दुर्गमका उत्कृष्टलाई उमाविमा आवासीय छात्रवृत्ति

काठमाडौं, ५ असार । अति दुर्गम १९ जिल्लाका सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई निजी उच्च माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको छात्रवृत्ति दिइने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् र उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)को सहकार्यमा सामुदायिक विद्यालयका जिल्ला प्रथम हुने विद्यार्थीलाई आवासीय सुविधासहित छात्रवृत्ति दिइने भएको हो ।
परिषद्को छात्रवृत्ति निर्देशिकाअनुसार निजी सामुदायिक उच्चमाविले परिषद्को सिफारिसमा सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका तीन प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । तर, यो वर्षदेखि अति दुर्गम जिल्लाका प्रथम विद्यार्थीलाई आवासीय सुविधा दिने व्यवस्था गरिएको हो । अति दुर्गममा कर्णालीका पाँचलगायत जिल्ला पर्छन् ।
परिषद्का सदस्यसचिव भीमलाल गुरुङले सामुदायिक विद्यालयमा पढेका गरिब तथा जेहेनदार विद्यार्थीलाई सुविधा दिने प्रयत्नमा परिषद् लागिरहेको बताए ।
सम्बन्धन महाशाखा प्रमुख देवीप्रसाद बाराकोटीले निजामति सेवा ऐनअनुसार ‘क’ वर्गमा परेका जिल्लालाई विशेष सुविधा दिन लागिएको बताए । ४ असार र ३१ जेठमा बसेको परिषद् पदाधिकारी र हिसानका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
छात्रवृत्तिका विषयमा परिषद्ले यो वर्ष प्रावधान प्रिवर्तन गरेको छ । छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयको सिफारिस अनिवार्य भएको प्रावधान विद्यार्थीलाई सहज बनाउन हटाइएको छ । विद्यार्थीले अध्ययन गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकको सिफारिसमा समेत छात्रवृत्ति दिने व्यवस्था गरेको बाराकोटीले बताए । जनजाति, दलित र मधेसीका थरबाट स्पष्ट हुन नसक्नेको मात्र आधिकारिक निकायबाट प्रमाण पेस गर्नुपर्नेछ ।
यस वर्ष छात्रवृत्तिका लागि आवेदन फारम १४ वटै अञ्चलबाट वितरणको व्यवस्था मिलाइएको छ । बाराकोटीका अनुसार आवासीय सुविधासहित दस हजार विद्यार्थीले कक्षा ११ र १२ मा नि:शुल्क अध्ययनका लागि निजी उमाविमा छात्रवृत्ति पाउनेछन् ।

प्रतिक्रिया