महिनामा बोक्सीका सात घटना

काठमाडौं, ५ असार । नेपालमा हरेक महिना सात महिला बोक्सीका आरोपमा हिंसामा पर्ने गरेका छन् । सामाजिक अगुवासमेतको संलग्नमा प्राय: असहाय महिलालाई बोक्सीको आरोपमा कुटपिट, मलमूत्र सेवन, घर तथा गाउँ निकाला, आँखा तथा योनिलगायत संवेदनशील अंगमा लठ्ठी घोचेर अंगभंग र अन्य शारीरिक तथा मानसिक हिंसा हुने गरेको छ ।

महिला पुन:स्थापना केन्द्रका अनुसार वैशाख ०६८ देखि फागुनभित्र ९२ महिलालाई बोक्सीको आरोपमा विभिन्न हिंसा गरिएको छ । भैँसीले दूध नदिँदा, मान्छे बिरामी पर्दा, खाना रुच्न छाड्दा, बाली नसप्रिँदा महिलामाथि यातना दिने गरिएको छ । प्राय: दलित, गरिब, पति गुमाएका, पति बाहिर भएका, सामाजिक, आर्थिक रूपमा कमजोर र पहुँचमा नपुगेका महिला बोक्सी आरोपबाट प्रताडित हुने गरेको केन्द्रले जनाएको छ ।
२८ चैत ०६८ देखि देशव्यापीरूपमा महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको संयोजकत्वमा ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाका निम्ति महिला मञ्च, कृतिका अभियान, एक्सन एड नेपाल र केयर नेपालले संयुक्त रूपमा अभियान सुरु गरेका थिए । बोक्सी हिंसाविरुद्ध ६० दिने अभियान समापनका अवसरमा सोमबार बोक्सी आरोप लगाई महिलामाथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानुनको अविलम्ब व्यवस्था गरिनुपर्ने माग सरोकारवालाहरूले राखेका थिए ।

प्रतिक्रिया