एमाओवादी मिलाउन सात बुँदे प्रस्ताव

काठमाडौं, ३१ जेठ । आन्तरिक विवादमा रहेको एमाओवादीको संस्थापन पक्षले सहमतिका लागि वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहलाई सात बुँदे प्रस्ताव उपलब्ध गराएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बैद्यवीच लाजिम्पाटमा आज भएको बार्तामा सो एजेन्डा उपलब्ध गराएको नेताहरुले बताएका छन् । सात बुँदे प्रस्तावका बारेमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर मात्रै प्रतिक्रिया दिने बैद्य समूहले जनाएको छ ।
यस अघि, एकीकृत माओवादीको संस्थापन पक्षले पार्टीलाई फुटबाट जोगाउन अधिकतम लचकता अपनाउने निष्कर्ष निकालेको थियो  ।
अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बिहान बसेको संस्थापन समूहको स्थायी समिति बैठकले असन्तुष्ट वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहसँग लचकताका साथ छलफल र सम्वाद गर्ने सहमति गरेको हो ।

अधिकतम अचकताका साथ पार्टी एकताको पहल गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘पार्टी एकता क्रान्तिकारी आन्दोलन सुरक्षित गर्ने, संघर्षको स्वरुप बदल्ने र त्यसका लागि नेतृत्व त्याग्न परेमा तयार रहने समेत निर्णय भएको छ ।’
संस्थापन पक्षले पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्ति अनुसार हुनुपर्ने भन्दै अहिलेसम्म भएका कमी कमजोरीको समिक्षा गरिएको प्रवक्ता शर्माले उल्लेख गरे ।

 

पार्टी एकता कायम राख्ने तात्कालिन आधार र उपायबारे प्रस्ताव

देशको समग्र राजनैतिक परिस्थिति र संघर्षको आवश्यकताले हाम्रो महान् तथा गौरवशाली पार्टीमा उत्पन्न विवादको समाधान गरि एकताबद्ध भएर अगाडि बढ्ने आधार र उपायको खोजी गर्नु ऐतिहासिक रुपले अनिवार्य बन्न गएको छ । यो तथ्य निर्विवाद छ कि अर्को अधिवेशन भएर नयाँ आधार प्रस्तुत नगरिँदासम्म पार्टी एकताको वैचारिक, राजनैतिक र साँगठनिक आधार गत केन्द्रीय एकता अधिवेशनद्वारा पारित प्रस्ताव र विधान नै हुन् । यहाँ तात्कालिन अवस्थामा पार्टीमा उत्पन्न विवाद र संगठनात्मक एकताको संकट समाधानको उपायबारे मात्र केही बुँदा अगाडि सारिएको छ ।
१. मा.ले.मा. विचार, नयाँ जनवादी क्रान्तिको कार्यदिशा समाजवाद र साम्यवादको उद्देश्य, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त जस्ता आधारभूत विषयहरु यतिबेला हाम्रा विवादका मुख्य विषय होइनन् । अहिले जनवादी क्रान्तिको रणनैतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिन्को कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन् । त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनैतिक प्रस्तावमा केन्द्रित हुन जरुरी छ । यसरी हेर्दा शान्ति प्रक्रियाका सन्दर्भमा चावि प्रकरणदेखि सेना–समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा विप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएका छन् । एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गरि पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको कुरा स्पष्ट गर्दछ ।

२. उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा संघीयताका पक्षमा संघर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरि जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको छ । यो एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी–कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि यहाँ स्पष्ट गरिन्छ ।
३. पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
४. जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनुपर्दछ । संविधान नबन्दासम्म यो नीतिको औचित्य कायम रहने कुरामा स्पष्ट हुनुपर्दछ ।
५. पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
६. वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्दछ ।
७. उपरोक्त प्रयोजनका निमित्त अहिले दुई भिन्न विचार–समूहद्वारा आयोजित आषाढ १ गतेको राष्ट्रिय भेला र आषाढ १५ गतेको केन्द्रीय विस्तारित बैठक दुवै स्थगित गरि अबिलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बस्ने र समग्र समीक्षा सहित साझा निस्कर्ष निकाल्न प्रयत्न गर्नु पर्दछ ।
प्रतिक्रियावादी र अवसरवादी तत्वहरुद्वारा हाम्रो महान् र गौरवशाली पार्टीलाई विभाजित पार्न देखेको सपना र गरिरहेको षड्यन्त्रलाई परास्त गर्न उपरोक्त आधार र उपाय अपनाउन एकजुट बनौं । जतिसुकै चुनौतिपूर्ण भए पनि पार्टीको भविष्य उज्जवल छ ।
३१ जेठ, २०६९
प्रचण्ड
अध्यक्ष
एनेकपा(माओवादी)

प्रतिक्रिया