देउवा पक्षलाई समेटी तीन भ्रातृसंगठन पुनर्गठन

काठमाडौ, २ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष नौ महिना एक दिनपछि केन्द्रीय समिति बैठकमा सहभागी हुने पक्का भएको छ । सात भ्रातृसंगठन विघटन गर्ने केन्द्रीय समितिको निर्णयपछि केन्द्रीय बैठक बहिष्कार गर्दै आएका देउवा पक्षको मागअनुसार तीन भ्रातृसंगठन पुनर्गठनपछि उनीहरू सोमबारको बैठकमा सहभागी हुने निश्चित भएको हो ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । पार्टी सभापति सुशील कोइरालाले देउवा पक्षको मागअनुसार शुक्रबार ती तीन भ्रातृसंगठनको केन्द्रीय समिति विस्तार गरेका हुन् । गत ३ असोजमा नेविसंघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति संघ, प्रजातान्त्रिक सेनानी संघ, मगर संघ र नेपाल किसान संघ विघटनपछि देउवा पक्षले बैठक बहिष्कार गर्दै आएको थियो ।
सभापति कोइराला र वरिष्ठ नेता देउवाबीचको सहमतिमा तीनवटा भ्रातृसंगठन विस्तार गरिएको हो । सहमतिअनुसार नेविसंघमा २०, तरुण दल र महिला संघमा ६/६ केन्द्रीय सदस्य थपिएको छ । तीनै भ्रातृसंगठनमा थपिएका सबैजना देउवा पक्षका हुन् ।
सात भ्रातृसंगठनका प्रमुख तोक्ने बेला भएको सहमतिविपरीत सभापति कोइरालाले एकलौटी रूपमा भ्रातृसंगठन विस्तार गरेको आरोप देउवा पक्षले लगाउँदै आएको थियो । उनीहरूले समानान्तर बैठक राख्दै आएका थिए । तीन भ्रातृसंगठनमा देउवा पक्षका केन्द्रीय सदस्य थप गरेपछि सोमबारदेखिको बैठकमा सहभागी हुने देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय समितिको अर्को बैठक सोमबार १ बजे पुन: बस्ने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले देउवा पक्षको मागअनुसार भ्रातृसंगठन पुनर्गठन गर्ने प्रस्तावलाई सामान्य छलफलसहित पारित गरेको थियो । ‘वरिष्ठ नेता शेरबहादुर देउवाजीका माग पूरा भएका छन्,’ केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘अब ४ गते एकता बैठक बस्नेछ ।’
देउवानिकट केन्द्रीय सदस्य विमलेन्द्र निधिले सात भ्रातृसंगठन विघटन गर्ने केन्द्रीय समितिको निर्णयपछि उत्पन्न विवाद समाधान भएको बताए । ‘हामीले भ्रातृसंगठनको विषयलाई लिएर केन्द्रीय समिति बहिष्कार गर्दै आएका हौँ, त्यो विषय हल भएको छ,’ निधिले भने,‘ हामी सोमबारको बैठकमा सहभागी हुन्छाँै र अन्य विषय पनि सहमतिमै टुंगो लगाउँदै जानुपर्छ भन्ने हाम्रो धारणा छ ।’
२ वैशाखमा विस्तार गरिएका महिला संघमा ३९ मध्ये संस्थापनका २२ र ३९ सदस्यीय नै तरुण दलमा अध्यक्षसहित देउवा पक्षका १७ केन्द्रीय सदस्य थिए । ५ चैतमा सभापति कोइरालाले एक सय एक सदस्यीय नेविसंघ गठन गरेका थिए । जसमा अध्यक्षसहित संस्थापन पक्षको ७२ जना सहभागी गराएर समिति गठन गरिएको थियो । देउवा पक्षको २९ जना मात्र सदस्य थिए । १८ वैशाखमा आदिवासी जनजाति संघ ४५, प्रजातन्त्र सेनानी संघ ४१, किसान संघ ३५ र मगर संघ ३३ सदस्सीय समिति गठन गरेका थिए ।
संस्थापन पक्षले तरुण दलसहितका भ्रातृसंगठन विघटन गर्ने संकेत पाएपछि देउवा पक्षका नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशनमा समेत बसेका थिए । आमरण अनशन तोड्न ११ असोजमा देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिए पनि सभापति कोइरालाले २६ कात्तिकमा देउवाको राजीनामा अस्वीकार गरेको पत्र पठाएका थिए ।

को–को थपिए ?
नेपाल विद्यार्थी संघ
यज्ञ कट्टेल, निलकमल भट्टराई, अशोक बस्ताकोटी, भगवान् अधिकारी, जीवन खत्री, लोकेन्द्र रोकाया, विमला भट्ट, विमलचन्द विष्ट, गोविन्द लामिछाने, केशव मिश्र, सरोज मैनाली, वीरेन्द्र यादव, नन्दकिशोर यादव, अर्जुन महतारा, दावागेलु पार्खारङ (राजु), शकुन्तला त्रिपाठी, सञ्जय सिलवाल, भीमसिंह गुरुङ, सूर्यबहादुर थापा र निर्मल पौडेल
नेपाल महिला संघ
पार्वती थापामगर (उर्मिला), अमुदा श्रेष्ठ, महिन्द्रा लिम्बू, रंगमती शाही, उषा भण्डारी र प्रशीष महरा
नेपाल तरुण दल
मेखलाल श्रेष्ठ, नवीन सिंह, टोमलाल राजवंशी, महेश खरेल, डण्डी ढकाल र पूर्ण गुरुङ

प्रतिक्रिया