सिरियामा विद्रोही विजयी हुने आशा व्यक्त

जेरुसेलम, २९ जेठ । इजरायली राष्ट्रपति सिमोन पेरेसले सिरियामा नरसंहार जारी रहेको भन्दै रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । सिरियामा राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै जारी आन्दोलनमा अन्तत: विद्रोही पक्षकै विजय हुने आशासमेत उनले व्यक्त गरेका छन् । इजरायली पब्लिक रेडियोलाई शनिबार दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
सिरियामा हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको प्रयास पर्याप्त नभएको धारणा उनले व्यक्त गरे । कफिनमा रहेका स–साना बालबालिकाको शव मूकदर्शक भई हेरेर बस्न नसकिने उनले केही दिनअघि बताएका थिए ।
सिरियामा आन्दोलनरत विद्रोहीप्रति आफूमा अपार सम्मान रहेको बताउँदै उनले भने, ‘विद्रोहीहरू विजयी हुने आस मैले गरेको छु ।’ सिरियामा हरेक दिन नरसंहार भएको दाबी गर्दै उनले यसो हुनु लज्जास्पद रहेको टिप्पणी गरे । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असदको राजीनामा माग्दै सिरियामा आन्दोलन जारी छ । आन्दोलनका क्रममा त्यसयता १३ हजार पाँच सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । (एएफपी)

सिरियामा त्रियासीको मृत्यु
दमास्कस : सिरियामा जारी हिंसामा शनिबार ८३ जनाको ज्यान गएको छ । सिरियाली सैनिकले दारा नगरमा नौ महिला र तीन बालबालिकासहित २० जनाको हत्या गरेको आरोप लगाइएको छ  । त्यसैगरी, होम्स सहरमा सिरियाली सैनिकले गरेको आक्रमणमा २९ जनाको मृत्यु भएको समाचार छ ।
दारा नगरको आवासीय क्षेत्रमा भएको आक्रमणमा दर्जनौँ घाइते भएका छन् । सोही स्थानबाट गत वर्ष मार्च महिनामा राष्ट्रपति बासर अल असदविरुद्ध विरोध आरम्भ भएको थियो । सरकारले सरकारी सैनिकले हिंसा मच्चाएको अस्वीकार गर्दै विदेशीको सहयोग प्राप्त आतंकवादीले हिंसात्मक गतिविधि सञ्चालन गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया