दबाबमा स्पेन

वार्सा, ४ असार । युरोकप २०१२ मा दुई खेलसम्म अग्रता कायम गरेको रुस समूह ‘ए’बाट बाहिरिएपछि कतै स्पेन पनि बाहिरिने त होइन भन्ने आशंका पनि व्यक्त हुन थालेका छन् । समूह ‘सी’मा स्पेन चार अंकसहित शीर्षस्थानमा रहेको छ भने क्रोएसियाको पनि चार अंक नै छ । तेस्रो स्थानमा रहेको इटालीको दुई तथा आयरल्यान्डको शून्य अंक छ ।
सोमबार स्पेनले क्रोएसिया तथा इटालीले आयरल्यान्डसँग खेल्नेछ । आयरल्यान्ड समूहबाट बाहिरिइसकेको छ । स्पेन र क्रोएसियाबीचको खेलमा विजयी हुने टोली स्वत: क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीको भाग्य अर्को खेलमा निर्भर रहनेछ । इटालीले आयरल्यान्डलाई पराजित गर्न नसके स्पेन र क्रोएसिया स्वत: क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।
इटालीले जित हात पारे र स्पेन र क्रोएसियाबीच बराबरी भए तीनवटै टोलीको पाँच अंक हुनेछ । यस्तो अवस्थामा तीन टोलीबीचको खेल परिणामले दुई टोलीको निर्धारण हुनेछ ।
अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन तथा युरापेली विजेता स्पेनले पाँच मिडफिल्डर तथा फर्नान्डो टोरेसलाई फरवार्डमा खेलाउनेछ । सन् २००४ को युरोकपमा यस्तै समिकरणमा समूहको तेस्रो खेलमा पोर्चुगलसँग पनि पराजित भएर बाहिरिएको स्पेन यसपटक पनि दबाबमा रहेको छ ।
क्रोएसियाको हकमा इटालीसँगको कमब्याक गरेका कारण यो टोली अत्यन्त उत्साही छ । स्पेन स्वाभाविक रूपमा राम्रो टोली हो । तथापि यस टोलीमा केही समस्या नभएका होइनन् । इटालीसँग सर्जियो रामोस र गेरार्ड पिकको समन्वयमा खटपट देखिँदा बारम्बार स्पेनिस टिम संकटमा देखिएको थियो । तेज आक्रमण गर्ने प्रासो, लुका मोड्रिक र मोरियो मोजविक सम्मिलित क्रोएसियाले पनि स्पेनिस रक्षापंक्ति नभत्काउला भन्न सकिन्न ।
इटालीको सवालमा डी नाटालको फिनिसिङ र आन्द्रेइ पिर्लोको माथिल्लो फुटबलिङ क्लासले पूर्व विश्वविजेता उत्साही बनेको छ । कुनै समय इटालीलाई विश्वकप जिताउन मध्यपंक्तिमा प्रभावकारी रहेका पिर्लो केही वर्षदेखि पुरानो लयमा देखिएका थिएनन् । आधा दशकअघि एसी मिलानले युरोपेली प्रतियोगिता जगजगी मच्चाउँदा टोलीका प्रभावकारी खेलाडी पिर्लो त्यसपछि युभेन्टस पुगेका थिए । युभेन्टसले सिरिए उपाधि जितेलगत्तै पिर्लोले आफू अझै विश्वको आँखा लाग्ने मिडफल्डिर भएको दाबी गरेका थिए । यो दाबीलाई पुष्टि गर्ने क्रममा उनले क्रोएसियासँगको खेलमा फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।
दुई खेलमा कजोर प्रदर्शनका बाबजुद इटालीले म्यानचेस्टर सिटीका फरवार्ड मारियो बालातोली माथिको आशा छाडेको छैन । रोबी किनबाट प्रेरित आयरल्यान्डको गति र फिटनेस नै प्रतियोगितामा समस्याका रूपमा देखिएको छ । नकारात्मक फुटबलका लागि आलोचित रहने गरेको इटाली मालडिनी युग र नेस्टा युगभैंm त छैन । तथापि, विगतको भन्दा आक्रमक खेल खेल्ने बानी परेको इटाली दुवै खेलमा पहिलो अग्रता लिन भने सफल भइसकेको छ । सुरुका दुई खेललाई आधार मान्दा इटाली, क्रोएसिया र स्पनेमध्ये कुन बाहिरिने हुन्, अनुमान गर्न कठिन नै छ ।

प्रतिक्रिया