‘दाहाल र भट्टराई गद्दार’

काठमाडौं, ३ असार । प्रमुख सत्ताधारी एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्ष पार्टीको पहिचान नै गुमिसकेको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनको अन्तिम तयारीमा जुटेको छ । देश र जनतालाई धोखा दिएको भन्दै उसले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गद्दार घोषणा गरेको छ ।

संस्थापन पक्षले काठमाडौंमा जनप्रदर्शन गरेको भोलिपल्ट(शनिबार)बाट सुरु भएको वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उपाध्यक्ष वैद्यले आफूहरू नयाँ पार्टी निर्माणको तयारीमा रहेको बताए । संस्थापन पक्षले शुक्रबार गरेको जनप्रदर्शन सभाबाट अध्यक्ष दाहालले वैद्य पक्षलाई पार्टी एकताका लागि आह्वान गरेका थिए ।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष वैद्यले माओवादी पहिचान हराएको पार्टी बनेको दाबी पनि गरे । यस्तो पार्टीमा बस्नुभन्दा पहिचानसहितको नयाँ पार्टी बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए । ‘कुनै पनि पार्टी देश र जनताका लागि हुने हो, हाम्रा पार्टी नेताहरू पनि जनताका लागि भन्दा भन्दै जनताको विरुद्धमा जानुभयो । त्यस्तो पार्टीमा बस्नुको कुनै अर्थ रहँदैन, त्यसैले छुट्टै क्रान्तिकारी शक्ति अहिलेको आवश्यकता हो,’ वैद्यले भने ।
पार्टी नेतृत्वले विगतमा गरेका गलत कामविरुद्ध आºनो विचार समूह निरन्तर अन्तरसंघर्ष गर्दै आएको बताउँदै उपाध्यक्ष वैद्यले अब सम्बन्धविच्छेद गरेर अगाडि बढ्ने बताए । ‘पार्टीभित्र हामी निरन्तर एकता, संघर्ष र रूपान्तरणको आवश्यकताअनुसार अगाडि बढ्दै आएका थियौँ, अब सम्बन्धविच्छेद गरेर अगाडि बढिन्छ,’ वैद्यले भने । उनले पार्टीभित्र अवसरवादी र संशोधनवादी तप्का हाबी भएको उनले बताए ।
पार्टी अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई पूरै असफल भइसकेकाले जनताले अब नयाँ शक्ति र नयाँ नेता खोजेको वैद्यले बताए । ‘कांग्रेस–एमाले मात्रै होइन, हाम्रो पार्टीका नेता पनि पूर्णरूपमा असफल भइसकेका छन् । अब देशले नयाँ पार्टी, नयाँ विचार र नयाँ नेता खोजेको छ । यो भेलाले त्यस्तो नेतृत्वको खोजी पनि गर्नेछ,’ उनले भने ।
अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई सत्तालिप्साको खेलमा डुबेकाले नयाँ संविधान निर्माण नगरीकनै जननिर्वाचित संविधानसभा भंग भएको उपाध्यक्ष वैद्यले बताए । ‘कांग्रेस–एमाले सत्ता छाडे मात्रै सहमति गर्छौं भन्ने हाम्रा नेता सत्ता मरिगए छाड्दैनाँै भन्ने । यही सत्ताको खेलले हजारौँ सहिदको रगतबाट बनेको संविधानसभासमेत भंग गरियो,’ उनले भने ।
कांग्रेस–एमालेहरू पहिचानसहितको संघीयतामा आउन तयार नभएपछि संविधानसभा विघटन भएको भनेर अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले जनतामा भ्रम छरिरहेको दाबी पनि उपाध्यक्ष वैद्यले गरे । दाहाल र प्रधानमन्त्री भट्टराईले पहिचानसहितको संघीयता छाड्ने सम्झौता त्यसअघि नै गरिसकेको खुलासा उनले गरे । ‘उहाँहरू(दाहाल र भट्टराई) अहिले कांग्रेस–एमाले जातीय पहिचानसहितको संघीयतामा नआएका कारण संविधानसभा विघटन भएको भनेर प्रचार गरिरहनुभएको छ, वास्तवमा पहिचानको विषयलाई पहिल्यै तिलाञ्जली दिइसकिएको थियो । उहाँहरूले यसबारे कांग्रेस–एमालेसित पहिल्यै सम्झौता गरिसक्नुभएको थियो,’ वैद्यले भने ।
अध्यक्ष दाहालसहितको संस्थापन पक्षले पार्टीको नीति र कार्यदिशाविपरीत पटक–पटक सम्झौता गरेर दसवर्षे जनयुद्धलाई फत्तुर बनाएको वैद्यको आरोप छ । ‘जुन संसद्का विरुद्ध हामीले १० वर्षे जनयुद्ध गरेका थियौँ, १२ बुँदे सम्झौता गरेर त्यसैलाई ब्यँुताइयो, जनमुक्ति सेनालाई सेनाको जिम्मा लगाइयो । नेतृत्वले पटक–पटक सम्झौता नगरेको भए अहिले जनवादी क्रान्ति सफल भइसक्थ्यो,’ उनले भने ।
कार्यक्रममा माओवादी सचिव सिपी गजुरेलले अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईलाई ‘गद्दार’ घोषणा गरे । ‘अहिले हाम्रा आधारइलाका छैनन्, जनमुक्ति सेना नेपाली सेनाको जिम्मा लगाइयो, जनतालाई न्याय दिने कुनै निकाय छैन, दु:खका साथ भन्नुपर्छ, यी सबै कामको अगुवाइ हाम्रै अध्यक्ष प्रचण्ड र बाबुरामले गरे, उहाँहरू गद्दार बन्नुभएको छ,’ गजुरेलले भने ।
भेलामा देशभरका २ हजार ५ सय प्रतिनिधि सहभागी रहेको आयोजकहरूले जनाएका छन् । आइतबारबाट सुरु हुने बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले सांगठनिक र स्थायी समिति सदस्य देव गुरुङले विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । भेला तीन दिनसम्म चल्नेछ । नयाँ पार्टी गठन गर्ने/नगर्ने अन्तिम निर्णय भेलाले नै गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया