छानबिन गर्न माग

जेनेभा : सिरियाका सरकारले नरहसंहार मच्चाएको भन्दै घटनाको आवश्यक छानबिन गर्न माग गरिएको छ । संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी निकायले घटनाको छानबिन गर्न माग गरेको हो । सिरियाको हौला सहरमा २५ मेमा भएको नरसंहारको जाँचबुझ गर्न माग गरिएको हो । यसबारे मानवअधिकार परिषद्को हालैको बैठकमा छलफल भएको समाचारमा जनाइएको छ । सरकारी सेनाले गरेको भनिएको नरसंहारमा कम्तीमा एक सय आठको मृत्यु भएको थियो ।
गत सोमबार राति पनि सिरियामा हेलिकोप्टरबाट सरकारी सैनिकले आक्रमण गर्दा कम्तीमा सय जनाको मृत्यु भएकाले सबै घटनाको छानबिन गर्न माग गरिएको छ । हौला सहरमा भएको नरसंहारलाई मानवताविरोधी अपराध बताउँदै आवश्यक छानबिन गर्न अन्तर्राष्ट्रिय समुदायले आवाज उठाइरहेका छन् ।
सिरियाका प्रतिपक्षीले नरसंहार रोक्न राष्ट्रसंघले तत्काल कदम चाल्नुपर्ने बताउँदै आएका छन् । कदम नचालिए हजारौँ नागरिकको हत्या हुनेतर्फ उनीहरूले विश्व समुदायको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् । सिरियाली राष्ट्रपति बासर अल असदले भने नरसंहारका घटनामा सरकारी सेनाको संलग्नता नरहेको दाबी गर्दै आएका छन् । सरकारको बदनाम गराउन आतंकवादीहरूले आक्रमण जारी राखेको आरोप उनले लगाएका छन् । (एपी)

प्रतिक्रिया