, आफ्ना मतहरूलाई विधिसम्मत ढङ्गले पार्टीमा राख्न, अन्तरपार्टी छलफलको प्रकृयामा सहभागी वन्न, समस्याको लोकतान्त्रिक समाधान खोज्न र मुलुकका सामु उपस्थित भइरहेको बहुआयामिक सङ्कटको समाधानमा एकतावद्ध भएर जिम्मेवार भूमिका खेल्न उहाँहरुलाई हार्दिक आह्वान गर्दछ ।
१४ नेपाली जनता विच शताव्दियौ देखि कायम रहदै आएको सामाजिक सद्भाव र एकतालाई विथोल्ने, अस्थीरता र अन्योल सिर्जना गर्ने, नेपालको स्वाधीनता र अखण्डतामा आँच पुग्ने किसिमका क्रियाकलापहरुलाई वढवादिने गरी अभिव्यक्ति दिने तथा त्यस्ता किसिमका क्रियाकलापमा संलग्न रहने कुनै पनि विदेशीहरुका अवान्छित गतिविधिप्रति यो भेला गंभीर आपत्ति गर्दछ । त्यस प्रकारका क्रियाकलाप नियन्त्रणगर्न सम्वन्धित निकायको ध्यानाकर्षण गर्दछ ।
१५ भारतका पूर्वोत्तर राज्यहरुमा नेपाली भाषाभाषीहरु माथि विगत लामो समय देखि हत्या, हिंसा र उत्पीडनका घटनाहरु हुदै आएका छन् । पछिल्लो समयमा स्थानीय समुदायको अधिकार स्थापितगर्ने नाममा ती राज्यहरुमा वसोवासगर्ने नेपालीभाषीहरुलाई विस्थापनगर्ने कार्यलाई तिव्र वनाइएको छ । यो भेला,पूर्वोत्तर भारतमा नेपाली भाषिहरु माथि भइरहेको अमानविय व्यवहारप्रति गहिरो चिन्ता प्रकट गर्दै समस्याको समाधानका लागि प्रभावकारी भूमिका खेल्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
१६ संविधानसभाको विघटनसंगै निर्वाचित जनप्रतिनिधि निकाय नभएको वर्तमान स्थितिमा अन्तरिम संविधानको धारा ४३ को मर्म र भावनालाई वेवास्तागर्दै राजनीतिक दलहरुको सहमती विना अध्यादेश मार्फत शासन संचालनगर्ने सर्वसत्तावादी र निरंकुश प्रवृत्तिको यो भेला, घोर निन्दा तथा भत्र्सना गर्दछ । राजनीतिक सहमति विना जारीहुने अध्यादेशप्रति नेकपा(एमाले)को सहमति नरहने कुरा स्पष्ट गर्दछ ।
१७ हाम्रो देशको ७६ प्रतिशतभन्दा बढी जनताको जिविकोपार्जनको आधार कृषि क्षेत्र रहेको र ६६ प्रतिशतभन्दा बढी जनताको रोजगारीको माध्यम कृषि क्षेत्र बनेको छ । यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ३२ प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको तथ्य सबैमा विदितै छ ।
तर नेपाली किसानहरुले खेतिपातीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका बेला रासायनिक मलको अभावमा किसानहरु आक्रान्त बन्नुपरेको छ । यस स्थितिप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । समयमै रासायनिक मलको सुलभ आपूर्ति गर्नु, आवश्यक बिउ–बिजन, सिंचाई र विद्युतको उपलब्धतासहित कृषकहरुको उचित संरक्षण गर्नु सरकारको जिम्मेवारी हो । तसर्थ, यो भेला समयमै रासायनिक मलको अविलम्ब सहज व्यवस्था गरी किसानलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछ ।
१८ राष्ट्रिय कार्यकर्ता भेलाको सफल आयोजनाका लागि व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेकोमा यो भेला, उपत्यका विशेष समन्वय कमिटीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यसरी नै यस भेलाको सफलताका लागि आ आफ्नो ठाउवाट सहयोग पुर्याउने केन्द्रिय कार्यालयको सचिवालय टिम, वहसनोट कमिटी, स्वयम्सेवक कमरेडहरु, जनसांस्कृतिक कलाकारहरु लगायत सवैलाई धन्यवाद ज्ञापन गर्दछ । साथै यस महत्वपूर्ण कार्यक्रमका लागि सभागृह उपलव्ध गराएकोमा राष्ट्रिय सभागृह व्यवस्थापन समितिलाई समेत धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया