दुलही सिंगार्नमा पूजा उत्कृष्ट


चितवन, ३०  जेठ । बिहेको तामझाम थिएन । न त दुलाहा आउने कुनै संकेत नै । तर, चितवनको उद्योग वाणिज्य संघपरिसरमा सोमबार ठूलै विवाहको रन्को थियो । दुलही सजाउनमा महिलाहरू व्यस्त भए ।
मध्याह्न १२ बजेबाट दुई घन्टासम्म १५ जना महिला आ–आफ्ना दुलहीलाई कसले राम्रो बनाउने भन्ने ध्याउन्नमा थिए । उनीहरूको ध्यान जोडी मिलाएर विवाह सम्पन्न्न गराउनेतर्फ थिएन । चितवन जिल्लाभित्र ब्युटीपार्लर व्यवसाय गरेर बसेका महिलाहरू व्यवसाय प्रवद्र्धनका लागि दुलही शृंगारमा व्यस्त थिए ।
उद्योग वाणिज्य संघ चितवन, नारायणगढ लेडी जेसिज र रोटयाक्ट क्लब अफ चितवनले संयुक्त रूपमा दुलही शृंगार प्रतियोगिता आयोजना गरेका हुन् । पूजा ब्युटीपार्लरकी पूजा श्रेष्ठ नेपाली पहिलो भइन् । उनले बेस्ट आई मेकअपको ताज पनि हात पारेकी थिइन् । त्यसैगरी, शुभलक्ष्मी ब्युटीपार्लरकी लक्ष्मी महतो दोस्रो र स्तुति ब्युटीपार्लरकी सुनीता चापागाईंले तेस्रो स्थान हात पारे ।
प्रतियोगितामा क्रिस्टल ब्युटीपार्लरकी कमला कार्की, प्रियन्का ब्युटीपार्लरकी सरिता बस्नेत र परी ब्युटीपार्लरकी चन्दा गुरुङले सान्त्वना स्थान हासिल गरे ।  क्रिस्टल ब्युटीपार्लरकी कमला कार्कीले वेस्ट हेयर स्टाइलको उपाधि पनि पाइन् ।
प्रतियोगितापछि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले महिला उद्यमीहरूलाई व्यावसायिक क्षेत्रमा प्रोत्साहन गर्न जल्लाका ब्युटीपार्लर व्यवसायीको सीप प्रतियोगितामार्फत उजागर गरिएको बताए ।

प्रतिक्रिया