जनजाति नेताहरुद्धारा कांग्रेसका कार्यक्रम बहिष्कार

काठमाडौं, २ असार । कांग्रेस सम्वद्ध आदिवासी जनजाति नेताहरुले आफूहरुका माग पुरा नहुँदासम्म पार्टीले घोषणा गरेका कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने भन्दै बहिष्कारको गर्ने जनाएका छन् ।
नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङको अध्यक्षमा आज काठमाडौंमा बसेको कांग्रेस सम्बद्ध विभिन्न जातीय संघसंस्थाहरु, पूर्व सभासद, केन्द्रीय सदस्यहरु र क्रियाशील जनजाति नेताहरुको भेलाले ११ बुँदे माग पुरा नहुँदा सम्म पार्टीका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
जनजाति नेताहरुले जेठ २४ गते सभापति सुशील कोइरालासमक्ष ११ बँुदे ज्ञापनपत्र बुझाएका थिए ।
मागका बारेमा कांग्रेसले बेवास्ता गरेको भेलापछि जारी विज्ञप्तिमा उल्लेख छ ।
भेलामा पूर्व सभासद्हरु जीप छिरीङ शेर्पा, उर्मिला थापा मगर, हर्षजीत लामा, कुमार राई, सीता गुरुङ, केन्द्रीय सदस्य नरेन्द्र बिक्रम नेम्बाङ, विभिन्न जातीय संघका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
जातीय र भाषिक पहिचानको आधारमा आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलोमा आत्मनिर्णयको अधिकारसहित स्वशासित र स्वायत्त राज्यसहितको राज्य पुनःसंरचना गर्ने सवालमा कांगे्रसले नेतृत्व गर्नु पर्ने, धर्म निरिपेक्षता, जातीय स्वशासन, स्वायत्तता, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमा सुनिश्चित गर्नु पर्ने, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने लगायत माग जनजाति नेताहरुको छ ।
उपसचिव शेर्पा कारबाहीमा
उता, पार्टी नीति र निर्णय विपरित निरन्तर काम गरेको भन्दै एमालेले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई पार्टीबाट निष्कासन गरेको छ ।
एमालेले शेर्पाले आफ्नो पदीय आचरण विपरित क्रियाकलाप गरेको भन्द निष्कासन गरेको जनाएको छ ।
एमाओवादीले शुक्रबार खुल्लामञ्चमा गरेको सभामा एमाले र कांग्रेस संघीयता विरोधी पार्टी भएको भन्दै चर्को आलोचना गरेका थिए ।
कारबाहीमा परेका शेर्पा आदिवासी जनजाति महासंघका महासचिव समेत हुन् । उनै शेर्पाले पत्रकारहरुलाई कारबाही गर्ने भन्दै विभिन्न सार्वजनिक मञ्चहरुबाट सञ्चारमाध्यम र सञ्चारकर्मीको चर्को विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया