श्रीदेवीको टुटेफुटेको अंग्रेजी

मुम्बई : भर्खरैको एक फिल्मी समारोहमा बलिउड अभिनेत्री श्रीदेवीले टुटेफुटेको अंग्रेजी बोलेपछि उनका प्रशंसक उदेकमा परे । त्यति मात्र होइन, उनले निर्माता–निर्देशकको नाम पनि एउटी अनपढ महिलाले जसरी बिगारेर उच्चारण गरिन् । तर, प्रशंसकले जब यथार्थ थाहा पाए, उनीहरूले खुसी व्यक्त गरे ।
लामो समयदेखि चलचित्रमा नदेखिएकी उनले खासमा एउटा चलचित्रको डाइलग बोलेकी रहिछन्, जसमार्फत उनी बलिउडमा पुनरागमन गर्दै छिन् । निर्माता आर बाल्की तथा निर्देशक गौरी सिन्देले चलचित्र इंग्लिस विंग्लिसबाट उनलाई बलिउड फर्काउन लागेका हुन् । सोही चलचित्रको डाइलगको एउटा नमुना उनले प्रस्तुत गरेकी थिइन् । चलचित्रको दर्तापछि प्राप्त भएको सर्टिफिकेट उनलाई पढ्न लगाइएको थियो । उनी आफ्नो अभिनय र नयाँ भूमिकाप्रति अहिल्यैदेखि यति डुब्न थालेकी छन् कि सर्टिफिकेटमा उल्लेख निर्माता–निर्देशकको नाम पनि बिगारेर उच्चारण गरिन् । चलचित्रमा उनी पतिलाई खुसी पार्न अंग्रेजी सिक्ने महिलाको भूमिकामा छिन् । (एजेन्सी)

प्रतिक्रिया