सहमतिमा बजेट ल्याउन निर्देशन

काठमाडौं, ३० जेठ । राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलहरुका वीच राष्ट्रिय सहमति जुटाएर मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
नयाँ बजेटको तयारीका विषयमा आज अर्थमन्त्री बर्षमान पुन र सचिव कृष्णहरि बाँस्कोटासँग शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले यस्तो सुझाव दिएका हुन ।
सरकारले अध्यादेशवाट एकलौटी रुपमा बजेट ल्याउन लागेको भन्दै कांग्रेस÷एमाले लगायतका दलहरुले विरोध जनाएपछि राष्ट्रपति डा.यादवले अर्थमन्त्री र सचिवलाई बोलाएर छलफल गरेका हुन । छलफलमा राष्ट्रपति डा.यादवले सबैको सहमति जुटाएर बजेट ल्याउन सुझाव दिएको अर्थमन्त्री पुनले जानकारी दिए ।
यसअघि राष्ट्रपति डा.यादवले अर्थविदहरुसँग पनि छलफल गरेका थिए । अर्थविदहरुले ससंद नभएको समयमा बजेट अध्यादेशवाटै आउने भएपनि राष्ट्रिय सहमति आवश्यक हुने सुझाव दिएका छन् ।
उनीहरुले अध्यादेशवाट आउने बजेट कुल बजेटको एक तिहाइभन्दा बढि हुन नहुने सुझाव उनीहरुले राष्ट्रपति डा.यादवलाई दिएका छन् ।
सरकारले ४ सय २९ अर्वको बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको छ । अर्थविदहरुले सम्पति सुद्धिकरणसँग सवन्धित तीन वटा अध्यादेश भने अघि बढाउन सुझाव दिएका छन् ।
अध्यादेश पारित नभए नेपाल कालो सूचीमा पर्ने भन्दै अर्थविद्हरुले त्यसलाई अघि बढाउन सुझाव दिएका हुन । डा.यादवले अर्थविद डा.विश्वम्भर प्याकुरेल, विमल कोइराला, मदन दाहाल, चिरञ्जीवी नेपाल लगायतसँग परार्मश गरेका हुन् ।
विधेयक अघि बढाउने विषयमा प्रधानमन्त्री बाबुराम भट्टराईले समेत राष्ट्रपति डा.यादवसँग परामर्श गरिसकेका छन् ।
विपक्षी दल कांग्रेस÷एमालेहरुले भने पदमुक्त भइसकेका प्रधानमन्त्री भट्टराईले स्वेच्छाचारी ढंगले अध्यादेश जारी गर्न लागेको भन्दै विरोध प्रकट गर्दैै आएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री भट्टराईले सिफारिस गरेका अध्यादेश प्रमाणिकरण राष्ट्रपति डा.यादवले गर्न नहुने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया