आप्रवासीका लागि अनुकूल कानुन

वासिङ्टन डी सी, ३ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विदेशबाट आएर अमेरिकामा काम गर्दै बसिरहेका किशोरकिशोरीलाई काम गरेकै आधारमा सम्बन्धित मुलुकमै फिर्ता नपठाउने निर्णय गरेका छन् । ओबामाले ‘यो निर्णय गर्नु निकै आवश्यक’ रहेको बताएका छन् ।

अबदेखि विदेशबाट १६ देखि ३० वर्षबीचको उमेरका केटाकेटी अमेरिकामा गएर पाँच वर्ष बसिसकेपछि त्यहीँ काम गर्न सक्ने भएका छन् । एकथरि पर्यवेक्षकका अनुसार ओबामा सरकारले यो निर्णय आगामी राष्ट्रपति निर्वाचनको प्रसंगमा ध्यान केन्द्रित गरेर लिएको हो । यद्यपि, ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोमनीले यस निर्णयको आलोचना गरेका छन् । उनले यो बेग्लै किसिमले समाधान खोजिनुपर्ने समस्या भएको बताए ।
रोमनीले भने, ‘खासमा यसका लागि कार्यकारी आदेश जारी गर्दै यसलाई कार्यान्वयनमा लैजानुभन्दा पनि नयाँ ऐन नै बनाउनु जरुरी थियो । तसर्थ, यो आदेशलाई त कुनै पनि नयाँ राष्ट्रपतिले सजिलै बदल्न सक्छ ।’
ओबामा सरकारले गरेको यो पछिल्लो निर्णयले अमेरिकामा बसोबास गरिरहेका आठ लाख मानिस प्रभावित हुनेछन् । ओबामा र उनका प्रतिद्वन्द्वी रोमनी दुवैका आँखा यही नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने स्पेनिस भाषी मतदातामाथि गहिरो गरी परेको छ ।
राष्ट्रपति निवास ह्वाइट हाउसमा पत्रकारहरूसित कुरा गर्दै ओबामाले भने, ‘यो निर्णय लिइनुपर्ने नै थियो र यो एकदम सही काम भएको छ । यति धेरै प्रतिभाशाली युवाहरूलाई अमेरिकाबाट निर्वासित गर्नुको कुनै अर्थ हुँदैन ।’ राष्ट्रपति ओबामाले सरकारले यो निर्णय कसैलाई पनि बलपूर्वक अमेरिकाबाट बाहिर फर्काउन नपरोस् भनेर गरेको जिकिर गरे । उनले सरकारको यस निर्णयबाट आप्रवासीहरूको सम्बन्धमा नयाँ कानुन बनाउन सहयोग मिल्ने र यसबाट कम उमेरमै अमेरिका आउने युवाहरूलाई अमेरिकी नागरिकता दिन सकिने अवस्था सिर्जना हुने विचार पनि व्यक्त गरे ।
ओबामाले भने, ‘ती युवा हृदयबाट, मस्तिष्कबाट र हरेक किसिमबाट अमेरिकी हुन् । केवल उनीहरू कागजमा मात्र अमेरिकी छैनन् ।’ उनले अगाडि भने– यसबाट देशको अर्थव्यवस्थामा सकारात्मक परिवर्तन आउने छ । राष्ट्रिय सुरक्षा बलियो हुनेछ र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो निकै जरुरी काम हो जुन धेरै पहिले भइसक्नुपर्ने थियो ।
राष्ट्रपति ओबामाले यो घोषणा गरिरहेको बेला आश्चर्यजनक ढंगले कसैले उनीसित कुनै प्रश्न सोध्यो । सामान्यतया यस किसिमका घटना हुने गर्दैनन्, त्यसकारण ओबामा केही बेर त अवाक् जस्तै भए ।
यसअघि शुक्रबार एक अमेरिकी मन्त्रीले निर्वासनसम्बन्धी कानुन किन नबनाइएको भन्नेबारे बताउँदै ‘व्यक्ति विशेषको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्नुभन्दा आँखा चिम्लेर समान ढंगले लागू गर्न सकियोस्’ भन्ने विचारले काम गरेको जनाएका थिए । रोयटर्स

यसबाट क–कसलाई लाभ हुन्छ :
ल सोह्र वर्ष उमेर नपुग्दै अमेरिका आइसकेकाहरू
ल कम्तीमा पाँच वर्ष लगातार अमेरिकामा बस्दै आइरहेकाहरू
ल स्कुलमा पढेका अथवा हाइस्कुलबाट ग्रेजुएसन गरेका अथवा अमेरिकी सैनिक सेवाबाट सेवानिवृत्त भएकाहरू
ल कुनै पनि किसिमको आपराधिक रेकर्ड नभएकाहरू
ल उमेर तीस वर्षभन्दा बढी नभएकाहरू

प्रतिक्रिया