दुलाहा विनाका दुलही कस्ता छन् त ?

चितवन, २९ जेठ । बिहेको तामझाम थिएन । न त दुलाहा आउने कुनै संकेत नै । तर, चितवनको उद्योग वाणिज्य संघ परिषरमा आज ठूलै विवाहको रन्को थियो । दुलही सजाउनमा महिलाहरु व्यस्त भए ।
मध्यान्ह १२ बजेबाट दुई घण्टासम्म १५ जना महिलाहरु आ–आफ्ना दुलहीलाई कसले राम्रो बनाउने भन्ने ध्याउन्नमा थिए । उनीहरुको ध्यान जोडी मिलाएर विवाह सम्पन्न्न गराउने तर्फ थिएन । चितवन जिल्लाभित्र व्यूटी पार्लर व्यवसाय गरेर बसेका महिलाहरु व्यवसाय प्रवद्र्धनका लागि दुलही श्रृङ्गारमा व्यस्त भएका हुन् ।
आ–आफ्नो व्यवसायिक प्रवद्र्धनका लागि कुनै पार्लरका धनी नै सजिएका थिए । अधिकांशले आ–आफ्ना नजिकका आफन्त तथा नियमित ग्राहकलाई दुलहीको रुपमा सजाए ।
प्रतियोगितात्मक रुपमा उद्योग वाणिज्य संघ चितवन, नारायणगढ लेडी जेसिज र रोट्याक्ट क्लब अफ चितवनले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।
दुलही श्रृङ्गार प्रतियोगिताका सहभागी मध्ये पूजा व्यूटी पार्लरकी पुजा श्रेष्ठ नेपाली पहिलो भइन् । उनले बेस्ट आइ मेकअपको ताज पनि हात पारेकी छन् ।
त्यसैगरी, शुभलक्ष्मी व्यूटी पार्लरकी लक्ष्मी महतो दोस्रो र स्तुती व्यूटी पार्लरकी सुनिता चापागाईंले तेस्रो स्थान हात पारिन् ।
प्रतियोगितामा क्रिष्टल व्यूटी पार्लरकी कमला कार्की, प्रियन्का व्यूटी पार्लरकी सरिता बस्नेत र परी व्यूटी पार्लरकी चन्दा गुरुङले सान्त्वना स्थान हासिल गरे ।
क्रिष्टल व्यूटी पार्लरकी कमला कार्कीले वेस्ट हेयर स्टाइलको उपाधी पनि पाईन् ।

 

प्रतिक्रिया