काठमाडौं, २ असार । मुलुकभरका ४१ जेलमा अहिले आठ सय ५८ विदेशी कैदी–बन्दी छन् । उनीहरूका लागि नेपालको राज्यकोषबाट बर्सेनि झन्डै साढे चार करोड रुपियाँ खर्च हुँदै आएको छ ।
जेलमा रहेका कैदी–बन्दीलाई दैनिक दिइने सिधा र विभिन्न भत्ताबापत सो रकम खर्च हुने गरेको हो । प्रत्येक वर्ष विदेशी कैदीलाई भत्ता मात्रै एक करोड ४० लाख ९२ हजार ६ सय ५० रुपियाँ बाँड्नुपर्छ । सिधाबापत बाँडिने चामलको मूल्य वार्षिक करिब एक करोड नौ लाख ६० हजार नौ सय ५० रुपियाँ पुग्छ । यसैगरी लुगाफाटो, औषधोपचारलगायतमा पनि उल्लेख्य रकम खर्च हुने गरेको छ ।
‘द सार्पेन्ट’ काउपनामले चिनिने अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बसेको ९ वर्ष भयो । उनलाई जेलमा राख्न हालसम्म २ लाख ३८ हजार चार सय रुपियाँ खर्च भएको छ । शोभराजले दैनिक भत्ताबापत जम्माजम्मी एक लाख ३४ हजार एक सय रुपियाँ पाएका छन् । यस्तै, दैनिक सात सय ग्राम चामल पनि पाउँछन् । यस हिसाबले जेल बसाइको अवधिमा उनले सिधाबापत दुई हजार ८६ केजी चामल पाएका छन् । प्रतिकेजी ५० रुपियाँका दरले हिसाब गर्दा एक लाख ४३ हजार हुन आउँछ ।
सर्वोच्च अदालतले सुनाएको सर्वस्वसहित आजीवन काराबासको फैसलाअनुसार उनले जेलमा २० वर्ष गुजार्नुपर्छ । यसबमोजिम उनले ११ दशमलव ८३ वर्ष कैद जीवन बिताउनुपर्छ । अब बाँकी दिनका लागि सरकारले उनलाई रासन र भत्ताबापत तीन लाख ४५ हजार चार सय ३६ रुपियाँ खर्चनु पर्नेछ ।
१२ जना अपहरण गरेपछि २३ वर्ष कैद सजाय फैसला पाएका भारतीय नागरिक उदय सेट्टीले १२ सय ४५ दिन कैद भुक्तान गरिसकेका छन् । यस अवधिमा सरकारले उनका लागि सिधा र भत्ताबापत ९९ सय हजार ६ सय रुपियाँ खर्चिसकेको छ । बाँकी दिनका लागि पाँच लाख ७२ हजार खर्चनुपर्ने देखिन्छ ।
कैदी–बन्दीले दसँै भत्ता, प्रत्येक वर्ष दुई जोर कपडा, ओढ्ने/ओछ्याउने, औषधोपचारबापत छुट्टै रकम पाउँछन् । यी सबै गरी सरकारले विदेशी कैदी–बन्दीका लागि मात्रै प्रत्येक वर्ष औसत करिब चार करोड २९ लाख रुपियाँ खर्च गर्नुपर्छ । केन्द्रीय कारागार व्यवस्था विभागका निर्देशक दुर्गा भण्डारीले विदेशी कैदीबन्दीका लागि सरकारले प्रत्येक वर्ष ठूलो रकम खर्चिरहेको बताए । उनले भने, ‘यो मुलुककै लागि ठूलो आर्थिक भार हो ।’
विशेष गरी लागुऔषध मुद्दामा धेरै विदेशी जेल परेका छन् । नक्कली भारतीय रुपियाँको कारोबार, अपहरण, राहदानी, वनपैदावर, डकैती, हातहतियार तथा खरखजानालगायत मुद्दामा जेल बस्ने विदेशी पनि उल्लेख्य संख्यामा छन् । विभागका निर्देशक भण्डारीले प्रत्येक वर्ष विदेशी कैदीबन्दी बढिरहेको बताए । उनले भने, ‘कैदी–बन्दी राख्ने ठाउँको समेत अभाव हुँदै गएको छ ।’
