आपसी विवादले योजना अलपत्र

कैलाली, ३ असार । विपन्न वादीका लागि सुरु गरिएको घर निर्माण योजना अलपत्र परेको छ । परिवार छनोटमा वादी समुदायभित्रै विवाद बढेपछि परिवार छनोट रोकिँदा घर निर्माण रोकिएको हो ।

जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले वादीका लागि ५५ घर निर्माण गर्ने योजना थियो । घर छनोट हुन नसकेपछि आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा घर निर्माण सुरु भएको छैन । योजना सुरु नभएपछि बजेट फ्रिज हुने अवस्थामा पुगेको छ ।
अहिलेसम्म ५५ परिवारमध्ये ४१ परिवारमात्रै छनोट भएका छन् । परिवार छनोटमा वादी समुदायभित्रै विवाद भएपछि १४ परिवार छनोट हुन नसकेको भवन निर्माण डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख एवं परिवार छनोटका लागि गठन भएको जिल्ला समन्वय समितिका सदस्यसचिव अम्बादत्त जोशीले बताए । घर निर्माणका लागि धनसिंहपुरको विष्णु कान्तिपुरस्थित वादी बस्ती, नारायणपुरको सत्ती र मुडामा रहेका वादी बस्तीका ५५ परिवार छनोट गर्ने निर्णय भएको थियो ।
वादी समुदायकै विवादका कारण योजना ढिलो भएको कैलालीका सिडिओ कैलाशकुमार बजिमयले बताए । वादी समुदायले भने घर छनोटको विवादका साथै सहरी विकासको ढिलाइ र बन्दका कारण घर निर्माण सुरु हुन नसकेको बताएका छन् । एउटा घर निर्माणका लागि एक लाख ५६ हजार रुपियाँ खर्च छुट्याइएको छ ।

प्रतिक्रिया