नेपाल यमनद्वारा पराजित

काठमाडौं, ५ असार । एसियाली फुटबल महासंघ (एएफसी) यु–२२ च्याम्पियनसिपको छनोटमा नेपाल सोमबार यमनविरुद्ध १–० ले पराजित भएको छ । समूह ‘डी’ अन्र्तगत दुई दिनअघि बंगलादेशविरुद्ध गरेको प्रदर्शनलाई नेपालले कायम राख्न सकेन । खेलमा दबाबपूर्ण प्रदर्शन गरे पनि मिडफिल्डरले कमजोर प्रदर्शन गरेपछि घरेलु टोली नेपाल गोल गर्न असफल भएको थियो ।
खेलभर एउटा मात्र आकर्षक मुभ बनाएको यमन त्यसैलाई उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई हराउन सफल भयो । २९ आंै मिनेटमा यमनका सद्दाम हुसनले गरेको गोलले नेपाली टोलीको आक्रामक गति कम गरेको थियो । एसाम अल ओराफीले आकर्षक रूपमा डि–बक्सभित्र बल अगाडि बढाउँदै निकालिदिएको क्रसमा हुसेनले सजिलै गोल गरेका थिए ।
५० औं मिनेटमा नेपाली डिफेन्डर रोहित चन्दले ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्किंदा घरेलु टोली बराबरीमा फर्कन सकेन । यसबाहेक नेपाली खेलाडीले गोल हुन लायक प्रहार गर्न सकेनन् र उल्लेखनीय ‘मुभ’ बनाउन पनि चुके । नेपाली मिडफिल्डरले तालमेल मिलाउन सकेनन् ।
मिडफिल्डर जगजित श्रेष्ठ, शिव श्रेष्ठ आदिको प्रदर्शन कमजोर रह्यो भने दोस्रो हाफमा मैदान प्रवेश गरेका अमिर श्रेष्ठले पनि आफुस्तरको प्रदर्शन गर्न सकेनन् । नेपाली मिडफिल्डर स्ट्राइकरलाई अवसर मिलाइदिन भन्दा डि–बक्सभन्दा बाहिरबाट बल प्रहार गर्नमै व्यस्त देखिए । यसै कारण लगातार दबाब सामना गरे पनि यमनका गोलकिपर एसाम अल हाकिमीलाई पनि कमै दबाब पर्‍यो । नेपालले गरेका प्राय: आक्रमण फ्रेमभन्दा निकै टाढाबाट गएका थिए ।
‘सोचेभन्दा फरक नतिजा आयो,’ हारपछि नेपाली टोलीका प्रशिक्षक कृष्ण थापाले भने, ‘हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरे, टोलीले मिहेनत गर्‍यो तर फिनिसिङमा हामी चुक्यौं । मिडफिल्डरले कमजोर प्रदर्शन गरे ।’ उनले पहिलो खेलमा झैं खेलाडीले तालमेल नगरेको स्विकारे । नेपालले ‘सजिलै’ गोल सामना गरेपछि यमनको मनोबल एक्कासी बढेको प्रशिक्षक थापाको प्रतिक्रिया थियो ।
खेलको सुरुवातमै नेपालले गोलको अवसर पाएको थियो तर डिफेन्डर रोहितको हेड प्रहारले गोलपोस्टको फ्रेम समात्न सकेन । छैटौं मिनेटमा जगजितले गरेको कर्नर प्रहारमा ‘अनमार्क’ रोहितको हेड प्रहार साइड बारभन्दा निकै टाढाबाट बाहिरियो । २१ औं मिनेटमा यमनका लागि यासेर अल गब्रले गरेको फ्रिकिक प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा छ । एक खेल खेल्दै तीन अंक जोडेको जोर्डन गोल अन्तरमा नेपालभन्दा अगाडि छ । पहिलो खेलमा जोर्डनविरुद्ध ४–० ले पराजित यमनको पनि तीन अंक भयो ।
नेपाली टोलीका प्रशिक्षक थापा नेपाल छनोट हुने सम्भावना अझै बाँकी रहेको बताउँछन् । ‘हामीले अझै दुई खेल खेल्न बाँकी छ ।’ थापाले भने, ‘खेल्न बाँकी रहेका टोलीको प्रदर्शन हेर्दा उनीहरू हामीजत्तिकै छन् । त्यसैले उनीहरूविरुद्ध हामी जित हात पार्न सक्छौं ।’ उनले बाँकी दुवै खेलमा आक्रामक खेल्ने बताए । जोर्डन र उज्वेकिस्तानविरुद्ध नेपालले खेल्न बाँकी छ । आगामी बुधबार नेपाल उज्वेकिस्तानविरुद्ध भिड्नेछ । यसअघि सोमबार नै भएको पहिलो खेलमा उज्वेकिस्तानले बंगलादेशलाई २–१ ले पराजित गर्‍यो । लगातार दोस्रो खेलमा पराजित भएपछि बंगलादेश छनोटबाटै बाहिरिने सम्भावना बलियो भएको छ । ७४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरी गादोएभ सोरुहले उज्वेकिस्तानलाई कठिन जित दिलाए । खेलभर रक्षात्मक प्रदर्शन गरेको बंगलादेशविरुद्ध सोरुहले करिब ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार फस्ट बारमा गोल भयो । बंगलादेशका गोलकिपर सइदुल आलमले बल रोक्ने प्रयास गरे पनि हातबाट फुुत्किँदै साइड बारमा ठोकिएर गोल भएको थियो । यसअघि ४० औं मिनेटमा अग्रता लिएको उज्वेकिस्तानविरुद्ध बंगलादेश पेनाल्टीमार्फत गोल गरी ५५ औं मिनेटमा बराबरीमा पुगेको थियो ।

प्रतिक्रिया