जन्मदिनको उपहार समाजसेवामा


मुम्बई : छोटो समयमै राम्रो सफलता हात पारेकी बलिउड नायिका सोनम कपुर थुप्रै फ्यानहरूका लागि ‘विशेष’ बनिसकेकी छन् । त्यसैले उनका हरेक क्रियाकलाप नियालेर बस्ने फ्यानहरूको संख्या निकै भइसक्यो । यतिसम्म कि उनको जन्मदिनमा शुभकामना सन्देश र उपहार पठाउनेहरूको लिस्ट पनि लामै हुन्छ । उनले ती उपहार हार्दिकतापूर्वक स्वीकार गर्दै आएकी छन् ।
तर, यसपालिको जन्मदिनमा फ्यानहरूले उनलाई कुनै उपहार पठाउन पाएनन् । गत आइतबार आफ्नो २७औँ जन्मदिन मनाएकी उनले फ्यानहरूका कुनै उपहार प्रत्यक्ष ग्रहण गरिनन् । बरु आफूलाई दिने उपहार एक क्यान्सर संस्थालाई सहयोग स्वरूप उपलब्ध गराउन आग्रह गरिन् । क्यान्सरविरुद्ध जागरण गराउने संस्था ओगान क्यान्सर फाउन्डेसनसँग जोडिएकी उनले सोही संस्थाका लागि सहयोग गर्न ट्विटरमार्फत उल्लेख गरेकी हुन् ।
हालै क्यान्सर रोगका कारण काकी मोना कपुरलाई गुमाउनुपरेकाले पनि जागरण अभियानमा लागेको उनले एजेन्सीलाई बताइन् । सावरियाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी सोनमलाई अभिनयभन्दा बढी लेखन तथा निर्देशनमा रुचि छ । अहिलेचाहिँ उनले केही समयपछि सञ्जयलीला भन्सालीले निर्माण गर्ने एक चलचित्रमा अभिनयको तयारी गरिरहेको एजेन्सीले उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया