नक्कली कामदार देखाएर लाखौं झ्वाम

काठमाडौं, २९ जेठ । जनक शिक्षा सामग्री केन्द्रका उच्च तहका कर्मचारीको मिलेमतोमा ३० जना नक्कली कामदार खडा गरी उनीहरूका नाममा रकम निकालेर हिनामिना गरेको पाइएको छ । उनीहरूले जनक शिक्षाका कर्मचारीसँग मिल्दोजुल्दो नाम राखेर ३० जना नक्कली कामदारको पारिश्रमिकबापतको रकम झ्वाम पारेका हुन् ।

केन्द्रका पाठ्यपुस्तक प्रकाशन विभाग प्रमुख सुजनराज नेपालले गरेको सिफारिसमा गत मंसिरमा ३० कामदारलाई विभिन्न काममा लगाएको भनी नक्कली व्यक्ति खडा गरी ३ लाख ५२ हजार भुक्तानी गरेको खुलासा भएको छ । प्रेसका सिºट इन्चार्ज, सुपरभाइजर र अपरेटरले भने मंसिरमा यति धेरैलाई काम नलगाइएको दाबी गरेका छन् ।
‘सिजनल ज्यामी’हरू लगाइएको भन्दै भुक्तानी गरिएको छ । ४ मंसिरमा ज्यामी लगाउन स्वीकृतिका लागि प्रबन्ध सञ्चालकसमक्ष पेस गरिए पनि ३० जना कामदारको नियुक्ति मंसिरमै गरेर भुक्तानी दिएको देखाइएको छ ।
नेपालले ‘तल’बाट आएका आधारमा रकम निकासाका लागि सिफारिस गरिएको बताए । उनले भने, ‘ती कुरा जिएम र लेखाले हेर्छ ।’
मंसिरमा गराइएको भनिएको कामको भुक्तानी चैतमा दिइएको छ । लेखपाल दिलबहादुर अधिकारी कागजातका आधारमा भुक्तानी दिइएको बताउँछन् । ‘डकुमेन्टका आधारमा भुक्तानी भएको हो, मैले मान्छे हेरिनँ, पैसा क्यासिएरले दिन्छ,’ उनले भने ।
स्रोतका अनुसार मंसिरमा लगाइएको भनिएका कामदारको नाम अहिले कार्यरत कर्मचारीसँग मिल्दोजुल्दो छ तर ठ्याक्कै भने मिल्दैन । भुक्तानी लिने व्यक्तिको हस्ताक्षर पनि एकै प्रकृतिको छ । एउटै कलम र उस्तै प्रकृतिले हस्ताक्षर गरिएको छ । किर्ते गरेर झिकिएको रकम प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालका स्वकीय सचिव किरण खत्रीले लगेको स्रोतको भनाइ छ । सो रकम पेस्की फस्र्याेट गरिएको कर्मचारीको दाबी छ ।
प्रबन्ध सञ्चालक सिलवालले मंसिरमा धेरै काम भएकाले ज्यामी लगाइएको दाबी गरे । ‘२३५ रोपनीमा घाँस उम्रेकोलगायतका सफा गर्न कामदार नियुक्त गरिएको हो,’ उनले भने, ‘अहिले धेरै सफा भएको छ ।’ उनले प्रस्ताव आएपछि कामदार नियुक्ति स्वीकृत गरिएको दाबी गर्दै भने, ‘रकम हिनामिना भएको छैन ।’
आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक तयार गर्न र प्रेसले अस्वीकार गरेका पेपर पन्छाउन कर्मचारी अपुग भएको स्थानमा ३० जना ज्यामी आवश्यक भएको भन्दै नेपालले स्वीकृतिका लागि प्रबन्ध सञ्चालकसमक्ष सिफारिस गरेका थिए ।
नक्कली कामदारमा समिर थापा, सञ्जय बाँनिया, चन्द्र खड्का, हरिकृष्ण श्रेष्ठ, नवराज भण्डारी, मुकुन्द भण्डारी, श्याम सुवेदी, कृष्ण रायमाझी, दीपक पन्त, राम बस्नेत, दिलीप खड्का, रामचन्द्र थापा, रामेश्वर केसी, हरि न्यौपाने, नारायण खत्री, श्यामसुन्दर केही, रिता पौडेल, पिंकी न्यौपाने, उषा त्रिपाठी, सञ्चिता उप्रेती छन् । त्यसैगरी, विनिता थापामगर, देव खत्री, आशा थापा, पुनम राणा, रश्मि सिलवाल, माया ठकुरी, बबिता खनाल, तारा धिमाल, रिना कार्की र रघु धिमालको नाममा भुक्तानी गरिएको छ ।
भुक्तानीका लागि दिइएको नामको सूचीमा नेपालले प्रमाणित गरेका छन् भने प्राविधिक तथा वित्तीय निर्देशनालयका निर्देशक अर्जुनविलाश पन्तको हस्ताक्षर छ ।

प्रतिक्रिया