माओवादी सभामा एकताको आह्वान

काठमाडौं, २ असार । पार्टीले आयोजना गरेको जनप्रदर्शन सभाबाटै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षलाई पार्टी एकताका लागि आह्वान गरेका छन् । वैद्य पक्षले शनिबार डाकेको राष्ट्रिय भेलालाई ‘काउन्टर’ दिन संस्थापन पक्षले शुक्रबार जनप्रदर्शन गरेको हो ।
सभामा अध्यक्ष दाहालले मञ्चमा उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा नहुँदा आफूलाई खल्लो लागेको भाषण पनि गरे । ‘यो मञ्चमा कमरेड किरण र बादल पनि भइदिएको भए कति उत्साह हुन्थ्यो होला, यो विशाल जनप्रदर्शनबाट आएको जनताको आवाज पार्टी एकताका लागि दबाब पनि हो,’ अध्यक्ष दाहालले भने ।
जनताको आवाजलाई ध्यान दिएर पार्टी एकढिक्का बनाउन उनले उपाध्यक्ष वैद्यलाई आग्रह पनि गरे । ‘भोलि(शनिबार)को भेलाबाट एकताको प्रस्ताव पास गरेर आउनुस्, सबै लागेर जनताको संविधान बनाऔँ’ दाहालले भने । उनले पार्टी एकताका लागि नेतृत्व परिवर्तनसहित सबै विवादका विषयमा छलफल गर्न आफू तयार रहेको बताए ।
अध्यक्ष दाहालसहितको संस्थापन पक्ष र उपाध्यक्ष वैद्य पक्षबीच विवाद चुलिँदै गएपछि माओवादी विभाजनको संघारमा पुगेको छ । वैद्य पक्षले नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने राष्ट्रिय भेलाबाट पार्टी विभाजनको अन्तिम निर्णय गर्ने तयारी वैद्य पक्षको छ । वैद्य पक्षले राष्ट्रिय भेला बोलाएपछि त्यसलाई असफल बनाउन संस्थापन पक्षले शुक्रबार जनप्रदर्शन गरेको हो । उसले १५ असारमा विस्तारित बैठक बोलाएको छ ।
अध्यक्ष दाहालले संविधानसभा विघटन भएपछि दलहरूबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । आफू त्यसका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनले बताए । ‘संविधानसभा नभएको अहिलेको अवस्थामा सहमतिको अझ धेरै आवश्यकता छ,’ अध्यक्ष दाहालले भने । शुक्रबार बिहान मात्रै आफूले कांग्रेस र एमालेका नेताहरूसित छलफल गरेर सहमति पहल थालेको उनले बताए ।
संविधानसभाबाटै नयाँ संविधान निर्माण गरिनुपर्ने भन्दै अध्यक्ष दाहालले त्यसका लागि आफू जस्तोसुकै विकल्पबारे छलफल गर्न तयार रहेको उल्लेख गरे । विकल्प नभएकाले सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गर्नुपरेको उनले बताए । ‘माओवादीका कारण संविधान बनेन भन्ने मौका नदिन सेना समायोजन गरेको हो तैपनि हामीले सोचेजस्तो हुन सकेन । संघीयताको मुद्दालाई पहिले नै छलफल गर्नुपथ्र्यो भन्ने अहिले लागेको छ, त्यसमा हाम्रो गल्ती भएकै हो,’ उनले भने ।
माओवादीले कुनै पनि हालतमा संघीयता र पहिचान छाड्न नसक्ने अध्यक्ष दाहालले बताए । यी दुई मुद्दा छाड्दा पार्टी नै सिद्धिने खतरा रहेको उनको भनाइ छ । ‘हामीले धेरै विषयमा सम्झौता गर्‍यौँ तर संघीयता र पहिचानमा समेत सम्झौता गरेको भए म मात्रै होइन, माओवादी पार्टी नै सिद्धिने खतरा थियो,’ उनले भने ।
यसअघि कांग्रेस–एमालेलगायत दलले गरेको र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले छुट्टाछुट्टै गरेका आमसभाभन्दा माओवादीको सभा भव्य रूपमा सफल भएको अध्यक्ष दाहालले दाबी गरे । ‘१४ जेठयता यहाँ भएका दुईवटा सभामा जनताको उपस्थिति हेर्दा अरूले गाएको र नानीको बाबुले सुसेलेको जस्तो भयो,’ उनले भने ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी एकताका लागि आफू प्रधानमन्त्री पद त्याग्न तयार रहेको बताए । वैद्य पक्षले प्रधानमन्त्री भट्टराईलाई पदमुक्त गर्नुपर्ने सर्त पनि राखेको छ । ‘पार्टी साँच्चिकै एकता हुन्छ भने म राजीनामा दिन तयार छु, बसेर समीक्षा गरौँ, कुनै पनि बहानामा पार्टीलाई फुटाउनुहुँदैन,’ उनले भने ।

कांग्रेस–एमालेलगायत दलले राष्ट्रपति रामवरण यादवलाई असंवैधानिक बाटोतिर लैजाने कोसिस गरिरहेको प्रधानमन्त्री भट्टराईको आरोप थियो । तर, राष्ट्रपति त्यसबारे सचेत रहेको उनले बताए । आफू सधँै सहमतिबाटै अगाडि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कांग्रस–एमालेलगायत दलका कारण संविधानसभा विघटन भएको आरोप प्रधानमन्त्री भट्टराईले लगाए । संघीयताको विषयलाई उनीहरूले प्राथमिकतामा नराखेका कारण समस्या उत्पन्न भएको प्रधानमन्त्रीको दाबी छ । संविधानसभा विघटन हुँदा आफूलाई निकै पीडा महसुस भएको उनले बताए ।

प्रतिक्रिया