पूर्वराजालाई हात लम्काउन सल्लाह

काठमाडौं, १ असार । संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटको क्रम बढाएका छन् । उनलाई भेट गर्ने नेताहरूमध्ये अधिकांशले नयाँ परिवेशमा आºनो भूमिका खोज्न सल्लाह दिएको स्रोतको दाबी छ ।

पूर्वपञ्चदेखि कांग्रेसका केही नेताले समेत पूर्वराजालाई भेटेर यस्तो सल्लाह दिएका हुन् । संविधानसभा विघटन भइसकेको अवस्थामा ‘राजसंस्था’को सक्रियता बढाउनुपर्ने उनीहरूले बताउने गरेका छन् । यद्यपि, पूर्वराजा स्वयंले भने यस विषयमा मुख खोलेका छैनन् ।

संविधानसभा विघटनपछि उनी ‘पर्ख र हेर’ को अवस्थामा रहेको स्रोतले बतायो । जेठ १४ यता उनी कुनै सार्वजनिक कार्यक्रममा गएका छैनन् भने भेट्न आउनेहरूसँग खुलेर कुरा पनि गर्दैनन् । ‘खाली अरूका कुरा सुन्नुहुन्छ र टाउको हल्लाएर हो, हो भन्नुहुन्छ,’ स्रोतले भन्यो ।
पछिल्लो समय पूर्वराजालाई भेट्नेमा कमल थापा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, दुर्गा पोखरेल, याङकिला शेर्पालगायत केही शाहीकालीन मन्त्री छन् । यसैगरी, कांग्रेसका पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, तारानाथ रानाभाटलगायतले पनि उनलाई भेटेको स्रोतको दाबी छ ।
‘संंविधानसभा विघटन भइसकेपछि मुलुक ०६२/६३ सालकै अवस्थामा फर्किएको छ । संविधानसभाले गरेको सबै काम स्वत: अवैध भएका छन् । त्यसैले राजसंस्था भूमिकामा फर्कन सक्ने अवस्था बनेको छ,’ भेट््न जानेहरूमध्ये शाहीकालीन मन्त्रीहरू यसै भन्छन् । कांग्रेसका नेताहरूले शाहीकालीन मन्त्रीलेझँै राजासंस्था फर्किसकेको नभने पनि नेपालको भौगोलिक, सांस्कृतिक र धर्म दृष्टिकोणबाट कुनै न कुनै रूपमा राजसंस्था आवश्यक रहेको धारणा राख्ने गरेका छन् ।
नेताहरूलाई भेट गराइदिने र समय मिलाइदिने काम पूर्वराजाको स्वकीय सचिव सागर तिमिल्सिना र मधु तिमिल्सिनाले गरिरहेका छन् । अधिकांशलाई साँझ ७ बजेपछिको समय छुट्टयाउने गरेको स्रोतले बतायो ।
‘संविधानसभाको औचित्य सिद्धिसकेपछि यसले गरेको सबै काम स्वत: खारेज हुन्छ । त्यसैले मुलुक अब ०६२/६३ को स्थितिमा फर्किसकेको छ । यही कुरा मैले सरकारसँगको दर्शन भेटमा राखेँ,’ पूर्वराजाका सहयोगी तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले सौर्यसँग भने, ‘सरकारले केही बोलिबक्सेन । खाली टाउको हल्लाएर मात्र सुनिबक्सियो’ ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा थानकोटको एउटा मन्दिरमा जाने कार्यक्रम तय गरिएको थियो । तर, अकस्मात् रद्द गरिएको छ । थानकोट जाने कार्यक्रम संविधानसभा विघटन हुनुभन्दा पहिले नै तय भएको थियो । सार्वजनिक कार्यक्रममा गइसकेपछि संविधानसभा विघटनपछिको स्थितिबारे बोल्नुपर्ने हुन सक्ने ठानेर स्थगन भएको स्रोत बताउँछ । तत्काल कुनै जिल्ला जाने कार्यक्रम पनि छैन,’ स्रोतले भन्यो ।
जेठ २७ गतेको आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजासँग भेट गरेको पुष्टि गरेका थिए । ‘अब केही दिन तपार्इं धैर्य गर्नुहोस् । लाखाँै जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउनेछन् भनेर मैले भनेको हुँ,’ थापाले भनेका थिए ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा निर्मलनिवासमै छन् । संविधानसभा विघटनपछिको अवस्थालाई उनले अभिरुचिपूर्वक नियालिरहेका छन् ।

प्रतिक्रिया