पार्टी मिलाउन संस्थापन केही लचक हुने

काठमाडौं, ३१ जेठ । एकीकृत माओवादीको संस्थापन पक्षले पार्टीलाई फुटबाट जोगाउन अधिकतम लचकता अपनाउने निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको संस्थापन समूहको स्थायी समिति बैठकले असन्तुष्ट वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहसँग लचकताका साथ छलफल र सम्वाद गर्ने सहमति गरेको हो । संस्थापन पक्षले वैद्य समूहसँगको बार्ताका लागि स्थायी समितिबाट लिखित एजेन्डा समेत बनाएको छ ।
अधिकतम अचकताका साथ पार्टी एकताको पहल गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘पार्टी एकता क्रान्तिकारी आन्दोलन सुरक्षित गर्ने, संघर्षको स्वरुप बदल्ने र त्यसका लागि नेतृत्व त्याग्न परेमा तयार रहने समेत निर्णय भएको छ ।’
संस्थापन पक्षले पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्ति अनुसार हुनुपर्ने भन्दै अहिलेसम्म भएका कमी कमजोरीको समिक्षा गरिएको प्रवक्ता शर्माले उल्लेख गरे । स्थायी समितिको सुझाव अनुसार संस्थापनले बैद्य पक्षसँग आजै कुराकानी गर्ने छ ।
यसअघि मंगलबार भएको छलफलमा बैद्य पक्षले अध्यक्ष दाहालले संविधानका सन्दर्भमा गरेका सहमति, सेना समायोजनमा लिएको निर्णय सच्याउनुपर्ने तथा पार्टी संसदवादी कार्यदिशामा जान नहुने माग अघि सारेका थिए ।
वैद्य समूहले असार–१ गते बोलाएको राष्ट्रिय भेला पछि संस्थापन पक्ष केही आत्तिको छ । संस्थापन पक्षले पनि असार–१५ गते आमसभा समेत गर्ने जनाईसकेको छ ।

प्रतिक्रिया