भेट्रान्स टिटीमा हीरा र कपुर च्याम्पियन

काठमाडौं, ३ असार  । नेपाल टेलिभिजनका मनोहरि थापाले तेस्रो अनुप स्मृति भेट्रान्स टेबलटेनिस प्रतियोगिताको पुरुष ५० वर्षमाथि समूहतर्फ शनिबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा मनोहरिले जगदीशवरप्रसाद जोशीलाई ११–९, ९–११, १२–१० र ११–९ को सेटमा पराजित गरे । लक्ष्यबहादुर केसी तथा प्रकाश महर्जन संयुक्त रूपमा तेस्रा भए । नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ वर्षमाथि आनन्द धाक्वाले पहिलो स्थान हात पारे । फाइनलमा उनले उदयमोहन श्रेष्ठलाई ११–९, ११–१३, ११–७ र ११–९ ले हराए । सुशीलजंगबहादुर राणा तथा पुण्यप्रसाद पौडेल तेस्रो बने । पुरुषको ४५ वर्षमाथि इन्द्रशेखर खड्काले बाजी मारे । फाइनलमा उनले सुरेश वज्राचार्यलाई सीधा सेटमा ११–९, ११–९ र ११–५ ले पाखा लगाए । विनय बस्नेत तथा पन्नाकाजी शाक्य तेस्रो स्थानमा रहे ।
पुरुषको ६० वर्षमाथिको फाइनलमा उदयराज शर्माले शशि सुवेदीलाई ११–५, ११–६ र ११–८ को सोझो सेटमा हराउँदै स्वर्ण चुमे । रूपालशमशेर राणाले तेस्रो स्थानमा चित्त बुझाए । पुरुषको खुलातर्फ कपुर शर्माले नवीन शाक्यमाथि ३–२ को कठिन जित निकाल्दै च्याम्पियन बने । प्रदीप राजभण्डारी तथा विजय ताम्राकार तेस्रो भए । महिलाको खुलामा हीरा नकर्मी पहिलो भइन् । फाइनलमा हीराले रीता मुखर्जीलाई ११–३, ११–४ र ११–७ ले निराश पारिन् । मिनर्वा मानन्धर तेस्रो भइन् । खेल सुरु हुनुअघि एकदिने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरे र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एकआपसमा खेल खेली संयुक्त उद्घाटन गरेका थिए ।

सिंह, लोहनी र चित्रकार सम्मानित
प्रतियोगिताको समापनका अवसरमा पूर्व टेबलटेनिस खेलाडीद्वय नृपेन्द्रबहादुर सिंह र वाइपी लोहनीलाई आयोजकले सम्मान गरेको थियो । पूर्वखेलाडी एवं वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार पनि सम्मानित भए । सचिव घिमिरे र आयोजक कमिटीका अध्यक्ष जिएन दाइ शर्माले सम्मानितत्रयलाई सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया