फेरि मनसुनमा ढिलाइ

काठमाडौं, २९ जेठ  । भारत हुँदै मनसुन भित्रिएर पूर्वी भूभागमा वर्षा हुने र मनसुनी वायु पश्चिम लाग्दा आकाश बादलले टम्म भरिने दिन १० जुन (२८ जेठ) अर्थात् आइतबार । यो दिनलाई नेपालमा मनसुन भित्रिने दिनका रूपले चिनिन्छ । तर, उक्त दिन अर्थात् आइतबार झन् बढी सुख्खा र अचाक्ली गर्मी भएरै बित्यो ।
मनसुनको पहिलो दिन मानिने यसपटकको १० जुनमा पछिल्ला वर्षमा जस्तै मनसुन भित्रिन सकेन । मौसमविद्हरूले एक महिनाअघि समयमै मनसुन हुने अनुमान गरे पनि अन्तत: गलत साबित भयो । एक महिनाअघि नै बंगालको खाडी र आन्दामान टापुमा सक्रिय भइसकेकाले समयमै भित्रिने अनुमान गरिए पनि मनसुन आइपुग्न एक साता लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘बंगालको खाडीमा छिटो सुरु भए पनि मनसुन कमजोर भएकोले समयमै नेपाल आउन नसकेको हो,’ महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सौर्यसँग भने, ‘मनसुन ढिलो गतिमा अघि बढेकोले नेपाल भित्रिन एक साता लाग्ने अनुमान गरिएको छ ।’ उनले १ जुनमा केरला हुँदै भारत छिर्नुपर्ने मनसुन ६ दिन ढिलो ६ जुनमा छिरेकोले त्यसै अन्तरालमा नेपाल भित्रिन सक्ने बताए । केरलामा भित्रिएको मनसुनी वायु नेपालसम्म आइपुग्न १० देखि १२ दिन लाग्छ । गत वर्ष पश्चिमी वायुले मनसुनी वायु छेक्दा पाँच दिन ढिलो नेपाल भित्रिएको मनसुन सन् २०१० मा एक साता ढिलो र सन् २००९ मा १३ दिनपछि सुरु भएको थियो ।
महाशाखाका अनुसार सन् १९७१ यता समयमै मनसुन सुरु हुन नसकेको सन् २०१२ चाहिँ २८औँ वर्ष हो । अघिल्ला वर्षहरूमा १९७२ देखि १९७५, १९७७, १९७९ देखि १९९०, १९९२, १९९७ देखि १९९९, २००२ र २००३, २००५ र २००९ पछिका सबै वर्षमा मनसुन ढिला सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागको ४२ वर्षे इतिहासमा बाँकी १४ वटा वर्षमा मात्रै मनसुन समयमा र त्यसअघि नै सुरु भएको तथ्यांक छ ।
पछिल्ला र धेरैजसो वर्ष मनसुन ढिला हुनुमा जलवायु परिवर्तनका कारण समुद्रमा हुने तापक्रमको गडबडले पर्याप्त वाष्पीकरण नहुनु र प्रशान्त महासागरमा हुने मौसमी गतिविधि फेरिनु मुख्य कारक रहेको विभागले जनाएको छ । ‘मनसुन ढिला हुनुमा मौसममा जलवायु परिवर्तनको असर परेको हुन सक्छ,’ विभागका उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भने, ‘जसबाट समुद्रको वाष्पीकरण कमजोर हुँदा मनसुन सक्रिय हुन नसकेको हो ।’ एक साता ढिलो नेपाल भित्रिने अनुमान गरिएको मनसुनी वायुले सुरुआतमा वर्षा गराउन नसक्ने उनको भनाइ छ ।
पूर्वी सिमाना हुँदै प्रवेश गर्ने मनसुन यतिबेला मेघालय आसपासमा घुमिरहेको छ । त्यो एक सातासम्ममा नेपाल छिर्ने र सुदूरपश्चिमसम्म पुगेर देशभर वर्षा हुन थप एक साता लाग्ने महाशाखाले जनाएको छ ।
सामान्यत: सुख्खायाममा जति बढी सुख्खा भएर जमिन तात्यो मनसुन त्यत्ति नै छिटो भित्रिने र सक्रिय हुने गर्छ । मौसम विज्ञानका अनुसार जमिन तात्दा तलको हावा तातेर हलुका हुन्छ र माथि जान्छ । त्यसपछि तल्लो तहमा हावा कम भएर न्यूनचाँपीय क्षेत्र बन्छ । यसरी बनेको न्यूनचाँपीय क्षेत्रमा हावाको परिपूर्ति गर्न उच्चचाँपीय क्षेत्र बंगालको खाडी र इन्डियन ओसनदेखि मनसुनी वायु तेजले आउँदा नेपालमा वर्षा हुन्छ ।
महाशाखाका अनुसार नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मलाई मनसुन अवधि मानिन्छ । मनसुन अवधिभर नेपालमा औसत एक हजार एक सय २५ मिलिमिटर पानी पर्छ । मौसमको ४२ वर्षको इतिहासमा सबैभन्दा ढिलो मनसुन सन् १९८२ मा १७ दिन ढिलो गरी २७ जुनमा सुरु भएको र सबैभन्दा छिटो सन् १९९६ मा ३१ मेमा ११ दिनअघि नै सुरु भएको रेकर्ड छ । गत वर्ष औसतभन्दा बढी वर्षा भए पनि त्यसअघिका सन् २००९ र २०१० का दुवै मनसुनमा पर्याप्त पानी परेको थिएन ।

प्रतिक्रिया