एसएलसी रिजल्ट निराशाजनक

काठमाडौं, ३२  जेठ । ०६८ सालमा सञ्चालित एसएलसी परीक्षाको निराशाजनक नतिजा आएको छ । नियमिततर्फ ४७ दशमलव १६ प्रतिशत मात्र उत्तीर्ण भएका छन्  । अघिल्लो वर्षको तुलनामा यो नौ प्रतिशत कम हो ।
७ देखि १६ चैतसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख १९ हजार ४९ सहभागी भएकामा एक लाख ९७ हजार ६ सय ३८ उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ ७६ हजार नौ सय ७९ सहभागी भएकामा दस हजार पाँच सय ४९ अर्थात् १३ दशमलव ७० प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
परीक्षा सकिएको ७६ औँ दिनमा बुधवार दिउँसो नतिजा सार्वजनिक भएको हो । रातविरात पारेर मात्र नतिजा सार्वजनिक गर्ने परम्परा यसपटक पनिकाले तोडेको थियो । दिउँसै नतिजा प्रकाशन भएपछि विद्यार्थीले मोबाइल र इन्टरनेटबाट सहजरुपमा नतिजा हेर्न पाएका छन् ।
नियमिततर्फ विशिष्ट श्रेणीमा १७ हजार सात सय ६०, प्रथम श्रेणीमा ७७ हजार दुई सय ५७, द्वितीय श्रेणीमा ९३ हजार आठ सय ३०, तृतीय श्रेणीमा आठ हजार सात सय ९१ परिक्षार्थी उत्तीर्ण भएका छन् । चार सय ६१ एक्स्पेल्ड र पाँच सय १३ जनाको रद्द गरिएको छ ।
एक्जाम्टेडतर्फ विशिष्ट श्रेणीमा कोही पनि उत्तीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एक सय २६, द्वितीय श्रेणीमा सात हजार पाँच सय ९५, तृतीय श्रेणीमा दुई हजार आठ सय २८ उत्तीर्ण भएका छन् । ४९ जना एक्सपेल्ड र चार सय १४को रद्द गरिएको छ । परीक्षा नियन्त्रक डिल्लीराम रिमालका अनुसार यस वर्ष पाँच नम्बर ग्रेस दिइएको थियो । ग्रेस नम्बरबाट मात्रै १२ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रक रिमालका अनुसार एउटा परीक्षा केन्द्रको सबै नतिजा खारेज गरिएको छ । जुम्लाको जनता माध्यमिक विद्यालय केन्द्रको नतिजा खारेज गरिएको हो । सो केन्द्रमा दुई सय ९७ परीक्षार्थी थिए । ‘नतिजा खारेज हुनमा विद्यालय र विद्यार्थी दुवै दोषी छन्,’ नियन्त्रक रिमालले भने, ‘उत्तरपुस्तिका हेर्दा खारेज गर्नुपर्ने प्रमाण भेटियो ।’ विद्यालयले दुई वर्ष परीक्षा केन्द्र राख्न नपाउने गरी कारबाही गरिएको छ ।
नतिजाले शिक्षा क्षेत्रमा निराशा
०६५ सालको एसएलसी परीक्षामा नियमिततर्फ ६८ दसमलव ४७ प्रतिशत उत्तीर्ण भएका थिए ।  त्यसपछि उत्तीर्ण प्रतिशत लगातार घट्दै आएको छ । किन त ? शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले लगानी अनुसारको उपलब्धि नहुनु द:खको कुरा भएको बताए । नतिजाले विद्यालय क्षेत्र सुधार योजनालाई नै चुनौती दिएको उनको भनाइ छ । ‘विद्यार्थीलाई चोरेर पास गराइदिन्छन् भन्ने लाग्यो, तिनलाई आशा सिर्जना गराइएन,’ कोइरालाले भने, ‘आशा नभएपछि प्रयास गरेनन्, पढ्ने प्रेरणा जगाइएन ।’ अहिले सबैभन्दा बढी शिक्षामा कुल बजेटको करिब १७ प्रतिशत लगानी भएको छ ।
शिक्षासचिव किशोर थापाले एसएलसीको घट्दो नतिजाप्रति दु:ख व्यक्त गरेका छन् । एसएलसीको नतिजा प्रतिशत लगातार घट्नाको एउटै कारण नभए पनि यसले गम्भीर चिन्ता बढाएको उनले बताए । २०३१ सालको एसएलसी परीक्षाका बोर्डफस्टसमेत रहेका शिक्षासचिव  थापाले भने, ‘एसएलसी नतिजा हेर्दा शिक्षा नीति परिवर्तन गर्नुपर्ने बेला आएको हो जस्तो लाग्छ ।’ परीक्षा नियन्त्रक रिमालले उत्तीर्ण प्रतिशत घट्नाको कारण विश्लेषण भइनसकेको बताए । ‘अहिले हामीले यही कारणले घट्यो भन्न सक्दैनाँैं, नियन्त्रक रिमालले भने, ‘जस्तो नतिजा हामीसँंग आयो, त्यो सार्वजनिक गरेका हाँैं, अरुपछि अध्ययन गर्छाैं ।’
यस वर्षको परीक्षामा पनि सवातर््ेकृष्ट विद्यार्थी घोषणा गरिएन । १९९० सालदेखि सर्वोत्कृष्ट घोषणा गरिँदै आएकामा ०६१ सालयता क्रमभंग भएको छ । त्यसअघि ०५१ सालमा पनि सर्वोत्कृष्ट घोषणा गरिएको थिएन । ४० जिल्लाका ४३ राम्रा परीक्षा केन्द्र तथा केन्द्राध्यक्षलाई पुरस्कार दिने निर्णयसमेत भएको छ । केन्द्रलाई १५ हजार र केन्द्राध्यक्षलाई दस हजार रुपियाँ पुरस्कार दिने निर्णय गरिएको हो । पनिकाले दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थर्ीका लागि पूरक परीक्षाको व्यवस्था गरेको छ । पूरक परीक्षा १७ साउनदेखि २४सम्म सञ्चालन हुने पनिकाले जनाएको छ ।
परीक्षाको नतिजा वेबसाइट, एसएमएस, टेलिफोन तथा अखबारबाट समेत पाउन सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमको १६००मा डायल गरेर समेत नतिजा पाउन सकिन्छ । त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयको आफ्नै र टेलिकमबाट जन्ममिति र सिम्बोल नम्बरबाट प्राप्ताङ्कसमेत पाउन सकिने व्यवस्था गरिएको छ ।

विगत दस वर्षको एसएलसी
प्रतिशत (नियमित)
२०६८    ४७.१६
२०६७    ५५.५
२०६६    ६४.३१
२०६५    ६८.४७
२०६४    ६३.७३
२०६३    ५८.६४
२०६२    ४६.५१
२०६१    ३८.७२
२०६०    ३२.५
२०५९    ३२.२२
२०५८    ३१.२२

प्रतिक्रिया