चिट चोराउन लिएको पैसा माग्दै तालाबन्दी

राजविराज : एसएलसी परीक्षामा चिट चोरेबापत दिइएको पैसा फिर्ता माग्दै विद्यार्थीले हनुमाननगरस्थित महावीर उच्चमाविमा तालाबन्दी गरेका छन् ।
विद्यालयले दायित्व पूरा नगरेको जनाउँदै रकम फिर्ता गर्नुपर्ने माग गर्दा प्रधानाध्यापक सकारात्मक नदेखिएपछि ताला लगाइएको जितेन्द्र सोनीले बताए । विद्यार्थी सबै कमजोर भएकाले चिट चोराउन आवश्यक व्यवस्था मिलाउने भन्दै ०६८ को एसएलसी परीक्षामा विद्यालयले परीक्षामा सहभागीसँग ६ सय रुपियाँका दरले रकम असुल गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
स्थानीय युवा र विद्यार्थीले विद्यालयले दायित्व पूरा नगरेका कारण एक सय १२ परीक्षार्थीमध्ये नौ विद्यार्थी फेल भएको जनाएका छन् । विद्यालयबाट ८ दशमलव ०४ प्रतिशत विद्यार्थी एसएलसीमा उत्तीर्ण भएका छन् ।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापकले पुस्तक वितणका लागि आएको एक लाख ५७ हजार रुपियाँसमेत अनियमिता गरेको स्थानीय अनुज मिश्राले बताए । (सौस)

 

प्रतिक्रिया