शक्तिका लागि आणविक होड

दोस्रो विश्वयुद्धमा जापानविरुद्ध अमेरिकी युद्धका जलसैन्य प्रमुख– विलियम बुल हेल्सीलको भनाइमा जापानी सेनाविरुद्व भनेर गरिएको आणविक हमला अनावश्यक परीक्षण मात्र थियो । दोस्रो विश्वयुद्व लगभग अन्त्य हुन लागेको बेला अमेरिकाले सन् १९४५ अगस्ट ६ का दिन अमेरिकी बमवर्षक बिमान युएस बी–२९ ले जापानी सहर हिरोसिमामाथि ‘लिटिल ब्वाई’ नामक एउटा युरेनियम बम खसालेको थियो । निहत्था जनतामाथिको यो पहिलो आणविक अस्त्र परीक्षण गरेको तीन दिनपछि ९ अगस्टमा अमेरिकाले अर्को ºयाट म्यान नामक प्लुटोनियम बम जापानकै अर्को सहर नागासाकीमा खसाल्यो । यो आणविक हमलामा दुई लाखभन्दा बढी जापानीहरूको ज्यान गयो । दशौँ हजार घाइते अत्यन्त कष्टकर अवस्थामा पुगे कयौँ मरे । अमेरिकाले युद्वमा भित्र्याएको यो विनाशकारी आणविक हतियार अहिले त्याग्नुको सट्टा आºनो हातमा पार्न होडबाजी चलेको छ । यही अनावश्यक परीक्षणबाट सुरु भएको विनाशकारी आणविक हतियार दोस्रो विश्वयुद्वपछि दुई हजारभन्दा बढीपटक परीक्षण भइसकेको छ । समयसँगै अत्याधुनिक संस्करणमा आणविक हतियारहरू बनिसकेका छन्, जुन हतियारबाट कुनै पनि बेला हमला भएमा संसार आधाघन्टा नहुँदै खरानी बन्नेछ ।
बन्दुक, बारुद र बमको वीभिषिकाबाट विश्वले मुक्ति पाउने छाँट कतै देखिँदैन । शक्ति र आतंकको भोकले शक्ति राष्ट्रहरूलाई यसरी मताएको छ कि उनीहरू युद्धको शंखनादमा देखिन्छन् । मानव मूल्य खरानी बन्दै गएको छ । युद्धकथाहरू झन्झन् ताजा बनेर उपस्थित भएका छन् । समय एक्काइसौँ शताब्दी भए पनि मानव सभ्यतालाई नै चुनौती दिने खेलहरू बारम्बार भइरहेका छन् । अब विश्व राजनीतिमा आएको बहुध्रुवीय शक्तिसँगै परमाणु अस्त्रको होडबाजी सुरु भएको छ । विश्वभर १९ हजारभन्दा बढी विनाशकारी आणविक हतियारहरू भण्डार गरिएका छन् । आणविक हतियारमा शक्ति देख्ने प्रवृत्ति बढ्दो छ । अबको युद्व विनाशकारी आणविक युद्वमा रूपान्तरण हुने संकेतहरू देखापरिरहेका छन् । महाविनाशकारी जैविक, रासायनिक, परमाणु तथा भू–उपग्रहबाट सञ्चालन गर्न सकिने रेडियोधर्मी किरणहरू समेत मिसाइएका घातक आणविक हतियारहरू रणनीतिक स्थानहरूमा तयारी हालतमा राखिएका छन् । आणविक हतियारको रिमोट कुनैबेला थिचिएमा विश्व अप्रत्यासित विनाश हुनेछ । अब अत्याधुनिक संस्करणमा मिनिन्युक्स, बंकरबुस्टर तथा भू– उपग्रहबाटै प्रहार गर्न सकिने बमहरू बनिरहेका छन् । आणविक विकिरणको प्रभाव एउटा पुस्तालाई मात्र होइन, वंशानुगत प्रभाव पार्दछ भन्ने जानकारी हुँदाहुँदै पनि आणविक हतियारको निर्माण रोकिएको छैन बरु अत्याधुनिक संस्करणमा बनिरहेका छन् ।
अहिले विश्वका १४ देशसँग आणविक हतियार रहेको छ । जसमा रूससँग १० हजार, अमेरिकासँग आठ हजार पाँच सय, फ्रान्ससँग तीन सय, चीनसँग दुई सय ४० वटा, ब्रिटेनसँग दुई सय २५ वटा, पाकिस्तानसँग एक सयवटा, भारतसँग ९० वटा, जर्मनीसँग २० वटा, इटालीमा अमेरिकी सैन्य अखडामा उनीहरूकै नियन्त्रणमा ३० वटा, नेदरल्यान्डमा अमेरिकी सैन्य अखडामा उनीहरूकै नियन्त्रणमा २० वटा आणविक हतियार भण्डार गरिएको छ भने टर्कीमा अमेरिकाले ९० वटा आणविक हतियार भण्डार गरेको छ । उत्तर कोरियासँग १० वटा र इरानसँग चारवटा विनाशकारी आणविक हतियार रहेको अनुमान गरिन्छ । शीतयुद्वताका तत्कालीन सोभियत संघले पूर्वी युरोपभरि आणविक हतियार तैनाथी गरेको थियो भने पश्चिम युरोपभर अमेरिकी सामरिक छाताभित्र आणविक होडबाजी चलेको थियो । इरानी आणविक कार्यक्रमको बीजारोपण भने अमेरिकाले नै गरेको थियो । सन् १९५० को दशकमा तत्कालीन अमेरिकी समर्थक इरानी शासक शाह मोहम्मर रेजा पहलबीका पालामा सुरु आणविक कार्यक्रम इरानी क्रान्तिअघिसम्म अमेरिकाले सहयोग जारी राखेको थियो । सोभियत संघको विघटनसँगै उसले तैनाथ गरेका हतियारहरू फर्काए पनि अमेरिकाले भण्डार गरेका हतियारहरू युरोपेली देशहरूमा यथावत् छन् । अनि अमेरिकाले आºनो आणविक कार्यक्रमलाई अत्याधुनिक संस्करणमा लैजाने घोषणा गरे पनि आणविक कार्यक्रम मुक्त विश्वको परिकल्पनासहित विश्वभर हास्यास्पद
लबिङ गरिरहेको छ ।
आणविक कार्यक्रमबाट हतियार मात्र बनेको छैन चिकित्सा क्षेत्रदेखि दैनिक अत्यावश्यक ऊर्जा पनि प्राप्त भइरहेको छ । विश्वमा आणविक कार्यक्रमबाटै विद्युतीय ऊर्जा उत्पादन गरिएको छ । विश्वभर हाल प्रयोग भइरहेको ऊर्जाको ६ प्रतिशत आणविक ऊर्जाबाट परिपूर्ति हुँदै आएको छ । आइएइएको तथ्यांकअनुसार विश्वभर चारसय ३५ वटा आणविक रियाक्टर सञ्चालन भइरहेका छन् । अहिले पनि १९ देशले आणविक कार्यक्रमबाट ऊर्जा उत्पादन गरिरहेका छन् भने १८ देश आणविक कार्यक्रमबाट ऊर्जा निकाल्ने तरखर गरिरहेका छन् । सन् १९८६ तत्कालीन सोभियत संघले युक्रेनमा सञ्चालन गरेको चेर्नाबिल आणविक दुघर्टनालाई पुन: सम्झाउने गरी सन् २०११ मा महाभूकम्पपछि आएको सुनामीले जापानको फुकुसीमा आणविक केन्द्रमा पुर्‍याएको क्षतिले अहिलेसम्म पनि वातावरणमा असर पारिरहेको छ । देशको कुल मागको झन्डै ३० प्रतिशत परिपूर्ति गर्दै आएको जापानले आणविक कार्यक्रमलाई त्यागिसकेको छ भने जर्मनी र स्विट्जरल्यान्डले बिस्तारै आणविक कार्यक्रम विस्थापित गर्ने तयारी गरिरहेका छन् । यी परिदृश्यबाट आणविक होडमा नरहेको नेपाल पनि अछुतो रहन सक्ने छैन । यति विनाशकारी आणविक युद्व निम्तिएमा आणविक कार्यक्रम नरहेका नेपालजस्ता बहुमत देशहरूलाई नखाएको विष लाग्नेछ ।

प्रतिक्रिया