म्यानमारमा जातीय दंगा

यंगोन : म्यानमारमा जातीय दंगा भड्किएको छ । दंगाबाट कम्तीमा २८ जनाको ज्यान गइसकेका समाचारमा जनाइएको छ ।
दंगा नियन्त्रणबाहिर गएपछि म्यानमारका केही स्थानमा संकटकाल घोषणा गरिएको थियो । म्यानमारको राखिन राज्यमा संकटकाल घोषणा गरिएको छ । दंगाका कारण अहिलेसम्म कम्तीमा ५३ घाइते भएको समाचारमा उल्लेख छ ।
गत महिना बौद्ध सम्प्रदायका मानिसले मुस्लिम समुदायका चार व्यक्तिको हत्या गरेपछि दुई समुदायबीच विवाद चर्किएको थियो । एकजना महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा मुसलमान धर्मावलम्बीको हत्या गरिएको थियो । हत्यालगत्तै सो क्षेत्रमा साम्प्रदायिक दंगा भड्किएको थियो ।
दुवै सम्प्रदायका मानिसले एक–अर्कामाथि आक्रमण गर्ने र एकअर्काको निवास जलाउने क्रमलाई निरन्तरता दिएका छन् । दंगा भड्किएपछि तीन दिनअघि सो प्रान्तमा संकटकाल घोषणा गरिएको थियो । सितवे प्रान्तमा रातभर कफ्र्यु लगाउने गरिएको छ । बुधबार राति कफ्र्यु उल्लंघन गर्ने करिब तीस जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
बंगलादेश चनाखो
म्यानमारमा दंगा फैलिएपछि त्यहाँका शरणार्थी बंगलादेश प्रवेश गर्न नदिन बंग्लादेश चनाखो भएको छ । म्यानमारबाट आएका मुसलमान शरणार्थीलाई शरण नदिने अडान बंगलादेशले लिएको छ । अमेरिका तथा विभिन्न अधिकारवादी समूहले शरणार्थीका लागि सीमा खुला गर्न बंगलादेशलाई दबाब दिइरहेका बेला बंगलादेशले बिहीबार यस्तो अडान राखेको हो ।
म्यानमारसँगको करिब दुई सय किलोमिटर लामो सीमा बंगलादेशले बन्द गरेको छ । दुई मुलुकलाई छुटयाउने नाफ नदीमा १७ वटा डुंगामा आएका करिब सात सय रोहिन्ग्या शरणार्थीलाई बंगलादेशले सोमबार फिर्ता गरिदिएको थियो । बंगलादेशका विदेशमन्त्री दिपु मोनीले अन्तरसीमा मानव बाढी स्वीकार गर्न नसकिने बताएका छन् । (एएफपी)

प्रतिक्रिया