सामुदायिकका ३६ र निजीका ८४ प्रतिशत उत्तीर्ण

काठमाडौं, ४ असार । ०६८ सालमा सञ्चालित एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएकामध्ये साढे ३६ र निजी विद्यालयका साढे ८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको पाइएको छ । एसएलसीको नतिजा सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयले तथ्यांक विश्लेषण गर्दा उत्तीर्ण प्रतिशतमा यति धेरै अन्तर पाइएको हो ।

परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार सामुदायिक विद्यालयबाट तीन लाख २६ हजार ६ सय तीन परीक्षार्थी सम्मिलित भएकामा एक लाख १९ हजार एक सय ९८ उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयबाट सहभागी भएकामध्ये यो साढे ३६ प्रतिशत हो । त्यसैगरी, निजी विद्यालयबाट परीक्षामा सहभागी भएका ९२ हजार चार सय १६ सम्मिलित भएकामा ७८ हजार चार सय ४० उत्तीर्ण भएका छन् ।
३१ जेठमा सार्वजनिक भएको एसएलसीको नतिजाअनुसार कुल चार लाख ९६ हजार २८ परीक्षार्थी परीक्षामा सहभागी भएकामा कुल दुई लाख आठ हजार एक सय ८७ परीक्षार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ चार लाख १९ हजार ४९ सहभागी भएकामा ४७ दशमलव १६ प्रतिशत उत्तीर्ण भएका थिए ।
०६८ सालको एसएलसी परीक्षामा कुल परिक्षार्थीमध्ये २२ प्रतिशत निजी विद्यालयबाट सहभागी भएका थिए । नियन्त्रक रिमालका अनुसार कुल ४७ दशमलव १६ प्रतिशत उत्तीर्ण भएकामध्ये सामुदायिक विद्यालयका २८ दशमलव ४४ र निजी विद्यालयबाट १८ दशमलव ७२ प्रतिशत छन् ।
सामुदायिक विद्यालयका दुई लाख सात हजार ४५ र निजी विद्यालयबाट सहभागी भएका १३ हजार नौ सय ७६ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमध्ये ५७ दशमलव २६ सामुदायिक र ३७ दशमलव ६८ प्रतिशत परीक्षार्थी निजी विद्यालयबाट परीक्षामा सहभागी भएका थिए ।

यो वर्ष अघिल्लो वर्षभन्दा करिब नौ प्रतिशत कम उत्तीर्ण भएका छन् । पाँच नम्बर ग्रेस दिँदा पनि दुई लाख ८७ हजार आठ सय ४१ अनुत्तीर्ण भएका छन् । शिक्षाविद् तथा सरोकार पक्षले यस्तो अवस्थालाई शिक्षा क्षेत्रमा गरेको लगानी खेर गएको बताएका छन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय क्षेत्र सुधार योजनालाई नै चुनौती दिएको दाबी गरे । शिक्षाविद्ले मात्र होइन, शिक्षा क्षेत्रको प्रशासनिक रूपमा नेतृत्व गरेका शिक्षा सचिव किशोर थापाले समेत शिक्षा नीति परिवर्तन गर्ने बेला आएको बताएका छन् ।

केही वर्षयता एसएलसी परीक्षाको नतिजा गिर्दो अवस्थामा छ । साढे ६८ प्रतिशतसम्म पुगेको उत्तीर्ण प्रतिशत ह्वात्तै घट्दै यो वर्ष ४७ दशमलव १६ प्रतिशतमा झरेको हो । अघिल्लो वर्ष साढे ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सरोकार पक्षले नतिजा खस्कनुमा विद्यार्थीलाई पढाउने शिक्षक र शिक्षा क्षेत्रको नेतृत्व गरेको शिक्षा मन्त्रालय मुख्य दोषी रहेको आरोप लगाउँदै आएका छन् ।
आकृष्ट ललितपुर प्रथम भएको दाबी
ललितपुर : हात्तीवनस्थित आइजे पायोनियर उच्च माध्यमिक विद्यालयका छात्र आकृष्ट कर्माचार्य ०६८ सालको एसएलसी परीक्षामा लतिपुर प्रथम भएको दाबी गरिएको छ । विद्यालयका शिक्षक होमकुमार थापाका अनुसार कर्माचार्यले ९२ दशमलव १२ प्रतिशत अंक प्राप्त गरेका छन् ।
शिक्षक थापाले जिल्ला शिक्षा कार्यालयबाट समेत जानकारी लिइएको र कर्माचार्य ललितपुर जिल्लामा प्रथम भएको पुष्टि भएको बताए । कर्माचार्यले अनिवार्य गणितमा एक सय पूर्णांकमा शतप्रतिशत अंक प्राप्त गरेका छन् । ऐच्छिक गणितमा ९९ अंक प्राप्त गरेका छन् । उनले अरू विषयमा नब्बेको हाराहारीमा अंक प्राप्त गरेका छन् । आइजे पायोनियरबाट एसएलसी दिएकामध्ये २९ विशिष्ट र अरू सबै प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया