जहाज गिद्धसँग ठोक्किदा सहचालक घाईते

सुर्खेत, ३१ जेठ । जुम्लाबाट नेपालगञ्जका लागि उडेको तारा एयरको ९ एन एइभि ट्वीनेटर विमानमा गिद्ध ठोक्किएपछि सुर्खेत विमानस्थलमा आकस्मीक अवतरण गरिएको छ ।
आज विहान साढे १० बजे जुम्ला विमानस्थलबाट नेपालगन्जका लागि उडेको उक्त विमान उडेको १४ मिनेटमा दैलख, कालिकोट र जुम्लाको सीमानामा रहेको महाबु लेकनजिकै गिद्धसँग ठोक्किएको हो ।
जहाजको दायाँपट्टीको अगाडिको भागमा गिद्ध ठोक्किएपछि सह–चालक अभिषेक राई घाइते भएका छन् ।
उनको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गराइएको छ ।
गिद्ध ठोक्किएर राई घाइते भएपछि प्रमुख चालक प्रभाकर घिमिरेले विहान १० बजेर ५८ मिनटमा विमानलाई सुर्खेत विमानस्थलमा अवतरण गराएका हुन् ।
विमानमा १९ जना यात्रु र चालक दलका ३ जना समेत २२ जना रहेको नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख श्रीहरि भट्टले जानकारी दिए । जहाजको दायँपट्टीको अगाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया