दुवै महाशक्ति स्पेन र इटाली क्वार्टरफाइनलमा

किभ, ६ असार । विश्व फुटबलका दुई महाशक्ति स्पेन र इटाली युरोकप फुटबल २०१२ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनल प्रवेशको क्रममा सोमबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन तथा विश्वविजेता स्पेनले क्रोएसियालाई
१–० ले पराजित गर्‍यो ।
यसैगरी, इटालीले आयरल्यान्डविरुद्ध २–० को जित हात पार्‍यो । यी दुवै महाशक्तिलाई जिताउन गोलरक्षक स्पेनका इकेर कासिलास तथा इटालीका गियानलुका बुफोंको महत्त्वपूर्ण योगदान रह्यो । सात अंकसहित स्पेन समूहमा शीर्ष स्थानमा रह्यो भने इटाली पाँच अंकसहित क्वार्टरफाइनल प्रवेश गर्न सफल रह्यो । क्रोएसिया चार अंकसहित तेस्रो स्थानमा रह्यो भने आयरल्यान्ड तीनवटै खेलमा पराजित भयो । क्वार्टरफाइनलमा स्पेनले समूह ‘डी’को उपविजेता तथा इटालीले विजेता टोलीसँग खेल्नेछ ।
विश्व च्याम्पियन स्पेनले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी जेसस नाभासले गोल गरे । अर्का वैकल्पिक खेलाडी सेस फाब्रिगासले गोलको अवसर सिर्जना गरेका थिए । फाब्रिगासले बनाएको मुभमा आन्द्रेइ इनियस्टाले बल दिएपछि नाभासले गोल गरे । ‘हामीले खेलमा दबाब राख्यौं तर पनि समग्रमा खेल चित्त बुझ्दो भएन,’ स्पेनका प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले भने ।
पहिलो चरण पार गर्न जित आवश्यक रहेको क्रोएसियाका इभान र्‍याकेटिक दोस्रो हाफको सुरुवातमै राम्रो अवसरबाट चुकेपछि क्रोएसिया पंक्ति थकथकाएको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा सर्जियो बास्क्युटले भेड्रान कोर्लुकालाई गोल पोस्टको दुई मिटरअघि लडाए पनि पेनाल्टी नपाएपछि क्रोएसिया अभागी सावित भएको थियो ।
पराजयपछि ६ वर्ष क्रोएसियाको राष्ट्रिय टोली सम्हालेका स्लाभन बिलिकले रुसी क्लब लोकोमोटिभ मस्को सम्हाल्ने भएका छन् । ‘यो साँच्चै कठिन खेल थियो । उनीहरूले राम्रो खेले र रक्षापंक्तिले गोलको अवसर सिर्जना गर्ने मौका नै त्यत्ति दिएनन्,’ गोलकर्ता नाभासले भने । पहिलो मिनेटमै फर्नान्डो टोरेजले हेड अवसर पाए पनि गोल नभएपछि स्पेनले बल माथि नियन्त्रण राखेको भए पनि क्रोएसियाको रक्षापंक्ति भत्काउन सकेन ।
अर्को खेलमा इटालीले अग्रता लिएपछि क्रोएसिया आक्रामक भएको थियो । क्रोएसियाले खेल नीति परिवर्तन गर्नेबित्तिकै लुका मोड्रिकको पिनप्वाइन्ट क्रसमा र्‍याकिटिकले हेड अवसर पाएका थिए । उनको प्रहारलाई कासिलासले मुस्किलले बचाएका थिए । ‘हाम्रो खेल नीति पहिलो हाफमा स्पेनलाई रोक्ने र दोस्रो हाफमा आक्रमण गर्ने थियो । खेल नीतिमा सफल भए पनि परिणाममा भएनौँ,’ क्रोएसियाका प्रशिक्षक बिलिकले भने ।
इटालीका लागि एन्टेनियो कासानो र मारियो ब्यालाटोलीले गोल गरे । एन्टेनियो कासानोले पहिलो हाफमा दिलाएको अग्रताका कारण उत्साही इटालीका लागि ९०औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका ब्यालाटोलीले कर्नरमा एक्रोब्याटिक प्रहार गर्दै गोल गरे । यसको एक मिनेटअघि केविथ एन्ड्रयुसजले रातो कार्ड पाएपछि अन्तिम एक मिनेट आयरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । अन्तिम २० मिनेट मैदानमा आयरल्यान्ड हाबी भए पनि गोलरक्षक बुफोंले केही राम्रा बचाउ गरे ।
यसअघिका दुई खेलमा भन्दा केही सुधारिएको आयरल्यान्डले बारम्बार इटालीलाई दबाब दिए पनि केही अनावश्यक स्थानमा दिएको पास र केही गलत निर्णयका कारण इटालीलाई धक्का दिन असमर्थ रह्यो । तथापि, आयरल्यान्डका प्रशिक्षक गियोभानी ट्रापाटोनीले आफ्नो टोलीले धरै राम्रो खेलेको बताए । ‘स्पेन र क्रोएसियासँगको खेलभन्दा हामीले धेरै राम्रो खेल्यौं, यो रात हामीले दुई गल्ती गर्‍यौं, जुन हुनु नपर्ने थियो,’ उनले भने ।
ब्यालोटेलीलाई बेन्चमा राख्दै पहिलो रोजाइमा पर्ने अवसर पाएका एन्टोनियो डि नाटालेले तीनपटक राम्रो प्रहार गरे पनि आयरल्यान्डका अन्तिम रक्षक रिचार्ड डयुन र सेन्ट लेजरले बचाए । एजेन्सी

