चिरञ्जीवी कविको नथाकेको कलम

सामान्यत: उनको जत्तिको उमेरसम्म रहेर संसार चिहाउने मौका कमैले पाउँछन् । लामो आयु पाए पनि मुहारभरि र्‍याल–सिँगान लतपत्याउँदै एउटा घीनलाग्दो बुढ्यौलीलाई सरापिरहेका हुन सक्छन् । तर, राष्ट्रकवि माधवप्रसाद घिमिरेको कुरै अर्को । ९३ वर्षको दीर्घायु जीवनमा पनि सफाचट शारीरिक व्यक्तित्व छ । अनि सिर्जनात्मक सक्रियतालाई आयु र बुढ्यौलीले अहिलेसम्म पनि कज्याउन सकेका छैनन् । कति दौँतरीका त मलामी देखिसके होलान् यी कवि बूढाले, उनीभन्दा कान्छा बूढाहरू नै पनि एक गिलास तातोपानीका लागि बुहारी गुहार्दै ख्वाङख्वाङ खोकेर कोठाको कुनामा थन्किने सुरसार गरिरहेका होलान् । सय वर्षनजिकको यो उमेरमा पनि उनका लागि चाहिँ बुढ्यौलीका ती दुरुह अवस्था अनुमान मात्र बनेका छन्, भोगाइ होइन । यथार्थमा उनको बुढ्यौली बहुत सुकिलो छ, सामान्य मान्छेका लागि दुर्लभ वरदान । यही कारण लेखनीको सक्रिय जिन्दगीलाई अहिलेसम्म पूर्णविराम लगाउनुपरेको छैन यिनले ।
उमेर र चाउरीहरूले बूढो तर मानसिक रूपले अझै ठिटो उनको शरीरले बिहान ६ बजे ओछ्यान छाडेदेखि नै सक्रियता देखाउन सुरु गरिहाल्छ । रेडियोबाट राष्ट्रका गतिविधिहरू सुन्दै दिनको सुरुआत गर्छन् । त्यसपछि चियाको चुस्की अनि नित्यकर्म । हिउँद होस् वा वर्षा, धारामा चुर्लुम्मै बनेर हरगंगे नगरेसम्म दिनै अलिनो लाग्छ रे † आधा घन्टाजति योगध्यान पनि पर्छ उनको नियमित कार्यतालिकामा । ‘बसेकै ठाउँमा शान्त भएर एकाग्रतामा डुब्नु पनि योग हो’, कविवरको योग एवं स्वास्थ्य टिप्स– ‘खराब सोच्नु हुँदैन, सद्विचार मात्रैले पनि मान्छेलाई स्वस्थ बनाउँछ ।
घरको कम्पाउन्डमा शरीरमा पसिना निस्कने गरी हिँड्छन् दैनिक उनी । ‘पहिलेपहिले चिसोमा पनि खाली खुट्टा हिँड्थेँ, अहिले खाली खुट्टाचाहिँ सक्दिनँ’, आँखीभौँ सेताम्मे भए पनि पोटिलै देखिने गालामा केही मुजा भर्दै मुस्काए उनी– ‘अब उत्तेजनाले होइन, चिन्तनले काम गर्ने उमेर हो मेरो ।’ अबचाहिँ आफू बूढो भएजस्तो लागेको हो ? ‘हो त, असोजमा ९४ वर्ष लाग्छु अनि अब पनि ठिटो भन्न मिल्ला त ?’, भन्न त उनी यसो भनिरहेछन् तर भनाइ निकै जोसिलो छ, स्वस्थ वयस्क मानिसको जस्तै । जीवनलाई जबरजस्त नभएर सहज र सरल रूपले चलाउँदा तन्दुरुस्ती कायम रहने दृष्टान्त यिनले बनाएका रहेछन् । शरीरलाई रोगले आक्रमण गर्ने आँटै नगरेका भने होइनन् । सुगर र ब्लडप्रेसरले सताएकै छ । केही वर्षदेखि नियमित औषधि सेवन गर्दै छन् । उनी आफैँले बुझेका पनि छन्, रोगलाई औषधिले मात्र नियन्त्रण गर्न सक्दैन, खानपानमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । त्यसैले खाना अड्कलेर खान्छन् तर मुख बार्ने भनेको गुलियो मात्रै हो । ‘धेरै भयो चिनी हालेको चिया नखाएको, अब त त्यसैमा पो स्वाद आउँछ’, स्वास्थ्यबारे सचेत अनि सतर्क रहेछन् उनी– ‘जति फुर्ती लाए पनि जवानीजस्तो त कहाँ हुन्छ र ? अहिले त सानोतिनो कुराले पनि ढाल्न सक्छ, त्यसैले सचेत नभएर सुख र †’
असल विचार, सिर्जनशीलता र योगकै कारण जीवनलाई आजसम्म पनि सक्रिय बनाउन सकेको कुरा दोहोर्‍याइरहन्छन् बिहानको विशेष महत्त्व छ उनलाई । प्रात:कालीन ताजा समयमा फुरेको जति राम्रो सिर्जना अरू बेला नहुने सुनाउँछन् । ‘चोरले जसरी चोर्नका लागि आरुनो अनुकूलता नियालिरहेको हुन्छ । हामी लेखकले पनि लेख्ने अनुकूल वातावरण नियालिरहेका हुन्छौँ’, उनले सिर्जनात्मक स्वभावको रहस्य खोले– ‘लेख्ने कुनै कारणले अवरोध पुर्‍याउनु भनेको प्रसव पीडामा रहेकी महिलालाई तिमी एकछिन तिम्रो पीडा रोकेर मेरो कार्यक्रममा हिँड भनेजस्तै हो ।’ जवानीमा मान्छे शिरदेखि पाउसम्म प्रेममा चुलुम्म डुबेजस्तै लेखक पनि आरुनो सिर्जनामा त्यसै गरी डुब्छ भन्ने यी कवि लेख्न ठाउँ, समय र कलम कापी चाहिँदैन, मस्तिष्कमा आफैँ लेखिन्छ भन्छन् । ‘उपयुक्त माहोलमा त्यो विषय यति ढीट हुन्छ कि सोच्दिनँभन्दा पनि आफैँ दिमागमा आइरहन्छ ।’
खानाका परिकार ताजगीपनाचाहिँ उतिबेलाकै सम्झन्छन् उनी । जति बेला गाईवस्तुकै दूधदही प्रशस्त खान पाइन्थ्यो । छोराले नुन खाएन भनेर दूधै नुनिलो पारेर खुवाउँथे रे बुबाले । ‘अहिले त दूध पनि नाम मात्रको छ, स्वाद पटक्कै छैन । उतिबेलाको जस्तो स्वाद अहिले कहाँ पाउनु’, स्मृतिबाट अहिलेसम्म नहटेको पुरानो स्वादले उनलाई तिनै समयको विचरण गराइरहेछ– ‘म त वनपाखाको निउरो मन पराउने मान्छे हुँ, एकदम प्राकृतिक खानाप्रेमी । अहिले पनि त्यही खोज्छ जिब्रोले तर सम्भावनै छैन । मस्यौरा, तामा र सिन्की निकै सम्झन्छु ।’ नेपाली खाना दालभात उनको प्रिय हो, दूध र मही पनि सधैँ हुनैपर्छ । हिजोआज मासुमा त्यति ध्यान जाँदैन, उमेरले होला भन्दै चित्त बुझाउँछन् । पहिले–पहिले त दशैँ आउनै नहुने, ठूलो र मोटो खसी कहाँ छ भन्दै खोजीखोजी हिँड्थे रे †
राष्ट्रले दिएको ‘राष्ट्रकवि’ उपाधिमा गौरव गर्छन् उनी अनि सन्तुष्ट छन् आरुना तर्फबाट पनि राष्ट्रलाई केही दिन पाएकामा । ‘मैले पनि त राष्ट्रका लागि धेरै गीत गाएँ नि, गीत र कवितामार्फत राष्ट्रप्रेमको भावना जगाउन हरसम्भव प्रयत्न गरिरहेकै छु ।’ लेख्नुबाहेक चरम बुढ्यौलीका यी दिनमा विश्वसाहित्यको अध्ययन गरिरहेका छन्, वेद, पुराण बराबर बढ्छन् । ‘वेदमा रहेका अद्भुत चिजको रस लिन्छु’, उनले भने– ‘पढ्नका लागि पढ्ने होइन । कुनै पनि चिज पढ्दा त्यसको गहिराइमा जानुपर्छ ।’ पढाइसँगै उनको लेखाइ पनि निरन्तर छ– ‘अहिले एउटा काव्य लेख्दै छु, सिध्याउन एक वर्ष लाग्छ होला ।’ तर, लेख्न थालेको काव्य पूरा नहुँदै जीवनले साथ छाड्ने हो कि भन्ने चिन्ता  पनि उनलाई नभएको चाहिँ होइन । त्यसैले सकेसम्म चाँडो काव्य सक्ने हतारो पनि गरिरहेका हुन्छन् । भन्छन्– ‘हात खुट्टा चलुन्जेल कलमलाई विश्राम दिन मन छैन ।’
पूजापाठका उति साह्रो अनुरागी छैनन् उनी । आफूलाई आस्तिक वा नास्तिक दुवै मान्दैनन् उनी । ‘बाहुनको छोरो हुँ गायत्रीमन्त्र भने सधैँ जप्छु तर छुटिहाल्यो भने पनि लौ बर्बादै भयो भन्ने पनि छैन । दर्शनशास्त्र पढेको मान्छे कवि हुँ । तर, सामाजिक विभेदको विरोधी हुँ’, जिन्दगीका आरुनै दर्शनहरूमा बाँचिरहेका चिरञ्जीवी कवि भन्छन्– ‘सक्रिय रहँदारहँदै धर्ती छोड्ने मन, निरास हुँँदै लत्रक्क परेर बस्न त एकछिन पनि सक्दिनँ ।’

प्रतिक्रिया