नेपाली जेलमा न्यूनमत ६ महिनादेखि २३ वर्षसम्मको कैद भुक्तान गरिरहेका विदेशी कैदी–बन्दी रहेको विभागको तथ्यांकले देखाउँछ । मुलुकका सबै कारागारमा गरी दुई हजारभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालित छन् । जघन्य तथा संगठित अपराधमा विदेशी कैदी–बन्दी धेरै रहेकाले उनीहरूबाट मात्र नभई उनीहरूमाथि पनि सधैँ सुरक्षा ‘थ्रेट’ हुने प्रहरी बताउँछन् । यही भएर कारागारमा धेरै संख्यामा सुरक्षाकर्मी खटाउनुपरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद सिंहको भनाइ छ ।
विभागका निर्देशक भण्डारीका अनुसार विदेशी कैदी–बन्दीका लागि खटिने सुरक्षाकर्मीको बजेट पनि समावेश गर्ने हो भने प्रत्येक वर्ष एक कैदी–बन्दीका लागि मात्रै लाखाँै रुपियाँ खर्चनुपर्छ । उनले भने, ‘सुरक्षाको खर्च पनि जोड्ने हो भने त विदेशी कैदीबन्दीका लागि मात्रै मुलुकले अर्बौंै रुपियाँ व्यहोर्नुपर्छ ।’
कहाँ कति विदेशी कैदी–बन्दी ?
पाँचथर–९, झापा–९१, तेह्रथुम–२, मोरङ–३८, सुनसरी–३४,
सप्तरी –८, सिराह–२१, दोलखा–२, रामेछाप–१, महोत्तरी–१८,
सर्लाही–१०, रसुवा–१, सिन्धुपाल्चोक–१, धादिङ–३, पर्सा–१७६, मकवानपुर–११, चितवन–५, रौतहट –१०, कास्की–८, तनहुँ–२,
लम्जुङ–१, स्याङ्जा–४, रूपन्देही–१५, कपिलवस्तु–८, नवलपरासी–६, पल्पा–११, पर्वत–३, म्याग्दी–१, तुल्सीपुर दाङ–४, बाँके–१९,
वर्दिया–१०, डोटी–२, कैलाली–१४, डडेल्धुरा–२, कन्चपुर–९, काठमाडौं केन्द्रीय कारागार–१८६, डिल्लीबजार सदरखोर–४४, नक्खु–४०
केन्द्रीय कारागारको भद्रतर्फ
ज्यानमुद्दा–२, लागुऔषध–३८, जबर्जस्ती करणी– २, ठगी– ६,
जाली राहदानी–२,
केन्द्रीय कारागारको ब्लक नम्बर दुईतर्फ
ज्याम मुद्दा–४, डाँका–१, चोरी–५, लागुऔषध–५०, जिउ मास्ने
बेच्ने–३, जबर्जस्ती करणी–३, वन–१, ठगी–३, जाली रहदानी–३, विविध ३०
केन्द्रीय कारागारको ब्लक नम्बर तीनतर्फ
लागुऔषध–११, जाली राहदानी–५, विविध–३
सदरखोर डिल्लीबजार
अफ्रिकी–१ (लागुऔषध), लाइबेरियन–३ (ठगी), रोमानियाली–१
(लागुऔषध), बंगालादेशी–२ (सरकारी छाप किर्ते र जबक), भुटानी २ (लागुऔषध), तान्जेनिया–१ (विनाभिसा), पाकिस्तानी–२ (ठगी खोटाचलन), अमेरिकी १ (लागुऔषध), अफगान–१ (वैदेशिक रोजगार), चीन–६ (ओभर स्टे र हातहतियार)
प्रतिक्रिया