समर्थकको उपद्रोले क्रोएसियाली फुटबल संघलाई जरिवाना
वार्सा : राष्ट्रिय टोलीका समर्थकले रंगभेदी व्यवहार गरेको आरोपमा युरोपेली फुटबल महासंघ
(युएफा)ले क्रोएसियाली फुटबल संघलाई ८० हजार युरो जरिवाना गरेको छ ।
युरोकप २०१२ मा समूह ‘सी’ अन्तर्गत सोमबार इटालीविरुद्धको खेलमा क्रोएसियाका समर्थकले रंगभेदी नारा लगाएको जनाइएको छ । यस क्रममा क्रोएसियाका समर्थकले रंगभेद जनाउने संकेत गरेको पनि युएफाको भनाइ छ ।
स्पेनविरुद्ध २–० ले पराजित हुँदै क्रोएसिया पहिलो चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा आयरल्यान्डलाई हराएको क्रोएसिया दोस्रो खेलमा इटालीसँग बराबरी खेले पनि क्वार्टरफाइनल प्रवेश गर्न सकेन । यसअघि अनुशासनविपरीत अन्डरवेयर देखाएर लोगोमार्फत कम्पनीको विज्ञापन गरेको भन्दै युएफाले डेनमार्कका स्ट्राइकर निक्लस बेन्टनरलाई १ लाख युरो जरिवाना गरेको थियो ।
प्रशिक्षकको समर्थनमा डच खेलाडी
एम्सटर्डम : समर्थक र सञ्चारमाध्यमको आलोचनाका बाबजुद युरोकपमा खराब प्रदर्शन गरेको नेदरल्यान्ड्सका प्रशिक्षक बर्ट भान मर्जविकको खेलाडीहरूले बचाउ गरेका छन् । विश्वकप २०१० को उपविजेता नेदरल्यान्ड्सले जर्मनी, डेनमार्क र पोर्चुगलसँग पराजयको सामना गरेको थियो । निरास टोली एम्सटर्डम आइपुगिसकेको छ र पराजयका बारे छलफल सुरु भइसकेको छ ।
३५ वर्षीय मार्क भान बोमेललाई प्रतिस्थापन गर्दै डच टोलीको कप्तान बन्ने तरखरमा रहेका प्लेमेकर वेस्ली स्नाइडरले पराजयमा प्रशिक्षक मात्र दोषी नरहेको बताए । ‘हामीले उनलाई दोष दिन मिल्दैन । उनकै प्रशिक्षणमा हामी दुई वर्षअघि विश्वकपको फाइनलमा प्रवेश गरेका हौं,’ स्नाइडरले भने । ‘हाम्रो टोलीमा केही समस्या भने निश्चितै छ, खेलाडीहरूले सञ्चारमाध्यममा खेल नीतिसम्बन्धी गोप्यता भंग गर्नु सबैभन्दा गम्भीर कुरा हो,’ स्नाइडर बताउँछन् ।
विश्वकप उपविजेता भएपछि महारानी बियाट्रिसबाट सम्मानित ६० वर्षीय मर्जविकको सम्झौता अझ चार वर्ष बाँकी छ । डच फुटबल संघ पनि २०१४ को विश्वकप र त्यसपछिको युरोकपका लागि उनी नै उपयुक्त प्रशिक्षक भएकामा ढुक्क थियो । तर, युक्रेनमा डेनमार्कसँग पनि पराजित भएपछि त्यहाँका सञ्चारमाध्यम आक्रोशित हँुदै मर्जविकको बर्खास्तगी अनिवार्य रहेको एकमत व्यक्त गरिरहेका छन् । (एजेन्सी)
गोलपछि ब्यालोटेलीको मुख थुनियो
युरोकप २०१२ अन्तर्गत समूहको अन्तिम खेलमा आयरल्यान्डविरुद्ध इटालीका मारियो ब्यालोटेली अन्तिम १५ मिनेटमात्र खेल्न पाए । यस क्रममा २१ वर्षीय ब्यालोटेलीले अन्तिम समयमा आकर्षक भली गोल गर्दै टोलीमा आफ्नो औचित्य पुष्टि गरे । प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे पनि उनले कुनै ‘सेलिब्रेसन’ गरेनन्, केही बोल्न लागेका थिए तर पूरा गर्न पाएनन् । इटालीका लिओनार्दो बोनुच्चीले बोल्न सुरु गरेलगत्तै ब्यालोटेलीको मुख बन्द गरिदिए । तर, किन गरियो त ब्यालोटेलीको मुख बन्द ?
खेलपछि बोनुच्चीले रिसाहा प्रकृतिका ब्यालोटेलीले गोल गरेको खुसियालीमा अपशब्द बोल्न सक्ने आशंकामा उनको मुख बन्द गरिदिएको बताए । ‘उसले अंग्रेजीमा केही बोल्यो, त्यो मैले केही बुझिनँ तर ऊ रिसाहा स्वभावको भएकाले मलाई लाग्यो, त्यसको मतलब पक्कै पनि राम्रो थिएन । त्यसैले उसलाई कारबाही हुनबाट बचाउन मैले मुख बन्द गरिदिएँ ।’ समूहका अघिल्ला दुई खेलमा सुरुवातबाटै खेलेका ब्यालोटेली सोमबार आयरल्यान्डविरुद्ध भने पहिलो ११ सदस्यीय टोलीमा परेनन् । आफ्नो स्थानमा खेलेका नाटालेलाई प्रतिस्थापन गरी ब्यालोटेली दोस्रो हाफमा प्रवेश गरेका थिए । उनलाई मैदान छिराइनुअघि इटाली समर्थकले रंगशाला नै गुन्जिने गरी ब्यालोटेलीको माग गरेका थिए । आयरल्यान्डलाई
२–० ले हराएर इटालीले अन्तिम आठ यात्रा तय गरेको हो ।

प्रतिक्रिया