भरतको नेतृत्वमा एन्फाको महत्त्वाकांक्षी लक्ष्य

काठमाडौ, १ असार । सानदार फर्ममा रहेका नेपाली फुटबलका शालीन र भद्र व्यक्तित्व भरत खवासले शनिबार सुरु हुने एएफसी यु–२२ एसियन छनोट प्रतियोगितामा नेपाली टोलीको नेतृत्व गर्ने भएका छन् । ‘यो महत्त्वपूर्ण जिम्मेवारी हो । मेरो प्रयास नेपाललाई अन्तिम चरणमा प्रवेश गराउँदै टोलीको विश्वास सार्थक तुल्याउनेमा नै केन्द्रित हुनेछ,’ व्यक्तिगत लाभा र चर्चाभन्दा टिम समन्वयमा नै केन्द्रित रहने चरित्र भएकै कारण घरेलु फुटबलमा पुलिस क्लबलाई सहिद स्मारक लिग र राष्ट्रिय लिग च्याम्पियन बनाउन सफल भरतले भने ।
कृष्ण थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक गरिएको छैन । तथापि वर्तमान नेपाली फुटबलमा माथिल्लो कोटीका खेलाडीको रूपमा परिचित रोहित चन्द अन्तिम रक्षक र रविन श्रेष्ठ बायाँ रक्षकको रूपमा रहने सम्भावना प्रबल रहेको छ । राष्ट्रिय टोलीमा रहिसकेका विकास क्षत्री सायद रोहितको जोडी बन्नेछन् । दायाँ रक्षकको रूपमा दीपक भूसाल रहने सम्भावना प्रबल रहेको छ ।
हिमालयन शेर्पाका रूपेश केसी मध्यभागमा रहँदा सायद नेपाली रक्षकहरूले पनि धेरै सहज महसुस गर्नेछन् । रूपेशले समकालीन नेपाली मिडफिल्डरमाझ रक्षात्मक खेल र विपक्षीलाई खुलेर खेल्न नदिने खेलाडीको रूपमा आफ्नो छुट्टै छवि बनाएका छन् । लगभग राष्ट्रिय टोलीभैंm लाग्ने यु–२२ टोलीका अन्य तीन मिडफिल्डर क्षमतावान हुनुका साथै अस्थिर प्रदर्शनका लागि परिचित छन् ।
सायद जगजित श्रेष्ठ बायाँ विंग, अनिल ओझा दायाँ विंग र शिव श्रेष्ठ सेन्ट्रल मिडफिल्डमा खेल्नेछन् । यदि यी तीनै खेलाडी एकैपटक आफ्नो वास्तविक क्षमताअनुसार खेलेमा नेपालका लागि आँकिएको भन्दा माथिल्लो सफलताको सम्भावना पनि यथावत् छ । नेपालले बंगलादेशसँगको पहिलो खेलमा जित हात पार्ने, त्यसपछि यमनसँग जित्ने र बाँकी दुई खेल परिस्थितिअनुसार रणनीति बनाउने योजनामा रहेको छ । नेपाली टोलीका प्रशिक्षक कृष्ण थापाले प्रशिक्षण राम्रो भएको र टोलीको लक्ष्य अन्तिम चरण प्रवेश नै रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागत ६० लाख रुपियाँ रहेको जनाइएको छ । हरेक दिनको दोस्रो खेलको समय तालिका परिवर्तन भएर ६:३० बाट ६:१० मा सारिएको छ । प्रतियोगिता सञ्चालन लागि १५ एएफसी अधिकारी काठमाडौं आइपुगेका छन् । बुधबार काठमाडांै आइपुगेका अधिकारीमा म्याच कमिस्नर, रेफ्री एसेसर, फिफा रेफ्री र फिफा असिस्टेन्ट रेफ्री रहेका छन् । यसैबीच प्रतियोगितामा सहभागी हुने जोर्डनको टोली बिहीबार काठमाडांै आइपुगेको छ ।

प्रतिक्रिया